नेपालीका लागि किन विशेष छ बडादसैँ ? यस्तो छ दसैँको वैज्ञानिक र ऐतिहासिक पक्ष  « Arthapath.com
७ कार्तिक २०८०, मंगलवार

नेपालीका लागि किन विशेष छ बडादसैँ ? यस्तो छ दसैँको वैज्ञानिक र ऐतिहासिक पक्ष 



काठमाडौँ । दसैँ भन्ने बित्तिकै हिन्दु धर्मावलम्बी नेपालीहरूले बुझिहाल्नुहुन्छ मासु खाने, रमाइलो गर्ने अनि आफू भन्दा ठुलाबाट टिका लगाउने । यत्ति मात्र हो त दसैँको महत्त्व ? पक्कै यति मात्र होइन, यसका अन्य धेरै महत्त्व र आयामहरू छन् जो नखोजी, नपढीकन या विद्धानहरूको सङ्गत नगरीकन बुझ्न र जान्न सकिँदैन ।

दसैँ शब्द अङ्क दशबाट बनेको हो । दश अङ्क ‘१’ प्रकृतिमा ‘०’ प्रत्यय थपेर बनेको हो । १० अङ्कले प्रकृति ‘१’ नहुने हो भने ‘०’ ले कुनै अर्थ राख्दैन । 

गाउँघरका मानिसहरूले दश महिनासम्म खेती, किसानीको काम गर्छन् । यसरी दश महिनासम्म काम गर्दा कहिले काहीँ आराम र मनोरञ्जन पनि गर्नुपर्छ । त्यसो नगरे स्वास्थ्य बिग्रन्छ, बिरामी भइन्छ । दश महिना काम गरेर प्रकृति (धर्ती माता) र प्रत्यय(जीवात्मा÷मनुष्य) ले विश्राम लिने अवसरको रूपमा दशैं मान्ने परम्परा सुरु भयो । तर, विश्राम कसरी गर्ने त ? सुतिरहेर, बसिरहेर मात्र विश्राम नगरेर रमाइलोको लागि एक–अर्काको घरमा गएर कुराकानी गर्ने अवसरको रूपमा दसैँको सुरु भयो ।

यसै गरी प्रकृति (धर्ती माता)लाई कसरी विश्राम दिइएको छ भन्दा  यस बेला कसैले खेतबारीमा खेतीपाती लगाउँदैनन्, लगाएको अन्नबाली फुल्न, फल्न र पाक्न सुरु हुन्छ । यो प्रकृतिले विश्राम लिएको हो । ऋग्वेद कालमा दसैँलाई ‘वसन्त सम्पात’ भनिन्थ्यो । इतिहासको कालखण्ड अनुसार दसैँको नाम फरक–फरक हुँदै आएको छ ।

दसैँ किन मनाइन्छ ?

दसैँको सम्मुखमा विभिन्न देवी देवताको भक्ति र पितृ÷पूर्वजहरूको श्रद्धा गरिने चलन छ । यसो किन गरिन्छ भन्दा दुर्गतिलाई नाश गरी शक्तिको उपासनाको लागि नवदुर्गाको पूजा गरिन्छ । नौ दिनसम्म शक्ति सञ्चयको लागि नवरत्नको पूजा गरिन्छ ।

सोह्र श्राद्ध आफ्नो पितृ(पूर्वज)हरू प्रति गरिने श्रद्धा हो । हामी को हौँ ? कहाँबाट आयौँ ? भनेर आफ्नो पूर्वजहरूको संस्मरणको लागि श्राद्ध गरिन्छ । श्राद्ध ब्राह्मण क्षेत्रीले मात्र हैन, राई, लिम्बु लगायतका सबै जातिले गर्दछन् । क्षेत्री, बाहुनले गर्नेलाई मात्र श्राद्ध भनिँदैन । श्राद्ध वार्षिकी र दैनिकी गरी दुई किसिमका हुन्छन् । आफ्नो पितृहरूको सम्झनामा वर्षको एकपल्ट गरिने सोह्र श्राद्ध जस्तै श्राद्ध वार्षिकी हो । खानु, पिउनु, सुत्नु, हिँड्नु, नुहाउनु आफ्नो दैनिक पलपल, क्षण क्षणको नित्यकर्म गर्नु दैनिकी श्राद्ध हो । श्राद्ध नगरी कोही पनि बाँच्न सक्दैन । मान्छे मरेपछि मात्र श्राद्धको अन्त्य हुन्छ ।

दसैँमा विभिन्न रातो, पहेँलो, हरियो, सेतो रङ्गको टिका अनि जमरा निधारमा लगाउँछौँ । यसरी विभिन्न रङ्गको टिका र जमरा किन लगाउँछौ भन्दा मान्छे(जीवात्मा)ले धर्ती(पृथ्वी)मा खेती लगाउँदाका ७ रूप हुन्छन् । धर्ती(पृथ्वी)माताले उपार्जन गरेको अन्नबाली, सागसब्जी खाएर र ओखतीमूलो गरेर मान्छे बाँचेका छौँ । धर्ती मातामाथि नै फोहोर–मैला गर्छौँ । ज्यादै कष्ट पनि दिन्छौँ । यसको बदलामा पृथ्वी मातालाई मानिसले के कुराले स्वागत र सम्मान गरौँ त भनेर रातो, सेतो, पहेँलो, हरियो गरी विभिन्न रङ्गको टिका र जमरा केही घण्टा, केही दिन भए पनि लगाएर पृथ्वी माताको स्वागत, सत्कार र श्रद्धा गर्न टिका र जमरा लगाइन्छ ।

टिका लगाएर मान्यजनकहाँ टिका लगाउन आउने–जाने गरिन्छ । यसको अर्थ सानोले ठुलालाई आदर, सत्कार गर्नु, मान सम्मान गर्नु र ठुलाले सानालाई आशीर्वाद दिनको लागि हो । आदर, सत्कार, मान सम्मान गर्नु र आशीर्वाद दिन जान्नु पर्दछ, बुझ्नु पर्दछ । दसैँ आयो भनेर नयाँ लुगा लगाउने, वर्षभरि सफा नगरेको घर–आँगन, बाटो, पँधेरो सफा गर्ने गरिन्छ ।

विजया दशमी किन भनिन्छ ?

दशैलाई विजया दशमी पनि भन्ने गरिन्छ । कसै कसैले यसलाई राम र रावणको युद्धसँग तुलना गरी रामले रावणमाथि विजयप्राप्त गरेको खुसीयालीको दिनको रूपमा मानिएको भन्ने गर्दछन् । तर त्यसो हैन । राम र रावणको युद्ध त प्रचण्डले गिरिजालाई राष्ट्रपति बनाउँछु भनेर पछि नबनाएर गिरिजालाई हराए जस्तै त हो । यो कुन ठुलो कुरा हो र ? मुख्य कुरा १२ महिनासम्म खाने अन्नबाली सकुशल दश महिनासम्म लाएर प्रकृति माथि मानिसले विजय हासिल गरेको दिन भएको हुनाले विजया दशमी भनिएको हो । 

धार्मिक महत्त्व

१५ दिनसम्म मनाइने महान् पर्व विजयादशमी पर्व घटस्थापनासँगै सुरु भइसकेको छ भने पूणिर्माको दिन यसको बिधिवत रूपमा अन्त्य हुन्छ । यसमध्ये पनि दसैँको पहिलो १० दिनको महत्त्व एकदमै धेरै रहेको छ । प्राचीन कालदेखि मनाइँदै आएको यो दसैँको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र सामाजिक लगायत यावत महत्त्व रहेको छ ।

दसैँको धार्मिक महत्वलाई हेर्दा यो दैवी शक्तिमाथि आसुरी शक्तिको पराजय भएको उपलक्ष्यमा मनाउने गरिन्छ । त्यस्तै, यो पर्वको पौराणिक कहानीमाथि पनि प्रतीकात्मक अर्थको खोजी गर्ने हो भने यो भित्र पनि वैज्ञानिकता लुकेको पाइन्छ । नौ दिनसम्म देवी र महिषासुरको युद्धमा महिषासुरको पराजय भएको स्मरणमा विभिन्न किसिमका देवीहरूको पूजा गर्ने गरिन्छ । हामीले दसैँको नौ दिनसम्म पूजा गर्ने देवीको स्वरूपको आधारमा पनि हामी दसैँको धार्मिक महत्त्व पत्ता लगाउन सक्दछौँ ।

नव दुर्गाको पूजा र त्यसको अर्थ

दसैँको पहिलो दिन सुख–समृद्धि र ऐश्वर्यको प्रतीक मानिने कलश स्थापना गरेर घटस्थापना गरिन्छ । घटलाई सुख–समृद्धि र ऐश्वर्यदायक तथा मङ्गलकारी मान्ने गरिएको छ । यही दिन घटको पूजा गर्नुले घरको सबै विपद्दायक तरङ्गहरू नष्ट भएर सुख शान्ति र समृद्धि आउने धार्मिक विश्वास छ । दसैँको पहिलो दिन हामी दुर्गाको शैलपुत्री स्वरूपको पूजा गर्ने गर्दछौँ ।

दोस्रो दिन हामीले नवदुर्गा मध्येकी दोस्री देवी ब्रह्मचारिणीको पूजा गर्छौँ । भक्तहरूलाई सिद्ध र अनन्त फल दिने देवीको रूपमा ब्रह्मचारिणी देवीलाई मान्ने गरिएको छ । पहिलो दिन सुख, शान्ति र समृद्धिको कामना सहित गरिएको तपको भोलिपल्ट हामीले त्यो तपलाई सिद्ध गर्नको लागि ब्रह्मचारिणी स्वरूपको ध्यान गर्ने गरेका छौँ ।

त्यस्तै, तेस्रो दिन हामी अस्तव्यस्त मनलाई एकाग्र हुन सिकाउने दुर्गा चन्द्रघण्टाको पूजा गर्ने गर्दछौँ । पहिलो दिनदेखि सुरु भएको साधनामा अन्यत्र मन नजाओस् भन्नको लागि यस्तो पूजा गर्ने गरिन्छ ।

त्यस्तै, चौथो दिन मृत्यु, रोग र कमजोरीबाट मुक्ति दिने देवी कुष्माण्डको पूजा गरिन्छ । नवरात्रिकी पाँचौँ दिन पूजा देवी स्कन्द माताको पूजा ज्ञान र विद्वताको लागि गर्ने गरिन्छ । दसैँको छैटौँ दिन गुप्त रहस्यकी प्रतीक कात्यायनी देवीको पूजा गरिन्छ । सातौँ दिन उग्र स्वरूपकी सुख दायिनी देवीको पूजा गरिन्छ । नवरात्रको आठौँ दिन सौन्दर्य र करुणामयी देवी महागौरीको पूजा गरिन्छ भने नवरात्रको नवौँ दिन सिद्धि दात्रीको पूजा गर्ने गरिन्छ ।

यसरी कुनै पनि व्यक्ति भित्र रहेको अशान्ति, मनको अस्तव्यस्तता, अज्ञानता, रोग, कष्ट आदिलाई नौ दिनसम्मको साधनाबाट आफ्नो शरीरबाट छुटाउने पर्वको रूपमा यसलाई व्याख्या गर्ने गरिएको छ । पहिले जुनसुकै कुरालाई पनि धर्मसँग जोडेर व्याख्या गर्दा त्यसले स्थायित्व पाउने र धर्मकै डरले पनि त्यस्ता परम्पराहरूले निरन्तरता पाउने भएकोले यस्ता विषयहरूलाई धार्मिक घटनासँग जोड्ने गरिएको थियो ।

अर्को तर्फ शारदीय शुक्ल पक्ष र वसन्तीय शुक्ल पक्षको १५ दिने दुर्गाको स्मरण र पूजाको हिसाबले शुभ मानिन्छ । त्यसैले पनि यो समयमा दुर्गा पूजा गर्ने गरिएको हो । त्यसैले धार्मिक एवं आध्यात्मिक महत्वको आधारमा हेर्दा नौ दिनसम्मको साधनापछि हामी टीकाको दिन मान्यजनबाट आशीर्वाद लिएर नयाँ सुखी र समृद्ध जीवनको सु?वात गर्ने पर्व हो दसैँ ।

दसैँको वैज्ञानिक पक्ष

दसैँमा नवदुर्गाको पूजा गर्नुको पछि प्रतीकात्मक एवं वैज्ञानिक महत्त्व पनि कम छैन । दसैँमा लगाउने टीकाको वैज्ञानिक पक्ष, बलिको वैज्ञानिक पक्ष, जमराको महत्त्व आदि पनि रहेका हुन्छन् । हामीले दसैँमा राख्ने जमरालाई सांस्कृतिक दृष्टिले दीर्घायुको प्रतीक मानिन्छ । तर, जमराको वैज्ञानिकता खोज्दा बिहान शारीरिक व्यायाम गरेपछि जौ र गहुँको जमराबाट बनेको जुस पिउने हो भने रोगसँग लड्ने क्षमताको वृद्धि हुन्छ र धेरै रोगको निको समेत हुने कुरा वैज्ञानिक रूपमा पुष्टि समेत भइसकेको छ ।

जमराको जुसले क्यान्सर, रक्तचाप, महिलामा हुने महिनावारी गडबडी, थाइराईड, नसासम्बन्धी रोगका बिरामीलाई फाइदा गर्दछ । त्यस्तै, क्यान्सर, डाइविटिजलगायतका रोगीले यस्तो जुस पिउँदा फाइदा हुने बताइएको छ । जौ र गहुँको जमराबाट बनाएको जुसमा रोगसँग लड्ने क्षमता बढी हुने हुँदा विभिन्न किसिमका बाथ रोग, चिनी रोगलगायत बहुसङ्ख्यक रोगबाट बच्न पनि नियमित यसको सेवन गर्न सकिन्छ ।

मानव शरीरमा रहेका सबै नाडीहरुमध्ये इडा, पिङ्गला र सुषुम्नालाई मुख्य मानिन्छन् । सुषुम्ना मस्तिष्कको मध्य भागबाट निधारतर्फ निस्केको हुन्छ । सुषुम्नालाई ज्ञानको प्रवाहक मानिन्छ । त्यसैले सुषुम्नामा पर्ने गरी नै टीका लगाइन्छ ।

निधारमा लगाइएको चन्दनले मानिसका विकारयुक्त कीटाणुको नाश गर्ने, विचार शुद्ध राख्ने, वीर्य संरक्षण गर्ने मान्यता रहेको छ । चन्दन लगाउँदा मन शीतल हुन्छ भन्ने मान्यता समेत रहेको छ । मस्तिष्कको तातोपनालाई सन्तुलित राख्न पनि चन्दन टीका लगाउने गरिन्छ । यस्तै हरेक परम्पराको वैज्ञानिक महत्त्व रहेको पाइन्छ ।

दसैँको ऐतिहासिक पक्ष

अर्को तर्फ दसैँको ऐतिहासिक महत्त्व पनि उस्तै छ । ऐतिहासिक रूपमा यो पर्व यही मितिदेखि सुरु भयो भनेर त अहिलेसम्म पत्ता लागिसकेको छैन । तर, यो आजभन्दा ६ हजार वर्ष पहिलेदेखि नै सुरु भएको अनुमान गरिएको छ ।

प्राचीन पूर्वीय सभ्यता सिन्धु घाँटीको सभ्यताको समयदेखि नै यसको सुरु भएको अनुमान गर्ने गरिएको छ । त्यसपछिको वैदिक कालमा देवी र शक्तिको पूजा गर्ने प्रचलन पनि रहेकोले वैदिक काल भन्दा अघि नै यसको सुरुवात भएको मान्न सकिने आधार रहेको छ । त्यसैले सबैभन्दा पुरानो सभ्यताको समयदेखि चलेको यो चार्डको ऐतिहासिक महत्त्व पनि निकै रहेको मान्न सकिन्छ ।

सामाजिक महत्त्व तर्फ यो चार्ड भ्रातृत्व र एकताको पर्व हो । विभिन्न कारणले परिवारबाट छुटेकाहरूले एक ठाउँमा भेला भएर एक आपसमा खुसी साट्ने गर्दछन् । त्यसैले यो पर्वको महत्त्व निकै धेरै रहेको छ । वर्षमा एक पटक भए पनि राम्रो लगाउने र मिठो खाने गरिन्छ । यसले गर्दा सधैंभरीको पीडालाई केही दिन भने पनि भुलाउन मद्दत गर्दछ ।

त्यस्तै, अर्कोतर्फ यसमा प्रयोग गरिने कुपिण्डो, जमरा जस्ता औषधिमूलक फलफूलहरू समेत दसैँसँगै आउने गर्दछ । यसले चिकित्साको क्षेत्रमा पनि निकै महत्त्व दिने गरेको छ । त्यस्तै, आर्थिक महत्त्व अन्तर्गत खेती गरेर खेती भित्र्याई सकेका वा भित्र्याउने बेला नभएर फुर्सद भएको बेलामा यस्तो पर्व मनाइन्छ । यो पर्वमा निकै आर्थिक चहलपहल हुने भएकोले आर्थिक क्षेत्रमा पनि यसको महत्त्व निकै रहेको मान्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्