तल्लो स्तरमा फर्कियो मूल्यवृद्धि, ज्यादा सस्तिनेमा मसला र तरकारी « Arthapath.com
२७ चैत्र २०८१, बुधबार

तल्लो स्तरमा फर्कियो मूल्यवृद्धि, ज्यादा सस्तिनेमा मसला र तरकारी



काठमाडौँ । गत फागुनमा औसत मूल्य वृद्धिको दर (मुद्रास्फीति) न्यून विन्दुनजिक झरेको छ । गत असार मसान्तको आँकडालाई छाड्ने हो भने फागुनमा मुद्रास्फीति ३० महिनाकै सस्तो हुन आउँछ ।

गत असारमा वार्षिक मुद्रास्फीति ३.५७ प्रतिशत थियो । फागुनमा आउँदा यस्तो मुद्रास्फीति ३.७५ प्रतिशतमा रोकिएको छ । तर यो दर निरन्तर ओरालो लाग्ने क्रममा छ ।

गत मंसिरमा ६ प्रतिशत नाघेपछि मुद्रास्फीति पुनः ओरालो लाग्न थालेको थियो । त्यसयता औसत महँगीको दर निरन्तर घटिरहेको छ ।

फागुनको आँकडाले बजार महँगी काठमाडौँ उपत्यकामा सबैभन्दा सुस्त दरमा बढेको देखिन्छ । पहाडी क्षेत्रमा ४.७७ प्रतिशत रहेको मुद्रास्फीति उपत्यकामा ३.२५ प्रतिशतको रफ्तारमा मात्रै बढेको छ ।

यसबीचमा मसलाको भाउ सबैभन्दा धेरै सस्तिएको छ । विगत एक सालमा मसलाको मूल्य ५ प्रतिशतभन्दा बढी अन्तरले सस्तिएको राष्ट्र बैंकको आँकडाले देखाउँछ ।

त्यसपछि हरियो तरकारीको भाउ १ प्रतिशतभन्दा ज्यादा अन्तरले सस्तिएको छ । माछा मासुको भाउ पनि सस्तिएको तथ्यांकमा देखिन्छ । बाँकी वस्तु तथा सेवाको भाउ भने उकालो लागेको छ ।

तर यस्ता वस्तु र सेवाको मूल्यमा पनि भारी बृद्धि भने देखिएको छैन । यो साल सबैभन्दा धेरै महँगिएको चाहीँ घ्यू, तेल हो । घ्यू र तेलको मूल्य झण्डै १४ प्रतिशत महँगिएको देखिन्छ । दलहन तथा गेडागुडीको मूल्य पनि झण्डै ८ प्रतिशत महँगिएको छ ।

लत्ता कपडा र फलफूलको मूल्य करिब ७ प्रतिशत, मदिराको मूल्य ६ प्रतिशत, फर्निचर र घरायसी उपकरणको मूल्य साढे ५ प्रतिशत तथा हल्का पेय यदार्थ र यातायात सेवाको मूल्य ५ प्रतिशत हाराहारी महँगिएका छन् ।

अन्नबाली र सूर्तिको भाउ पनि ५ प्रतिशतकै हाराहारीमा महँगिएका छन् । रेस्टुरेन्ट र होटेलको मेनू साढे ३ प्रतिशत हाराहारी महँगिएका छन् । दूध, अण्डा र शिक्षा सेवाको लागत पनि ३ प्रतिशतकै सेरोफेरोमा महँगिएका छन् ।

घर भाडा, घरायसी खर्च, स्वास्थ्य सेवा, सञ्चार सेवादेखि चिनीको भाउ पनि २ प्रतिशत हाराहारीले महँगिएका छन् । मनोरञ्जन स्थलका टिकटको भाउ पनि २ प्रतिशतजस्तो महँगिएका छन् । बीमा र वित्तीय सेवा भने नगन्य मात्रामा महँगिएको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्