दशैं र मासु : स्वादसँगै हाम्रो स्वास्थ्यको पनि ख्याल गर्ने कि ! « Arthapath.com
२५ आश्विन २०८१, शुक्रबार

दशैं र मासु : स्वादसँगै हाम्रो स्वास्थ्यको पनि ख्याल गर्ने कि !



मौसम सुनार
एमबिबिएस तेस्रो वर्ष, नेपालगञ्ज मेडिकल कलेज

दशैंलाई नेपाली समाजमा केवल धार्मिक र सांस्कृतिक पर्व मात्र नभई सामाजिक सम्बन्धको सुदृढीकरण गर्ने एउटा महत्वपूर्ण अवसरको पनि लिइन्छ । दशैं पर्वले परिवारका सदस्य, आफन्त, इष्टमित्र/साथीभाइहरूलाई एकै ठाउँमा जम्मा गराउँदै आपसी स्नेहको आदान–प्रदान गराउँछ । दशैंको रमाइलो वातावरणमा सबैले सामूहिक भोजनको आनन्द लिन्छन्, र यो बेला विशेषगरी मासुका परिकारहरूको प्रमुख स्थान हुन्छ । नेपाली समाजमा दशैंमा खसी, बाख्रा, र कुखुराको मासु विशेष महत्वका साथ तयार गरिन्छ। तर, यस्ता चाडपर्वमा मासुको अत्यधिक सेवनले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ भन्ने कुरामा हामी धेरैले ध्यान दिएको पाइँदैन ।

मासु आफैँमा प्रोटिनको प्रमुख स्रोत हो । तर, अत्यधिक मासु सेवन गर्दा शरीरमा हुने प्रभावहरू गम्भीर हुन सक्छन् । दशैंमा परम्परागत रूपमा पकाइने मासु परिकारहरूमा स्याचुरेटेड फ्याटको मात्रा धेरै हुन्छ । अत्यधिक स्याचुरेटेड फ्याट र सोडियमयुक्त खाना सेवन गर्दा उच्च रक्तचापको समस्या निम्तन सक्छ। हाम्रा परिकारमा प्रयोग गरिने तेल र नुनको मात्रा बढी हुँदा रक्तचाप नियन्त्रणभन्दा बाहिर जान सक्छ, जसले दीर्घकालीन हृदयसम्बन्धी समस्याको खतरा बढाउँछ । यो मात्रै होइन, दशैंको समयमा धेरै मासु खाने बानीले रक्तमा कोलेस्ट्रोलको मात्रा बढाएर हाइपरलिपिडिमियाको अवस्था सिर्जना गर्न सक्छ । हाइपरलिपिडिमिया, जसलाई सामान्य भाषामा ‘रगतमा बढी चिल्लो’ भनेर पनि बुझिन्छ, हृदयघातको सम्भावना बढाउने प्रमुख कारकहरूमध्ये एक हो। यसका साथै, मासुमा फाइबरको अभावका कारण पाचन प्रणालीले पूर्ण रूपमा काम नगर्दा कब्जियतको समस्या पनि देखिन सक्छ । मासु सेवन गर्दा फाइबरयुक्त खाना पनि सँगै उपभोग गरिएमा यस्तो समस्या टार्न सकिन्छ । तर, चाडपर्वको समयमा प्रायः धेरै मानिसहरूले यसतर्फ ध्यान दिंदैनन् ।

अत्यधिक मासु सेवनसँगै पकाउने क्रममा तेल र मसालाको बढी प्रयोग अर्को चुनौती हो । दशैंमा परम्परागत रूपमा प्रयोग गरिने मरिच, खुर्सानी, लसुन, प्याज, र अन्य मसालाहरूले खानाको स्वाद त बढाउँछन् । तर, ति मसालाहरूको अधिक प्रयोगले पेटको अम्लीयता बढाउँछ । अम्लीयता बढ्दा पाचन प्रक्रियामा अवरोध आउनुका साथै छालामा पनि विभिन्न समस्या देखा पर्नसक्छ । यसको अतिरिक्त विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरेको अनुसन्धानले अत्यधिक रातो मासु र प्रशोधित मासुको सेवनले आन्द्रा र पेटको क्यान्सरको जोखिम बढाउने उल्लेख गरेको छ । हाम्रो शरीरमा प्रशोधित मासु सेवन गर्दा हुने फ्री रेडिकल्सले क्यान्सर उत्पन्न गर्ने सम्भावना रहेको बताइन्छन् ।

स्वस्थ रहनका लागि दशैंको समयमा मासु सेवन गर्दा सन्तुलन राख्नु आवश्यक छ । यद्यपि, दशैं, तिहार लगायतका पर्व बाहेकको समयमा पनि हामीले स्वास्थ्यलाई धेरै नै ख्याल राख्नुपर्ने हुन्छ । मसालाको सन्तुलित प्रयोग, कम मात्रामा नुनको प्रयोग र पकाउने विधिहरूमा परिवर्तनले पनि यसलाई स्वस्थ बनाउन सक्छ । उदाहरणका लागि अत्यधिक तेलमा मासु पकाउनुको सट्टा स्टीम, ग्रिल वा बेक गरेर पकाउने विधि अपनाउन सकिन्छ । यसबाट मासुको स्वाद कायम रहन्छ र स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पर्दैन । साथै मासु खाने परिमाणमा पनि नियन्त्रण गर्न आवश्यक छ । धेरै मासु एकैपटक सेवन गर्नु भन्दा सानो परिमाणमा खाने बानीले पाचनलाई सहज बनाउनुका साथै दीर्घकालीन स्वास्थ्यलाई पनि लाभ पुर्याउँछ।

दशैं लगायतका पर्व विशेष र अन्य समयमा पनि मासु सेवन गर्दा म तपाईँलाई सन्तुलनमा ध्यान दिन सुझाव दिन्छु । अत्यधिक मासु खाँदा उच्च रक्तचाप, कोलेस्ट्रोल र पाचनसम्बन्धी समस्याहरु जस्तै कब्जियतको जोखिम हुन्छ । त्यसैले कम परिमाणमा मासु खाउनुहोस्, र तेल, मसाला र नुनको मात्रा घटाउनुहोस् । साथमा फाइबरयुक्त खाना, जस्तै तरकारी र फलफूल पनि खाँदा पाचन राम्रो हुन्छ र स्वास्थ्य सन्तुलित रहन्छ ।

अन्त्यमा, दशैं नेपालीहरूको सामूहिक रमाइलोको चाड हो । तर, यस्ता चाड पर्वमा स्वास्थ्यप्रति सचेत रहनु अत्यावश्यक छ । मासुको उपभोगमा सन्तुलन राखेर फाइबरयुक्त खाना र सन्तुलित तेल तथा मसालाको प्रयोग गरेर हामीले दशैंको उल्लासमय समयलाई स्वास्थ्यप्रद बनाउनेतर्फ ध्यान दिनुपर्छ । चाडपर्व भनेको उमंग र उत्साहको समय हो, तर यो उमंगले स्वास्थ्यमा नकारात्मक प्रभाव नपारोस् भन्ने कुरामा सचेत हुनु अझै महत्त्वपूर्ण हुन्छ ।

दशैंमा मासुको सेवनको सांस्कृतिक पक्षलाई हिन्दू धर्म र नेपाली समाजको परम्परासँग गहिरो सम्बन्धमा बुझ्न सकिन्छ । दशैंलाई देवी दुर्गाको पूजा–अर्चना गर्ने चाडको रूपमा मनाइन्छ, जहाँ असत्यमाथि सत्यको विजयलाई महत्त्व दिइन्छ । विशेषगरी दशैंको समयमा देवी दुर्गालाई बलि चढाउने परम्परा छ । जसले पुरातन समयदेखि नै पशु बलिको प्रचलनलाई निरन्तरता दिएको हो ।

यो परम्परा अन्तर्गत खसी, बोका, र कुखुरा जस्ता जनावरहरूको बलि दिइन्छ, जुन पश्चात परिवारमा मासुका परिकारहरू तयार पारेर सामूहिक रूपमा सेवन गरिन्छ । यसरी मासु खाएर देवीको प्रसादको रूपमा लिइन्छ र धार्मिक दृष्टिकोणले यो महत्त्वपूर्ण मानिन्छ। पुरातन समयमा जब मासु सेवनलाई धार्मिक अनुष्ठानसँग जोडिएको थियो, यो देवीलाई चढाइएको बलिको रुपमा शुद्धता र शक्ति प्राप्तिको प्रतीक मानिन्थ्यो । तर समयसँगै परम्परागत मासु सेवनको धारणा पनि परिवर्तन हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्