शिव, शिवरात्री र आत्मपरिचिति « Arthapath.com
२५ फाल्गुन २०८०, शुक्रबार

शिव, शिवरात्री र आत्मपरिचिति



काठमाडौं । वेदमा परमात्मालाई निर्गुण, निकाराकार परब्रह्मको रुपमा वर्णन गरिएको छ । उपनिषदले शक्तिस्वरुप परमेश्वरको व्याख्या गरेको छ । हिन्दुभित्र पनि भिन्न मतहरुले भिन्दाभिन्दै देवतालाई ‘प्रमुख’ मान्ने गरेको पाइन्छ । यद्यपि देवादीदेव भनेर शिव अर्थात् महादेवलाई भनिएको छ ।

कसैले नारायणलाई परब्रह्म मान्छन् त कोही शक्ति (दुर्गा)लाई । शैव मतका अनुसार शिव नै निर्गुण परब्रह्म हो । यी सबै धारणाहरुले एकअर्कामा खण्डन गरेका छैनन् । तथापि, यी मतले सनातन शास्त्रहरुलाई बुझ्नमा पक्कै पनि जटिल बनाइदिएका छन् ।

वेदले परब्रह्मका तीन तत्वको वर्णन गरेको छ । अरूप, रूपारूप र स्वरूप । यसमध्ये अरूप नै स्थायी तत्व हो रूपारूप र स्वरूप अस्थायी तत्व मानिन्छन् । त्यही अरूप अर्थात् निराकार परब्रह्म सदाशिव हो । निराकार, निरञ्जन एवम् अनादी अनन्त त्यही शिवको कुनै आकार छैन । तर हरेक अणुमा उसको अस्तित्व छ । त्यही परम् तत्वलाई अनुभव गर्न योगिहरु युगौंयुगसम्म साधना गर्ने गर्छन् ।

रूपारूप भनेको आदी शक्ति हो । निराकारलाई आकार दिने काम उसले गरेको हुन्छ । शक्ति रुपमा दशै दिशामा उपस्थित हुने शक्तिलाई मानिसले दर्शन एवम् अनुभव गर्न सक्छन् । तर शक्तिको कुनै स्थायी रूप भने छैन, यो निरन्तर परिवर्तनशील छ ।

स्वरूप भनेको सत्यनारायण हो । ऊ त्रिगुणातित छ । उही ब्रह्मा, उही विष्णु र उही महेश पनि हो । हरेक जीवमा हुने अन्तरआत्मा नै विष्णु हो । जीव चेतना र विवेक पनि उही हो । उही मायापति हो । सम्पूर्ण ब्रह्माण्ड नारायणकै रूप हो । निराकाश (शिव) र शक्तिको सम्मिलित रूप नारायण हो । उनलाई स्थायी रुपमा दर्शन एवम् अनुभव गर्न सकिन्छ ।

शिवलाई सम्पूर्ण रुपमा बुझ्नका निम्ति तत्व ज्ञान, ब्रह्म ज्ञान र आत्म ज्ञान आवस्यक हुन्छ ।

शिवलिङ्ग

प्रत्येक कल्पको अन्त्यमा यो सृष्टिको शक्ति र समय निराकारमा विलिन हुन्छ । त्यसपछि निष्तब्ध अन्धकार र शान्तिमात्र बाँकी रहन्छ । शक्ति लुप्त भएपछि सदाशिव पनि निस्तेज हुन पुग्छन् । त्यसपछि निराकारी सदाशिव घोर साधनामा समाधिस्त हुन्छ ।

जब सदाशिव ध्यानबाट ब्यूँझिन्छन्, उनी निस्तब्ध अन्धकारले घेरिएको हुन्छन् । त्यसपछि पुनः शक्तिलाई जगाउन उनले हुँकार लगाउँछन् । त्यही हुँकार नै ओम्कार हो । त्यही ओम्कारमा शिवको शक्ति बस्छिन् । यसरी निराकार एवम् शक्तिको मिलनबाट पुनः एक पटक नवीन कल्पको आरम्भ हुन्छ ।

यसरी शिव र शक्तिको मिलनबाट एक ज्योतिर्लिङ्गको निर्माण हुन्छ । लिङ्गको अर्थ ‘प्रतीक चिन्ह’ हो । योनिको अर्थ ‘सृष्टि वा प्रकृति’ हो । पूर्ण अर्थमा ‘सृष्टिको प्रतीक चिन्ह’ नै शिवलिङ्ग हो । त्यसको माथिल्लो भाग सदाशिव हो भने तल्लो (जलहरि) भाग शक्ति हो । यही हिरन्यगर्भ हो । यसै हिरन्यगर्भबाट प्रत्येक कल्पमा सत्यनारायण स्वरुपमा शिवशक्तिको आदुर्भाव हुँदै आएको छ ।

यो सृष्टिमा अनगिन्ति ब्रह्माण्ड छन् । ती सबै ब्रह्माण्डमा बेग्लाबेग्लै ब्रह्मा, विष्णु र महेश्वर छन् । तरसमग्र सृष्टिमा एकमात्र सत्यनारायण छन् । प्रत्येक कल्पमा शिव र शक्तिको मिलनबाट यिनको रचना हुन्छ । उनको नाभीबाट महाब्रह्माको जन्म हुन्छ ।

उनै महाब्रह्माले परम् तत्वको साधना शुरु गर्छन् । त्यसपछि निकारकार शिवले साकार रुपमा महाब्रह्मालाई दर्शन दिन्छन् । त्यही साकार स्वरुपलाई सनातन शास्त्रमा ‘स्वयम्भू’ भन्ने गरिन्छ । ऊ आदी देव हो । उही सत्य र परम् तत्व पनि हो ।

प्रत्येक कल्पमा महाब्रह्माले परम् तत्वको तपस्या गर्छन् र उनको अनुभव गर्छन् । त्यसैले परमात्मा वा परम् तत्वलाई जान्ने ज्ञानको नाम ‘ब्रह्म ज्ञान’ रहन गएको हो ।

एको देवः सर्वभूतेषु गूढ ।
सर्वव्यापी सर्वभूतान्तरात्मा ।
कर्माध्यक्षः सर्वभूताधिवसः ।
साक्षी चेता केवलो निर्गुणश्चः ।।

(श्वेताश्वतर उपनिषद, अध्याय ६, श्लोक ११)

अर्थात्, परमात्मा एउटैमात्र छ, जो यस ब्रह्माण्डलाई चलाउने मौलिक ऊर्जा हो । उही हरेक तत्वमा लुकेको छ, उही सर्वज्ञ छ । उही सर्वश्रेष्ठ जीवित अभिव्यक्तिको रुपमा आफैंलाई प्रकट गर्छ ।

तसर्थ, परमेश्वर नै शिव हो । उही सत्य हो । त्यसैले भनिएको छ, ‘सत्यम्, शिवम्, सुन्दरम् ।’ ऋग्वेद र मुद्गलोपनिषदमा पनि भनिएको छ, ‘एको देवो बहुधा निर्विष्ट, अजायमानो बहुधा विजायते ।’ अर्थात्, सम्पूर्ण सृष्टिमा केवल एकै ईश्वर छ, जो भिन्नभिन्न रुपमा स्वयम् प्रकट भएका छन् । उनी आफैंमा अजन्मा हो, निराकार हो । तर यस सृष्टिमा उनले अनेक रुप धारण गरेका छन् ।

सदाशिवले प्रत्येक कल्पमा भिन्नभिन्न स्वरुप धारण गरेका छन् । पट्कोणेश्वर (अर्धनारीश्वर), पशुपतेश्वर (नटराज), सद्योजात, अग्नेय, भैरव, ईशान, मेघेश (इन्द्र), पिनाकेश्वर, वाचस्पति लगायत अनेक कल्प स्वरुप शिवले धारण गरेका छन् । यस कल्पमा शिवले महेश्वर स्वरुप धारण गरेका छन् । महाब्रह्माले उनलाई यस स्वरुपमा ‘महादेव’ नामले पुकारेका छन् ।

ऋग्वेदमा शिवसङ्कल्पसूक्तको १८ औं श्लोकमा भनिएको छः

परात् परतरो ब्रह्मा तत्परात् परतो हरिः ।
तत्परात् परतोऽधीशस्तन्मे मनः शिवसङ्कल्पमस्तु ।।

अर्थात्, महानभन्दा महान छन् ब्रह्मा । ब्रह्माभन्दा पनि महान हुन बिष्णु । बिष्णुभन्दा पनि महान् हुन् ईशा (अर्थात् शिव)। अतः मेरो मन शिवमय भएर जाओस् । यसमा शिवमात्रै महान्, अरु तुच्छ भन्न खोजिएको होइन । एकै परमेश्वरका गुण अनुसार भिन्नभिन्न नाम छन् ।

ऋग्वेदको पहिलो मण्डलको १६४ औ सूक्तको ४६ औं मन्त्रमा भनिएको छः

इन्द्रं मित्रं वरुणमग्निमाहुरथो दिव्यः स सुपर्णो गरुत्मान् ।
एकं सद्विप्रा बहुधा वदन्त्यग्निं यमं मातरिश्वानमाहुः ।।

अर्थात्, इन्द्र, मित्र, वरुण, अग्नी, दिव्य, सुपर्ण, गरुत्मान, यम, मातरिश्वा यी सबै एकै परमात्माका अनेकौं सार्थक नाम हुन् । अव प्रश्न उठ्छ, यहाँ ब्रह्माभन्दा बिष्णु ठूलो र बिष्णुभन्दा ईशा ठूलो किन भनिएको होला ?

यसको जवाफ श्वेताश्वतर उपनिषदले दिएको छ । यस उपनिषदको चौंथो अध्यायको १० औं श्लोकमा भनिएको छः

इन्द्रियेभ्यः परा ह्यर्था, अर्थेभ्यश्च परम् मनः ।
मनसस्तु परा बुद्धिर्बुद्धेरात्मा महान्परः ।।

अर्थात्, इन्द्रियभन्दा देह (शरीर) महान हो । शरीरभन्दा मन ठूलो हो । मनभन्दा बुद्धि ठूलो छ । बुद्धिभन्दा पनि महान् छ आत्मा । त्यसैले माथिको श्लोकमा इन्द्रको अर्थ हो, हाम्रा इन्द्रिय । ब्रह्माको अर्थ शरीर, मित्र नै हाम्रो मन हो । बरुण बुद्धि हो । बिष्णु भनेको चित्त (चेतना) हो । ईशा नै हाम्रो आत्मा हो ।

इन्द्रियहरु शरीरका अंग भएकाले देह सबै इन्द्रियभन्दा महान छ । शरीर मनद्वारा सञ्चालिन हुने हुनाले देहभन्दा मन महान छ । मन पनि बुद्धिद्वारा सञ्चालिन हुन्छ । त्यसैले मनभन्दा बुद्धि ठूलो हुन्छ । बुद्धिले लिने हरेक निर्णय उसको चेतनामा निर्भर रहन्छ । तसर्थ बुद्धिभन्दा चेतना महान हो । र त्यो चेतना तथा बृत्ति पनि हाम्रो आत्माद्वारा निर्देशिन हुने हुनाले आत्मा सबैभन्दा महान् हुन्छ ।

वास्तवमा आत्मा नै पूर्ण परमात्मा हो । यही शुद्ध, निराकार, सर्वब्यापी, शक्तिस्वरुप परमेश्वर हो । शरीरमा हामीले नाभीलाई सृजन अर्थात् ब्रह्मा, मनलाई नारायण र हृदयमा निवास गर्ने आत्मालाई शिव मान्छौं । यी सबै परमात्माका स्वरुप हुन् ।

अयम् आत्मा ब्रह्म

यस महावाक्यको अर्थ पनि ‘परमात्मा हरेक प्राणीमा आत्मारुपमा विद्यमान छ’ भन्ने नै हो । त्यसैले आत्माको जान्नु नै ब्रह्मको प्राप्ति हो । तर आत्मा उही व्यक्तिमात्र जान्न सक्छ, जसका लागि आत्मा स्वयम् प्रस्फुटित हुन चाहन्छ । अर्थात् आत्मज्ञान कसले प्राप्त गर्छ सक्छ भन्ने छनोट स्वयम् परमात्माले नै गर्छन् । कठोपनिषदको अध्याय १, वल्ली २ को २३ औं श्लोकमा भनिएको छः

नायमात्मा प्रवचनेन लभ्यो न मेधया न बहुना श्रुतेन ।
यमेवैष वृणुते तेन लभ्यस्तस्यैष आत्मा विवृणुते तनूं स्वाम् ।।

अर्थात्, आत्मा न त प्रवचनद्वारा, न मेधा शक्ति अर्थात् बुद्धिद्वारा, न सम्पूर्ण शास्त्र सुनेर प्राप्त हुन्छ । आत्मा त जसलाई वरण गर्छ, उसैको द्वारा यो प्राप्त हुनसक्छ । केवल उसैका लागि आत्मा आफ्नो स्वरुपको अनावरण गर्दछ ।

यसर्थ सच्चिदानन्द परमात्मा हामीसँग भिन्न छैन । हामी भित्र र बाहिर सर्वत्र छ । अनेक रुपमा रहेर पनि त्यो एकै छ । कैवल्योपनिषदको श्लोक ८ मा त्यसै भनिएको छ ।

स ब्रह्मा स शिवः सेन्द्रः सोऽक्षरः परमः स्वराट् ।
स एव विष्णुः स प्राणः स कालोऽग्निः स चन्द्रमाः ।।

अर्थात्, उही ब्रह्मा हो । उही शिव हो । उही इन्द्र हो । उही अक्षर रूपमा शाश्वतब्रह्म हो । बिष्णु पनि उही हो । उही प्राणतत्व, उही कालाग्नी र उही चन्द्रमा पनि हो । शिव रुपमा निराकार, शक्ति रुपमा ऊर्जा एवम् विष्णु रुपमा सम्पूर्ण सृष्टि उही हो । उही सर्वब्यापी सर्वेश्वर हो ।

सृष्टिमा जहाँ हाम्रो दृष्टि पुग्छ, त्यहाँ पनि परमेश्वर छ । जहाँ हाम्रो दृष्टि पुग्दैन, त्यहाँ पनि परमेश्वर नै स्थित छ । ‘आत्माब्रह्म सदाशिवम’ ले पनि यही भन्न खोजेको हो । हाम्रा धर्मशास्त्रमा शिव, दुर्गा, विष्णु, इन्द्र, काली आदी स्वरुपलाई भिन्न भिन्न शास्त्रले भिन्नभिन्न रुपको सर्वश्रेष्ठता प्रमाणित गर्ने हानथाप गरेको देखिन्छ । तर यी सबै एकै हुन् ।

पैङ्गलोपनिषदको चौंथो अध्याय, तेस्रो श्लोकमा भनिएको छः

आत्मानं रथिनं विद्धि शरीरं रथमेव च ।
बुद्धिं तु सारथिं विद्धि मनः प्रग्रहमेव च ।।

अर्थात्, शरीरलाई रथ, आत्मालाई रथि, बुद्धिलाई सारथि र मनलाई घोडाको लगाम सम्झनु पर्छ । तसर्थ आत्मालाई जान्ने चेष्टाका रुपमा हरेक साल शिवरात्री मनाइन्छ । आफूभित्रको परम् तत्वलाई जान्ने मौकाको रुपमा यस दिनको सबैलाई शुभकामना ।

एजेन्सीहरुको सहयोगमा ।


प्रतिक्रिया दिनुहोस्