भूतपूर्व गोर्खा सैनिकहरुले एनआरएनएसँग सहकार्य गर्ने « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

भूतपूर्व गोर्खा सैनिकहरुले एनआरएनएसँग सहकार्य गर्ने



काठमाडौं । बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरुले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताएका छन । एनआरएनए अध्यक्ष कुमार पन्तसँग शुक्रवार भएको अन्तक्र्रियामा बोल्ने भूपूगोर्खाहरुका अगुवा नेताहरुले नागरिकताको निरन्तरता, सम्पतिको अधिकारलगायतका विषय भूपूगोर्खाको समेत चासोका मुद्दा भएको भन्दै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन ।

भूपुगोर्खाहरुको छाता संस्था गेसोका उपाध्यक्ष धर्म तामाङले भूपूगोर्खाहरुले सन् १८१५ देखि लगातार बेलायतको सेवा गरेको स्मरण गर्दै भूपूगोर्खाहरुले समान पेन्सन पाउनु पर्नेमा जोड दिए । उनले संविधानले गैरआवासी नेपाली नागरिकताको ग्यारेन्टी गरिनुलाई ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताए । तामाङले देशको समृद्धिका लागि विदेशमा सिकेको ज्ञान र सिपलाई नेपालको हितमा प्रयोग गर्न सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा लेप्टिनेट कर्णेल एम रानाले भूपूगोर्खाहरुले नेपाली नागरिकताको निरन्तरताको मुद्दामा सरकारले बेग्लै नजरले हेरिदियोस् भन्ने चाहना राखेको बताए । उनले गैरआवासीय नेपाली र भूपूगोर्खाको समस्या समान रहेका बताए ।

कार्यक्रममा भूपूगोर्खा तथा गैरआवासीय नेपाली संघ युकेका निर्वमान अध्यक्ष योगकुमार फगामीले भूपुगोर्खाहरुले एनआरएनएलाई अपनत्वको भावना सिर्जना हुने गरी काम गर्नुपर्ने बताए ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको भूपूगोर्खा सम्वन्धी एक समितिका संयोजक चन्द्र गुरुङको संयोजत्वमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङको समेत उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्