बढ्न थाल्यो बजार महँगी : वाञ्छित सीमाभित्रै राख्न सरकारलाई चुनौति, कहाँ कति छ मूल्यवृद्धि ?
काठमाडौं । बजार महँगी सरकारले लिएको लक्ष्य भन्दा माथि नै देखिएको छ ।
चालु आर्थिक वर्ष २०८१–८२ का लागि सरकारले ५.५ प्रतिशत बिन्दुको सीमा भित्र रहने अनुमान गरेको छ । तर, नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आवको कात्तिक मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले भने मूल्यवृद्धि सीमा माथि रहेको देखाउँछ ।
गत कार्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ । यो गत आवको समिक्षा महिनाको तुलनामा भने ०.२२ प्रतिशत बिन्दु बढी हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.३८ प्रतिशत रहेको थियो ।
यद्यपि, चालु आवमा मूल्यवृद्धि वाञ्छित सीमा भित्रै रहने विभिन्न प्रक्षेपणहरु छन् । चालु आवको पहिलो महिना (साउन) मा बजार महँगी ४.०९ प्रतिशत, थियो । भदौमा घटेर ३.८६ प्रतिशत बिन्दुमा झरेको देखिन्छ । तर, भदौपछि भने विस्तारै बढ्न थालेको आँकडाले देखाउँछ । असोजमा ४.८२ प्रतिशत मूल्य वृद्धि थियो । तर, पछिल्लो एक महिनाकै अवधिमा यस्तो दर ०.७८ प्रतिशत बिन्दु बढेर ५.६० प्रतिशत पुगेको छ ।
सरकारलाई मूल्य वृद्धि सीमा भित्रै राख्न चुनौति देखिन्छ । सरकारले लिएको लक्ष्यअनुसार नै महँगी नियन्त्रण नहुने देखिएको हो । अझै पनि आर्थिक शिथिलता कायमै रहेकाले लक्ष्य अनुसारकै सीमा राख्न चुनातिपूर्ण देखिएको हो । हाल आयातमा केही सुधार देखिएको छ, रेमिट्यान्स पनि निरन्तर बढेको नै छ । अर्थतन्त्रका बाह्य क्षेत्र निरन्तर सुधार हुँदै गएको छ । चालु खाता बचतमा छ । सोधनान्तर स्थिति अर्थात् देशबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको अन्तर पनि बचतमै छ । अर्को तर्फ विदेशी विनिमय सञ्चितिमा बढेको नै छ । यसले पनि बजार महँगी नियन्त्रण गर्ने जानकारहरु बताउँछन् । यद्यपि, आन्तकि अर्थतन्त्र चलायमान हुन् नक्सदा मूल्य वृद्धि अझै बढ्न सक्ने अनुमान पनि गरिएको छ ।
कहाँ कहाँ केमा कति छ महँगी ?
नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.१० प्रतिशत छ । यस्तै, गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.९८ प्रतिशत र ४.९९ प्रतिशतले रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३३.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.१५ प्रतिशत र घ्यू तथा तेलको ९.२९ प्रतिशतले बढेको छ ।
मरमसला उप-समूहको १.४१ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १.२८ प्रतिशत र माछा तथा मासुको ०.०२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.४१ प्रतिशत छ । यता, मदिराजन्य पेय पदार्थको ६.३५ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ४.५७ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.२४ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकको आँडका अनुसार ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.१९ प्रतिशत वृद्धि भएको छ । यता, सहरी क्षेत्रको महँगी पनि ५.३९ प्रतिशतले बढेको छ ।
प्रदेशगत रुपमा सबैभन्दा धेरै महँगी कोशी प्रदेशमा छ । समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१९ प्रतिशत छ । यस्तै, सुदूरपश्चिम प्रदेशको ६.५७ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार मधेश प्रदेशमा ५.७२ प्रतिशत, बागमतीमा ५.३५ प्रतिशत, गण्डकीमा ४.६९ प्रतिशत, लुम्बिनीमा ५.१० प्रतिशत, कर्णाली प्रदेशमा ३.२१ प्रतिशत रहेको छ ।
काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४२ प्रतिशत छ । यस्तै, तराईको ५.७२ प्रतिशत, पहाडको ५.१५ प्रतिशत र हिमालको ६.७८ प्रतिशत रहेको छ ।
कार्तिक महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.१६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.०९ प्रतिशत रहेको थियो ।
कात्तिकमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ९.०२ प्रतिशत, ३.३९ प्रतिशत र २.८६ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.६२ प्रतिशतले घटेको छ ।