नियमित ग्राहकले धानेको दरबारमार्गको व्यापार « Arthapath.com
१८ मंसिर २०८१, मंगलवार

नियमित ग्राहकले धानेको दरबारमार्गको व्यापार



काठमाडौँ । विगत २ वर्ष यता नेपालको व्यापार व्यवसायमा मन्दी छाएको छ । मुख्य व्यापारिक केन्द्र सुनसान प्राय देखिन्छ । काठमाडौँको मुख्य व्यापारिक केन्द्र असन, न्यूरोड भोटाहिटीमा सामान्य भीड देखिए पनि व्यापारमा उल्लास छैन । किन्नेभन्दा मूल्य सोधेर बाहिरिने ग्राहक बढी आउने व्यापारीहरू बताउँछन् ।

‘बिजनेस हब’ को रूपमा परिचित दरबारमार्ग पनि सुनसान छ । व्यवसायीहरू ग्राहकको बाटो हेरेर बस्नुपर्ने बाध्यता छ। पार्किङको झन्झटका कारण पनि यहाँको व्यवसायमा मन्दी देखिएको व्यापारीहरू बताउँछन् ।

दरबारमार्ग स्थित म्यारिगोल्ड ज्वेलर्समा दुर्गानाथ डङ्गोल ८ वर्षदेखि कार्यरत छन् । तर उनले यति सुस्तता कहिले देखेका थिएनन् । एक त मूल्य वृद्धि, त्यसमाथि देखिएको मन्दी । जसले गर्दा सुनचाँदी व्यवसाय अन्य व्यवसायको तुलनामा निकै खस्किएको छ ।

‘पहिले व्यापार एकदम थियो । अहिले महँगीले गर्दा सर्वसाधारणलाई किन्न मुस्किल छ । उपभोक्ता क्रय शक्तिभन्दा माथि सुनको मूल्य पुग्दा यसले व्यवसायमा ठुलो असर गरेको छ’ उनले भने । व्यापार सुस्त भएको कारण व्यवसायीलाई टिक्ने गाह्रो हुने अवस्था आएको उनी बताउँछन् ।

केही दिन अघि मात्र सुन आयातमा लाग्ने भन्सार शुल्क घटेपछि भने सुनको व्यापार केही बढेको उनी बताउँछन् ।  तर विगतको तुलनामा व्यापारमा फ्लो नभएको उनले बताए ।

अहिले दरबारमार्गमा हुन थालेको राजनीतिक प्रदर्शनप्रति भने उनको असन्तुष्टि छ । यसरी हुने प्रदर्शनले पसल नै बन्द गरेर बस्नुपर्ने बाध्यता भएको उनले सुनाए । यसरी सत्ताधारी दलले नै व्यापारिक क्षेत्रमा प्रदर्शन गरेकोप्रति उनले दुखेसो पोखे ।

दरबारमार्गकै हस्तकला सामग्री बेच्दै आइरहेकी एन्जिला कार्की पनि पहिलाको तुलनामा व्यापार खस्किएको स्विकार्छिन् । कुनै दिन त बोनी पनि नगरी पसल बन्द गर्नुपर्ने अवस्था रहेको उनी बताउँछिन् । ‘व्यापारमा देखिएको मन्दीको कुरै नगरौँ । कहिलेकाहीँ त शून्य पनि हुन्छ । व्यापार हुँदा ३० हजारसम्म हुन्छ । तर नहुँदा भने पसल खोलेर फर्कनुपर्ने बाध्यता पनि छ । औसतमा त्यही ५/७ हजार मात्र व्यापार हुन्छ । यहाँको महँगीमा कर्मचारी, सटर भाडा लगायत खर्चको हिसाब गर्ने हो भने कति गाह्रो छ । कुरै नगरौँ’ नैराश्यताको भावमा उनले भनिन् ।

मङ्गल मण्डप इम्पेक्सकि प्रबन्धक निरू श्रेष्ठको पनि विगतको तुलनामा व्यापार एकदम कम भएको बताउँछिन्। विगत पाँच वर्षदेखि कार्यरत उनी अहिले ‘रेगुलर कस्टमर्स’ले नै दरबारमार्गको व्यापार धानेको उनी बताउँछिन् ।

अहिले ग्राहकको बाटो हेरेर नै दैनिकी बित्ने गरेको उनले सुनाइन्। उनका अनुसार दसैँ, तिहारलगायत चाडपर्वमा भने अलिक व्यापार थियो ।  तर अहिले भने उस्तै सुस्तता छ । 

राजनीतिक दलको प्रदर्शनप्रति उनको पनि दुखेसो छ । ‘पहिला पहिला इन्टरटेन्टमेन्टको हिसाबले कन्सर्ट मात्र हुन्थ्यो  । जसले व्यापारलाई पनि केही राहत मिल्थ्यो  । तर अहिले यो क्षेत्रमा राजनीति हाबी भयो । जसले सकारात्मकभन्दा नकारात्मक असर गरेको छ  । व्यापीहरूलाई थाहै नदिएर अचानक प्रदर्शन हुनु राम्रो होइन । यसतर्फ राजनीतिज्ञले ध्यान दिनुपर्छ’ उनले भनिन्। 

महँगी बढ्ने तर आम्दानी नबढ्ने हुँदा पनि त्यसको प्रत्यक्ष असर परेको उनले बताइन् । मङ्गल मण्डप इम्पेक्स युनाइटेड कमर्स अफ बेनिटन ब्रान्डका सामग्री बेच्दै आइरहेको छ।

दरबारमार्ग स्थित क्यापिटल मलको पहिलो तलामा रहेको ‘दा मिलानो इटालिया’सपकी प्रबन्धक कविता बस्नेत पहिलोको तुलनामा अहिलेको व्यापार तुलना गर्न नसकिने बताउँछिन् ।  ‘अहिले र पहिलाको व्यापार त धेरै भिन्न छ । तुलना गर्नै मिल्दैन  । त्यो बेलाको व्यापार त ‘नेक्स्ट’ लेभलको थियो नि’ उनी भन्छिन् । पार्किङको समस्याले पनि व्यापार खस्किएको उनले बताइन्। ‘पार्किङको इजी एक्सिस नहुँदा अप्ठ्यारो बनेको छ । अहिले रेगुलर आइराख्ने बाहेक नयाँ कस्टमर्स छँदै छैनन्’ उनले भनिन् ।

नेपालको आर्थिक अवस्था नै कमजोर बन्दा त्यसको प्रभाव व्यापारमा देखिएको उनको भनाइ छ । ‘यहाँ मात्र होइन अन्य व्यापारिक केन्द्रहरूमा पनि अवस्था उस्तै छ । अहिले सबै ठाउँमा सुनसान नै छ। दसैँ, तिहारमा पनि पहिला जस्तो उत्साह भएन  । आर्थिक अवस्था नै कमजोर छ’ उनले भनिन् ।

अहिले व्यापारमा जुन ग्रोथ हुनुपर्ने हो त्यस्तो नभएको उनी सुनाउँछिन् । पुरानो ग्राहकले नै धानेको अवस्था उनको दाबी छ । ‘ब्रान्ड खोज्ने ग्राहकहरू यही नै आउनुहुन्छ  । हामीले इटालियन ब्रान्ड मात्र बेच्छौँ । सबै सामान बाहिरबाट मात्र आउँछ । जसले यहाँबाट सामान लगिराख्नु हुन्छ उहाँहरू मात्र आउनुहुन्छ । नयाँ ग्राहक त ठप्प प्राय छ’ उनले भनिन् ।

दा मिलानो इटालिया एउटा इटालियन फेसन ब्रान्ड हो । यो अहिले विश्वभर चर्चित छ ।

एन्टा स्टोरका निकेश तामाङ पनि विविध कारण व्यापार खस्किएको बताउँछन् । ‘पहिला र अहिले धेरै फरक छ । मन्दी छ, महँगी छ । त्यसमा पनि पार्किङ हटेको छ । पार्किङ गर्ने असहज भएपछि ग्राहकलाई यसै झन्झट हुन्छ’ उनले भने । यसतर्फ भने महानगरले ध्यान दिनुपर्ने उनी बताउँछन् । कार्यालय समय सकिएपछि भने अर्थात् साँझ ६ बजेपछि भने पार्किङ गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने उनको सुझाव छ ।

पहिला पहिला व्यापारिक ब्रान्डको रूपले परिचित दरबारमार्गमा अहिले राजनीतिकरण हुन थालेप्रति उनको आपत्ति छ।

‘राजनीतिक प्रदर्शनले व्यापारमा धेरै असर पारेको छ । पसल नै बन्द गरेर बस्नुपर्ने अवस्था आएको छ । राज्यले यस्तो व्यापारिक केन्द्र भएको ठाउँमा प्रदर्शन नगरिइदिए हुन्थ्यो । यस्तो ठाउँमा राजनीतिक दलहरूले प्रदर्शन गर्ने ठाउँ बनाउनु हुन्न । यसमा राज्यले ध्यान दिनुपर्छ’ उनले भने ।

२ वर्ष अगाडिसम्म जुन खालको व्यापार थियो अहिले त्यस्तो नभएको दरवारमार्गका व्यापारीहरू बताउँछन् । अहिले दरबारमार्गका हरेक व्यापारीको एउटै गुनासो पार्किङप्रति छ । पार्किङ हट्दा नयाँ ग्राहक दरबारमार्ग आउने छाडेको उनीहरूको गुनासो छ ।

सयौँलाई रोजगारी दिएको र राज्यलाई लाखौँ कर बुझाउने दरबारमार्गको व्यापारलाई राज्यले सहजता प्रदान गर्नुपर्ने उनीहरू बताउँछन् ।

त्यसै गरी पछिल्लो समय हुने गरेको प्रदर्शनप्रति पनि उनीहरूको असन्तुष्टि छ । यसले दरबारमार्गको जुन साख छ, त्यसमा  असर गर्ने उनीहरू बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्