काङ्ग्रेस जागरणको नाममा सरकार र कम्युनिस्टको आलोचना « Arthapath.com
२६ भाद्र २०७६, बिहीबार

काङ्ग्रेस जागरणको नाममा सरकार र कम्युनिस्टको आलोचना



नेपाली काङ्ग्रसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान प्रारम्भ गरेको छ । संस्थापक नेता बीपी कोइरालाको १०६औँ जयन्तीको अवसर पारेर काङ्ग्रेसले मंगलबारदेखि देशभरका तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा एकसाथ ‘हिमाल–पहाड–तराई–मधेस (हिपतम) जागरण’ नाममा दोस्रो चरणको अभियान प्रारम्भ गरेको हो ।
१०६औँ जयन्तीको प्रतीकस्वरूप प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा एक सय ६ बिरुवा रोपेर दोस्रो चरणको जागरण अभियान उद्घाटन गरेको काङ्ग्रेसले जागरणको नाममा केवल सरकारको आलोचना र कम्युनिस्टलाई गाली गर्ने काम मात्रै गर्दै आएको छ । काङ्ग्रेसले ७७ जिल्लामा एकै दिन ३४ हजार नौ सय ८० बिरुवा रोपेर पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पु¥याउने उद्देश्य राखेको भए पनि गत वैशाख २५ देखि जेठ २५ गतेसम्म सञ्चालन गरेको पहिलो चरणको जागरण अभियानजस्तै हुने काङ्ग्रेसका नेता–कार्यकर्ताले अड्कल गरेका छन् ।
काङ्ग्रेसले जागरण अभियानका लागि तीन सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिहरू खटिएका छन् । केन्द्रीय प्रतिनिधिहरूमा अधिकांश प्रदेश सभा तथा प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार, पार्टीका पूर्वसभापति र पूर्वसांसद रहेका छन् । तिनीहरू पार्टीको एकतालाई मजबुत पार्नेभन्दा पनि आफूलाई असहयोग गर्नेलाई ठेगान लगाउने गरी प्रस्तुत हुन थालेका छन् ।
काङ्ग्रेस पदाधिकारीहरू जागरण अभियानको उद्घाटनका लागि विभिन्न जिल्ला पुगेका छन् । पदाधिकारीले पार्टीले खटाएका जिल्लामा पुगेर जागरण अभियानको शुभारम्भ गरेको र यो जागरण अभियानले काङ्ग्रेसलाई एकढिक्का बनाएर काङ्ग्रेस जीवितै छ भने सन्देश प्रवाह गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
जागरण अभियानको सुरुवात सभापति शेरबहादुर देउवाले सुनसरीबाट गरेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले कास्की र उपसभापति विमलेन्द्र निधिले धनुषाको कार्यक्रमलाई सम्बोधन गरेर सुरु गरेका छन् । त्यसैगरी, उपसभापति विजयकुमार गच्छदार सुनसरी, महामन्त्री डा. शशांक कोइराला मकवानपुर, महामन्त्री पूर्णबहादुर खड्का भक्तपुर, कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा. प्रकाशशरण महतले काठमाडौंमा आयोजित कार्यक्रममा वृक्षरोपण गरेर जागरण अभियानको थालनी गरेका छन् ।
अभियानका क्रममा काङ्ग्रेसले हरेक प्रदेश सभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसङ्गतिविरुद्ध जागरण, युवाकेन्द्रित विशेष संवाद, वडास्तरीय अन्तरक्रिया, अग्रज, सहिद परिवार र द्वन्द्वपीडितको आँगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुईवर्षे समीक्षालगायतका कार्यक्रम तय गरेको छ ।
काङ्ग्रेसले दोस्रो चरणको जागरण अभियानका क्रममा देशभर एक लाख युवासँग संवाद गर्ने लक्ष्य राखेको छ । दोस्रो चरणको अभियानअन्तर्गत काङ्ग्रेसले प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा युवाकेन्द्रित ‘विशेष संवाद’ कार्यक्रम गर्दै युवासँग संवाद गर्ने जनाएको छ ।
अभियानको समापनका दिन काङ्ग्रेसले बढ्दो महँगी, वाइडबडी, न्यारोबडी प्रकरणलगायतका भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या, सरकारले ल्याएका अलोकतान्त्रिक विधेयकहरू र सरकारको सम्पूर्ण कुशासनविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा आयोजना गरेर भण्डाफोर गर्ने तयारी गरिरहेको छ । अभियानको अन्तिम दिन असोज ७ गते काङ्ग्रेसले ७७ वटै जिल्लामा विभिन्न पाँचवटा मुद्दामा केन्द्रित रहेर विरोध प्रदर्शन र सभा गर्ने प्रवक्रा विश्वप्रकाश शर्माले बताएका छन् ।
यसअघि काङ्ग्रेसले वैशाख २५ गतेदेखि ७७ वटै जिल्लामा पहिलो चरणको एकमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको थियो । उक्त जागरण अभियानले देशमा काङ्ग्रेस पार्टी अझै पनि जीवित रहेको सन्देश दिएको थियो । तर, सैद्धान्तिक र वैचारिक जागरण ल्याउने प्रयास काङ्ग्रेसबाट त्यसबेला पनि भएको थिएन र अहिले पनि हुने छैन । जागरणको नाममा काङ्ग्रेसले केवल सरकारको आलोचना र कम्युनिस्टलाई गाली गर्ने काम मात्र गर्दै आएको छ । यसपटक पनि कम्युनिस्टलाई गाली र सरकारको आलोचना गर्नमै समय खर्च गर्ने सङ्केत काङ्ग्रेसले दिइसकेको छ । कुनै समय संसदीय प्रजातन्त्रमा प्रतिबद्ध काङ्ग्रेस अहिले मिश्रित प्रणालीमा गएको छ, ब्रिटिस मोडलको संवैधानिक राज संस्थासहितको प्रजातन्त्रका पक्षमा उभिएको काङ्ग्रेस अहिले गणतन्त्र आफैँले ल्याएको दाबी गर्दै छ, धर्मसापेक्ष मुलुकप्रति सकारात्मक र ०४६ को परिवर्तनपछि हिन्दूराष्ट्रको पक्षमा उभिएको काङ्ग्रेस अहिले धर्मनिरक्षेपताको प्रवक्ता बनेको छ । जसका कारण काङ्ग्रेस र कम्युनिस्टबीचको दूरी बढ्दै छ । यस्तो अवस्थामा काङ्ग्रेसले विचारको जागरण पैदा गर्नुपर्नेमा त्यसप्रति उक्त दल उदासीन देखिएको छ । त्यसैले दोस्रो चरणको जागरणले पनि काङ्ग्रेसमा आत्मसन्तुष्टिबाहेक केही नदिने प्रस्टै छ ।
बीपीको विचार विस्थापित गरेर काङ्ग्रेसले बीपीलाई केवल रूख (चुनाव चिह्न) का रूपमा मात्र स्थापना गर्न खोजेकोले बीपी विचारका अनुयायीहरू काङ्ग्रेस नेतृत्वप्रति थप निराश बनेका छन् । यसलाई विश्लेषकहरूले काङ्ग्रेस विचारविहीन भए पनि चुनाव चिह्नको मात्र रक्षा गर्ने सोचमा उक्त पार्टीको नेतृत्व रहेको पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस्