फेरि घट्न थाल्यो सुनको भाउ, प्रतितोला कति सस्तियो ?

काठमाडौं । सुनको भाउ पुनः ओरालो लागेको छ । शुक्रबार पनि छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ४९ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने घटेर १ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार एकैदिन १ हजार ५०० रुपैयाँ घटेको थियो ।
साताको अन्तिम कारोबार दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा २० रुपैयाँ घटेर १ हजार ७६० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार बिहीबार भने नेपाली बजारमा १ हजार ७८० रुपैयाँ खरिदबिक्री भएको थियो ।