राजविराजमा पनि रात्रिकालिन उडान सुरू, राती उडान भर्नसक्ने १० एयरपाेर्ट पुगे

काठमाडाैँ । रात्रिकालिन उडान सेवाका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा लाईटहरु राजविराज विमानस्थलमा जडान गरिएको छ ।
नागरिक उड्डयन प्राधिकरणको सहयोगमा बुध्द एयरले शुक्रबार (१३ डिसेम्बर) रात्रिकालिन उडानको परीक्षण गरेको थियो । जनकपुरधाम विमानस्थलबाट ६ बजेर ३१ मिनेटमा उडेको जहाज राजविराज विमानस्थलमा साँझ ७ बजे अवतरण गरेको थियो । परीक्षण उडानपछि जहाज पुनः जनकपुरधाम नै फर्केको थियो ।
उक्त उडानको क्याप्टेन मनोज केसी तथा सिद्धार्थ बहादुर सिंह थिए ।
हालसम्म नेपालमा राजविराजलगायत १० वटा विमानस्थलमा मात्रै रात्रिकालिन उडान/अवतरण सेवा रहेको छ ।
राजविराज विमानस्थल चन्द्रगढी, विराटनगर तथा जनकपुरबाट नजिक पर्ने हुँदा यसलाई आवश्यकताको बेला वैकल्पिक विमानस्थलको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसले यस भेगको उडानलाई थप सुरक्षित सुढृढ गरेको छ ।
आईएफआर उडान हुने भएपछि २००० को भिजिविलिटीमा पनि उडान भर्न मिल्छ । यसअघि घटिमा ५००० हजार भिजिविलिटी हुनुपथ्र्यो । यसले उडान डिले तथा रद्द हुने समस्याबाट राहत मिल्नेछ ।
परीक्षण उडान सम्पन्न भएपछि बुध्द एयरले आज काठमाडौंदेखि राजविराजको रात्रिकालिन व्यवसायिक उडान भरेको छ । यस उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री बद्रीप्रसाद पाण्डे, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदिप अधिकारीलगायत विभिन्न पदाधिकारीहरु पनि सहभागि थिए ।
बुध्द एयरले राजविराजमा दैनिक १ उडान भर्दै आएको छ । रात्रिकालिन उडानको सुविधासँगै बुध्द एयरले थप उडान गर्ने गृहकार्यमा जुटेको छ ।