महाधिवेशनसम्म प्रचण्ड एकलौटी अध्यक्ष नहुने « Arthapath.com
१७ कार्तिक २०७६, आईतवार

महाधिवेशनसम्म प्रचण्ड एकलौटी अध्यक्ष नहुने



काठमाडौं । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकीकरण प्रक्रिया अहिले पनि जारी छ । सबै ठाउँमा यी दुई पार्टीबीच एकीकरण भइसकेको छैन । विभिन्न वडा र जनवर्गीय सङ्गठनहरूलाई एकीकृत बनाएर लैजाने प्रयास जारी रहेको छ । एकीकरणका लागि लामो समय लगाएको नेकपामा अहिले दुई अध्यक्ष प्रधानमन्त्रीसमेत रहेका केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच विवादको समाचार आइरहेको छ । बाहिर विवाद भएको कुरा आइरहँदा भित्र भने दुई अध्यक्षबीच पार्टीलाई कसरी अगाडि लैजाने भन्नेबारेमा छलफल भइरहेको छ । धेरैले विवाद मिलाउन र पार्टी एकता गर्दाको सहमति कार्यान्वयनका लागि प्रचण्डले ओलीलाई दबाब दिन वार्ता गरेको तर्क गरे पनि त्यसलाई प्रचण्ड आफैँले खण्डन गरेका छन् ।
पार्टी कामको सिलसिलामा विभिन्न जिल्लाको भ्रमण गरिरहेका प्रचण्ड गत मंगलबार पाँचथर पुगेका थिए । उनले त्यहाँ पत्रकारसँग भनेका छन्, ‘सबै समझदारी महाधिवेशनसम्म जाँदा कार्यान्वयन भइसक्छन् ।’ प्रचण्डको यो भनाइले के प्रस्ट पारेको छ भने नेकपाको एकलौटी अध्यक्ष खोस्ने प्रयासमा प्रचण्ड अब पछि हटेको अड्कल गर्न सकिन्छ । प्रचण्डले प्रथम अध्यक्ष ओलीसँग विवाद नै नभएकोसमेत बताएका छन् । त्यसो त अध्यक्ष ओलीनिकट स्रोतहरूले पनि प्रचण्डले प्रथम अध्यक्षमा दाबी गर्न नसक्ने र सरकारको नेतृत्वबारे पनि तत्काल केही नबोल्ने बताएका छन् । प्रचण्डले केवल खोजेको भनेकै महाधिवेशनपछि एकपटकका लागि अध्यक्ष बन्न पाउने ग्यारेन्टी । अहिले ओलीसँग झगडा गरेर अगाडि बढ्दा महाधिवेशनपछि अध्यक्ष पाउने सम्भावना गुम्ने भएपछि प्रचण्ड ओलीसँग मिलेरै अगाडि जाने निचोडमा पुगेका हुन् ।
प्रचण्डलाई उचालेर ओलीसँग झगडा गराउने र प्रचण्डलाई महाधिवेशनपछि अध्यक्ष बन्न नदिने योजना बनेको अध्यक्ष ओलीले प्रचण्डलाई बताएपछि प्रचण्ड अहिले ओलीलाई पूर्ण सहयोग गरेर अगाडि बढ्ने निचोडमा पुगेको प्रचण्डनिकटकै एक नेताले बताए । प्रचण्डले आफूपछि केही व्यक्तिलाई अगाडि बढाउनुपर्ने प्रस्ताव ओलीसमक्ष राखे पनि त्यसमा भने ओलीले वचन नदिएको स्रोतले जानकारी दिएको छ । केही व्यक्तिबारे ओली सकारात्मक रहे पनि सबै नामबारे भने ओली सकारात्मक छैनन् ।
स्रोतहरूका अनुसार अहिले ओलीलाई सरकारबाट हटाउँदा चीनलगायतका देशसँग भएका सहमति कार्यान्वयनमा समस्या आउने र सरकारले अगाडि सारेका कतिपय कार्यक्रममा समेत समस्या आउने भएकाले प्रचण्ड ओलीलाई सरकारबाट हटाउने खेलमा पनि पछि हटेका हुन् । ओलीलाई हटाउँदा आगामी निर्वाचनमा नेकपाको अवस्था खस्कने र त्यसले आफ्नो राजनीतिक यात्रा झनै कठिनपूर्ण हुने भएको कारण प्रचण्डले अहिले नै ओलीलाई हटाउने खेलबाट पछि हट्न थालेको स्रोतले जानकारी दिएको छ ।
प्रचण्डले ओलीलाई नै सहयोग गर्ने वचन दिएको कारण यो सरकारमा तत्काल उतारचढाव हुने सम्भावना कम भएको छ । यसले गर्दा दिगो विकासको लागि सरकारलाई बल मिलेको छ । अहिले दाताहरूले पनि नेपालमा अस्थिरता नहोस् भन्ने चाहना गरिरहेका छन् भने स्वदेशका लगानीकर्ता पनि राजनीतिक स्थायित्वको पक्षमा छन् ।


प्रतिक्रिया दिनुहोस्