पूर्वएमाले र पूर्वमाओवादी भागबन्डा कहिलेसम्म ? « Arthapath.com
२० कार्तिक २०७६, बुधबार

पूर्वएमाले र पूर्वमाओवादी भागबन्डा कहिलेसम्म ?



दुईवटा पार्टीलाई एक बनाउने प्रयास भए पनि अझै पूर्वएमाले र पूर्वमाओवादीबीच एकता हुन सकेको छैन । एकता भएको स्थानमा पनि अझै पूर्र्वएमाले र पूर्वमाओवादी भनेर भागबन्डा हुँदा उनीहरूबीचको एकता भावनात्मक हुन नसकेको हो । सातवटा प्रदेश प्रमुख नियुक्तिमा पनि पूर्वएमाले र पूर्वमाओवादी भनेर भागबन्डा भएको छ । आउँदो मङ्सिर १४ गते हुने निर्वाचनमा पनि पूर्वएमाले र पूर्वमाओवादी उम्मेदवारमा सिफारिस भएका छन् । पूर्वएमालेले जितेको भक्तपुरको प्रदेश सभामा पूर्वमाओवादीका कमजोर नेताले टिकट पाएपछि उक्त जिल्लामा विवाद बढेको छ ।
२०७४ सालको निर्वाचनमा प्रदेश सभामा तत्कालीन एमालेका हरिशरण लामिछानेविरुद्ध निर्वाचन लड्दा ८ सय ७६ मत ल्याएका देवीप्रसाद अर्थात् डीपी ढकाललाई भक्तपुरको प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएपछि पूर्वएमालेले विरोध जनाएका छन् । यद्यपि ढकालले भने आफूले त्यतिबेला टिकट पाए पनि लामिछानेको कारण आफूले उम्मेदवारी फिर्ता लिएको र आफूले नै त्यतिबेला टिकट पाएको र लामिछाने नै बागी भएको दाबी गरेका छन् । पूर्वएमालेले जितेको क्षेत्रमा पूर्वमाओवादीले टिकट पाएको र त्यसमा पनि जुनियरले टिकट लिएपछि पूर्वएमालेमा ठूलो असन्तुष्टि देखिएको हो । पूर्वएमालेले पार्टी कार्यालयमा ताला नै लगाएपछि उक्त पार्टीभित्र पूर्वएमाले र पूर्वमाओवादी भनेर धेरै विभेद हुने गरेको कुरा सार्वजनिक भएको छ । यद्यपि स्थानीय तहमा भने जुनजुन पार्टीले जितेको थियो सोही पार्टीका पूर्वकार्यकर्तालाई उम्मेदवार बनाउने निर्णय नेकपाले गरेको छ । यसले अझै पनि उनीहरूबीच भावनात्मक रूपमा पार्टी एकता नभएको प्रस्ट भएको छ ।
बलात्कार उद्योग गरेको आरोप पूर्वसभामुख कृष्णबहादुर महरालाई लागेपछि पूर्वएमालेले षड्यन्त्र गरेको आरोप पूर्वमाओवादी पृष्ठभूमिका नेताबाट आउन थालेको छ । यसले पनि यी दुई पार्टीको एकतालाई कमजोर पार्ने काम गरेको छ । यद्यपि अदालतले पनि प्रमाण धेरै भएको भन्दै महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । महराले गल्ती गरेको भन्दै पूर्वमाओवादीभित्र पनि एकमतजस्तै छ । तर, केहीकेही नेता र कार्यकर्ताले भने पूर्वएमालेले फसाएको भनेर प्रचार गरेका छन् । यद्यपि महरालाई बलात्कार आरोप लगाउने महिला पनि पूर्वमाओवादीसँग आबद्ध भएको कारण यो घटनालाई राजनीतीकरणभन्दा अनुशासनहीन भनेर हेरिएको छ ।
प्रदेश प्रमुख नियुक्तिमा शीर्ष नेताले नै भागबन्डा गरेको कारण अझै पनि नेकपाभित्र दुई पार्टीको स्पष्ट सङ्केत देखिन्छ । यसले नेकपालाई थप कमजोर बनाउने काम गरेको छ । नेकपाभित्र दुई पार्टीको विवाद कायम रहेको कारण उपनिर्वाचनमा पहिला जितेको क्षेत्रमा फेरि जित्न सकस देखिएको छ । नेकपाले चारजना पूर्वएमाले पृष्ठभूमि भएका र तीनजना पूर्वमाओवादी पृष्ठभूमि भएका नेतालाई रिक्त प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार मन्त्रिपरिषदको बैठकले उनीहरूलाई नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार नै सिफारिस गरेर उनीहरू नियुक्त भइसकेका छन् ।
प्रदेश नम्बर १ को प्रमुखमा नियुक्तिका लागि कास्कीका सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर–२ का लागि बाँकेका तिलक परियार, प्रदेश नम्बर–३ का लागि झापाका विष्णु प्रसाईं, गण्डकी प्रदेश प्रमुखका लागि चितवनका अमिक शेरचन, प्रदेश नम्बर–५ को प्रमुखको लागि सिरहाका धर्मनाथ यादव, कर्णाली प्रदेशका लागि डँडेल्धुराका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशका लागि काठमाडौंकी शर्मिला त्रिपाठीको नाम सिफारिस गरेको छ । प्रदेश प्रमुखका लागि सिफारिस भएका अधिकारी, प्रसाईं, यादव र कलौनी पूर्वएमालेका नेताहरू हुन् भने परियार, शेरचन र त्रिपाठी पूर्वमाओवादीका नेताहरू हुन् ।


प्रतिक्रिया दिनुहोस्