पौषशुक्ल पूर्णिमा र श्री स्वस्थानी व्रतकथाको महत्व « Arthapath.com
११ माघ २०८०, बिहीबार

पौषशुक्ल पूर्णिमा र श्री स्वस्थानी व्रतकथाको महत्व



स्कन्दपुराणको माघ माहात्म्यमा वर्णित स्वस्थानीको व्रत पौषशुक्ल पूर्णिमादेखि आरम्भ गरी माघशुक्ल पूर्णिमासम्म महिना दिन गर्नुपर्दछ ।

‘पौषस्य पौर्णमास्यां तु स्वस्थानी व्रतमारभेत् ।

माघस्य पौर्णमास्यां तु व्रतपूर्णं समाचरेत् ।।’ अर्थात् पौषशुक्ल पूर्णिमाका दिनदेखि आरम्भ गरी माघशुक्ल पूर्णिमासम्म एक महिना गरिने व्रतलाई स्वस्थानी व्रत भनिन्छ । यस व्रतमा शिवजी तथा स्वस्थानी परमेश्वरी पार्वती अर्थात् परमेश्वर शिव र पार्वती परमेश्वरीको नित्य मध्याह्णकालमा पूजा–आराधना गर्नुपर्दछ । यो व्रत स्त्री जाति अथवा पुरुष जाति जसले लिए पनि हुन्छ ।

‘सुवर्णवर्णदिप्ताभां त्रिनेत्रां कमलाननाम् ।
सिंहासनसमासीनां सर्वालंकारभूषिताम् ।
नीलोत्पलधरां वामे दक्षिणे वरदां शुभाम् ।।
खड्गचर्मधरां चोर्ध्वं वामदक्षिणयोः क्रमात् ।
चतुर्भुजां च मां तत्र पूजयेद् वृषकेतनम् ।

एवं ध्यात्वा महादेवीं स्वस्थानी जगदिश्वरीम् ।।’ सुवर्णभन्दा पनि दिव्य पहेँलो वर्ण भएकी, तीन आँखा भएकी, कमलको फूलझैँ उज्यालो मुख भएकी, सिंहासनमा बसेकी, नाना अलङ्कार लगाएकी, हातमा खड्ग, चर्म (ढाल) र नीलो कमल लिएकी, चार हात भएकी यस्ती स्वस्थानी परमेश्वरीलाई सम्झिएर मेरो अर्थात् सदाशिवको र स्वस्थानी परमेश्वरीको पनि साथसाथै पूजा गर्नुपर्दछ भनेर शिवजीले पार्वतीलाई बताउनुभएको छ । पूजा आरम्भ गर्नुभन्दा एक दिन अगाडि नै हातगोडाका नङ काटी स्नान गरी पवित्र भएर शुद्ध वस्त्र पहिरिई श्रद्धा एवम् भक्तिसाथ पूजा गर्नुपर्दछ । पूजा गर्दा पूजाका सामग्री, वस्त्र, जनै, धागो, सौभाग्यद्रव्य, चन्दन, अक्षता, फूलपाती, बेलपाती, तिल, जौ, दुबो, अघ्र्य, पञ्चामृत, सिन्दुर, अबिर, धुप, बत्ती, कपुर, नैवेद्य, सुपारी, भेटी आदि सबै तयार पारी मध्याह्नकालमा पहिले कर्मपात्रो बनाएर कुश, तिल, जौ आदि लिएर सङ्कल्प गर्नुपर्दछ ।

‘म आज पौषशुक्ल पूर्णिमाका दिनदेखि माघशुक्ल पूर्णिमासम्म नियममा रही श्रीस्वस्थानी परमेश्वरीको व्रत बसी पूजा गर्दछु र कथासमेत सुन्छु’ भनी सङ्कल्प गरेर अघ्र्य बनाएर सूर्यनारायणलाई अघ्र्य दिएर नमस्कार गरी प्रायश्चित्त गोदान गर्नुपर्दछ । त्यसपछि पहिले दियो, कलश र गणेशको पूजा गर्नुपर्दछ । अनि कलशमाथि स्थालीमा अष्टदल लेखी सदाशिवसहित स्वस्थानी परमेश्वरीको प्रतिमा राखी त्यस प्रतिमामा ‘ॐ सदाशिवसहितायै श्रीस्वस्थानी परमेश्वर्यै नमः’ भनेर पूजा गर्नुपर्दछ ।

यसरी नित्य मध्याह्नकालमा पूजा गरी कथा सुनेर एक छाक हविष्य भोजन गर्नुपर्दछ । यसरी महिना दिनसम्म व्रत पूजा गरेपछि माघ शुक्ल पूर्णिमाका दिन व्रतको उध्यापन गर्नुपर्दछ । यस दिन अक्षता, जौ, तिल, फूल, दुबो, जनै, सुपारी आदि सबै कुरा एक सय आठ चढाउनुपर्दछ । रोटी, मालपुवा आदि नैवेद्य पनि चढाई फेरि एक सय आठ छुट्टै रोटी मालपुवा चढाउनुपर्दछ । त्यसपछि अग्नि स्थापना गरी एक सय आठ हवन गर्नुपर्दछ । अनि स्वस्थानी परमेश्वरीको भजन, कीर्तन र कथा श्रवण गर्दै रात्रिमा जाग्राम गर्नुपर्दछ । उज्यालो भएपछि स्नान गरेर उत्तराङ्ग पूजा गरी अघ्र्य दिनुपर्छ ।

अघ्र्य दिने मन्त्र यसप्रकार छ ः
‘नमस्तेक्स्तु जगन्मातः स्वस्थानी सर्वमङ्गले ।
तव प्रसादाद्देवेशी व्रतपूर्णं तवाज्ञया ।।’

हे स्वस्थानी माता ! हजुरका प्रसादले मेरो व्रत पूर्ण होस् भनी प्रार्थना गरी विसर्जन गरेर ब्राह्मणलाई यथाशक्ति दक्षिणा दिई भोजन गराएर ती एक सय आठमध्ये सबै कुरा आठ–आठवटा झिकी पतिलाई दिनुपर्दछ, पति नभए छोरालाई, छोरो पनि नभए मितछोरालाई दिनुपर्दछ र मितछोरो पनि नभए मेरो मनकामना पूर्ण होस् भनी नदीमा लगेर बगाइदिनुपर्दछ । सय रोटी आफूले भोजन गर्नुपर्दछ । यसरी व्रत गर्दा मानिसका समस्त पाप नास भई आ–आफ्ना सम्पूर्ण मनकामना पूर्ण हुन्छन् ।

पहिले यो स्वस्थानीको व्रत विष्णुका उपदेशले शिवजी पति पाऊँ भनी पार्वतीले लिनुभएको थियो । दक्ष प्रजापतिका तेत्तीसकोटी कन्यामध्ये जेठी छोरीको नाम सतीदेवी थियो । सतीदेवीबाहेक सबैको विवाह देवतासँग भएको र सतीदेवी बाँकी थिइन् । शिवजीले माग्दा दक्षले शिवजीलाई म तिमीलाई छोरी दिन्न भनी गाली गरेपछि शिवजीले विष्णुलाई यो कुराभन्दा विष्णुले म माग्छु भनी माग्न जानुभयो । तर, आफैँलाई माग्नुभयो । अनि शिवजीलाई भन्नुभयो– हे शिवजी ! विवाहमण्डपमा कन्यादान गर्ने वेलामा भिक्षा माग्नु, मेरो लग्न बित्न लाग्यो । एक छिन मेराछेउमा बस्नुहोस् भनेर म भन्नेछु ।

अनि हजुर मेरा छेउमा गएर बस्नु, पार्वतीको हात हजुरका हातमा हाल्ने प्रबन्ध म मिलाउनेछु भनी विष्णुले सल्लाह गरे । त्यसै सल्लाहअनुसार लग्नका दिन विष्णुले छल गरी झुक्याएर सन्न्यासी रूप शिवजीका हातमा सतीदेवीको हात थाप्न लगाई शिवजीसँग सतीदेवीको विवाह भयो । दक्ष प्रजापति शिवजीसँग रिसाएका थिए । दक्षले यज्ञ गर्दा शिव र सतीलाई नबोलाएपछि सतीदेवीले थाहा पाएर बाबाको यज्ञ हेर्न शिवजीले नजाऊ भन्दाभन्दै गइन् । त्यहाँ दक्षले शिवको निन्दा गरेका थिए । सतीदेवीले शिवनिन्दा सहन नसकी अग्निकुण्डमा प्रवेश गरी प्राण त्यागिन् र हिमालयकी छोरी पार्वती भएर जन्मिइन् । अनि उनै पार्वतीले विष्णुका उपदेशले शिवजी पति पाउनका लागि स्वस्थानीको व्रत लिइन् र त्यसै व्रतका प्रभावले शिवजीसँग पार्वतीको विवाह भएको थियो ।

शिवभट्ट नामका ब्राह्मण र सती ब्राह्मणीका सन्तान नहुँदा सिद्धिविनायकको उपासना गरी गाईको गोबरबाट एउटी कन्या उत्पत्ति भइन् । तिनको नाम गोमा राखियो । गोमा पाँच वर्षकी हुँदा शिवजीले भिक्षुक रूप धारण गरी भिक्षा माग्न शिवभट्टका घरमा जानुभयो । शिवभट्ट तथा सती ब्राह्मणी घरमा थिएनन् । गोमाले ढिलो थाहा पाएर भिक्षा दिन जाँदा तैँले भिक्षा दिन ढिलो गरिस्, त्यसकाण तँ सात वर्षकी हुँदा ७० वर्षका बुढासँग तेरो विवाह होस्, तैँले पनि ठूलो दुःख पाउनेछस् भनी श्राप दिए ।

सात वर्षकी हुँदा ७० वर्षका शिव शर्मा नामका ब्राह्मणसँग गोमाको विवाह भयो । गोमा गर्भिणी भएपछि जातकर्म, नामकर्म आदि संस्कार गर्नका लागि भिक्षा मागी सम्पत्ति आर्जन गर्न गएका शिव शर्मा बेपत्ता हुँदा गोमाले अर्काकामा ढिकी–जाँतो गरी बडो दुःखले नवराजका जातकर्म, नामकर्म आदि संस्कार गराइन् । नवराज भन्ने नाम राखियो । पछि चन्द्रावती नामकी ब्राह्मणीसँग नवराजको विवाह पनि भयो ।

गोमाले बडो दुःख गरी उनलाई हुर्काइन्, बढाइन् । ठूला भएपछि बाबुको खोजी गर्न गएका नवराजले बाबु रूखबाट लडी मरेका उनका हाडखोड भेटी संस्कार गरी उनी पनि धेरै दिनसम्म बेपत्ता भए । नवराज हिँडेपछि चन्द्रावती पनि माइत गईन् । यता गोमाले झन् ठूलो दुःख पाइन् । त्यसपछि सप्तर्षिका उपदेशले गोमा ब्राह्मणीले यो स्वस्थानीको व्रत लिइन् र बाबु खोज्न गएर धेरै दिन बेपत्ता भएका गोमाका छोरा नवराज स्वस्थानीको व्रतको उध्यापनका दिन तत्काल आएका र आमाले लिएका यसै व्रतका प्रभावले नवराज लावण्य देशका राजा भएका थिए । त्यस्तो दुःखमा परेकी गोमा स्वस्थानीका व्रतका प्रभावले राजमाता भइन् ।

नवराजकी रानी चन्द्रावतीले स्वस्थानीको निन्दा गरेकी हुँदा कुष्ठरोग लागी धेरै दिनसम्म दुःख पाएकी र पछि अप्सराका उपदेशले यिनै स्वस्थानी भगवतीका व्रतका प्रभावले बालुवाका रोटी साँच्चै रोटीमा परिणत भएका र कुष्ठरोग निको भई फेरि नवराज राजाकी पटरानी भएकी थिइन् । चन्द्रावतीले नदीमा बगाएका रोटी नाग र नागिनीले भेटेर धेरै दिनसम्म वियोग भएका नाग र नागिनीको स्वस्थानीका प्रसादद्वारा भेट भएको थियो । डोलेले अप्सरासँग संसर्गमा यो व्रत गरेका हुँदा स्वर्गीय सुखभोग गर्न पाएका थिए ।

‘अहार शुद्धौ सत्वशुद्धिः’ भनिएको हुँदा हविष्य भोजनबाट बुद्धिको विकास हुन्छ । एक छाक खाने गर्दा पेटमा रहेको अजीर्ण, नपचेको अन्न सुपाच्य भई राम्रोसँग पचेर शारीरिक स्थिति ठीक हुन्छ । परमेश्वरका कथा भजन आदिले मनमा शान्ति हुन्छ । यस व्रतका प्रभावले पार्वतीले आफूले मन पराएका महाँदेवलाई पति प्राप्त गरेकी हुँदा यस व्रतबाट आफ्ना मनकामना पूर्ण हुन्छन् भन्ने कुरा, भिक्षुकलाई झट्टै भिक्षा नदिँदा आफूलाई दुःख वा हानि हुन्छ । त्यसकारण भिक्षुलाई तुरुन्तै भिक्षा दिनुपर्छ भन्ने र दुःख आइपर्दा पनि नआत्तिईकन सामना गर्दै रहे कालान्तरमा अवश्य सुख प्राप्ति हुन्छ भन्ने कुरा गोमाको कथाबाट बुझेर व्यवहार गर्न सके आफूलाई कल्याण हुन्छ ।

आमाले लिएका यस व्रतका प्रभावले बाबु नभएका टुहुरा नवराजसमेत राजा हुन पाएका, अप्सराका संसर्गमा डोलेले यो व्रतमा सहभागी भई एकछिन पूजा गर्दा मात्र पनि स्वर्गीय सुखभोग गर्न पाएका, यसको प्रसाद मात्र खाँदा पनि धेरै दिन विछोड भएका नाग–नागिनीको भेट भएको हुँदा श्रद्धा एवम् भक्तिसाथ महिनादिन नै यो व्रत गर्दा यस व्रतबाट मानिसका जुनसुकै मनकामना पनि पूर्ण हुन्छन् भन्ने कुरा स्वतः स्पष्ट हुन्छ ।

स्वस्थानीको निन्दा गर्दा चन्द्रावतीले दुःख पाएकी र स्वस्थानीलाई मानेर व्रत गर्दा बालुवाका कल्पित रोटीसमेत साँच्चै रोटीमा परिणत भएका र दुःख, कष्ट नास भई पटरानीसमेत भएकी हुँदा हामी पनि श्रद्धा एवम् भक्तिपूर्वक स्वस्थानीको व्रत गरी आफ्नो कल्याण गरौँ । यो कथा स्कन्दपुराणको केदारखण्डमा पहिले महाँदेवले पार्वतीलाई बताउनुभएको र पछि स्कन्दकुमारले अगस्त्य मुनिलाई बताउनुभएको थियो ।

ॐ श्रीस्वस्थानी परमेश्वर्यै नमः। श्रीकृष्णार्पणमस्तु ।।


प्रतिक्रिया दिनुहोस्