प्रधानमन्त्री बन्न वामदेवद्वारा संविधान संशोधन गर्न दबाब « Arthapath.com
५ मंसिर २०७६, बिहीबार

प्रधानमन्त्री बन्न वामदेवद्वारा संविधान संशोधन गर्न दबाब



प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था कमजोर बनेको छ । उनको मिर्गौलाको पुनः प्रत्यारोपण हुने हल्ला चलिरहेको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था कमजोर रहेको कारण पार्टी अध्यक्ष र प्रधानमन्त्री पद पाइन्छ भनेर नेकपाका नेता आँ गरेर बसेका छन् । नियमित औषधोउपचार गराइरहे पनि प्रधानमन्त्री ओलीले सक्रिय राजनीतिबाट सन्न्यास लिने छाँटकाँट देखिएको छैन ।
प्रधानमन्त्री ओलीले आफूसँग विगतका गरेको सहमतिअनुसार प्रधानमन्त्री पद छाड्नुपर्ने माग प्रचण्डले गरे पनि प्रचण्ड ओलीसँग गलेको देखिन्छ । रोग लागेका ओली राजनीतिक र मानसिक रूपमा तगडा देखिन्छन्, तर रोग नलागेका भनेका नेता भने उनै रोग लागेका ओलीसँग लल्याकलुलुक्क परेका छन् । बाहिर ओलीको विरुद्ध बोल्ने नेता ओलीको अगाडि भने लुरुक्क आदेशपालक बन्ने गरेका छन् । प्रचण्डले ओलीसँग प्रधानमन्त्री पद मागे पनि कहिले पाउने निश्चित छैन ।
प्रचण्डले प्रधानमन्त्री पदका लागि दाबी गरिरहेका बेला वामदेव गौतम भने आफू यही संसद्बाट प्रधानमन्त्री पाउने आसमा खुला रूपमा दौडिन थालेका छन् । अर्को निर्वाचनपछि केही भन्न सकिँदैन भन्दै गौतमले प्रधानमन्त्री ओलीसँग आफूलाई अहिले नै राष्ट्रिय सभामा लगेर भए पनि प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् । त्यसको लागि संविधान संशोधन गर्नुपर्ने गौतमको माग छ । अहिले प्रतिनिधिसभामा निर्वाचित मात्र प्रधानमन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ । त्यो व्यवस्थालाई संशोधन गरी जुनसुकै सदनको भए पनि सांसद भएपछि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्न गौतमले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई नै दबाब दिइरहेका छन् ।
गौतमको सक्रियताले कतै प्रचण्डभन्दा गौतम नै पहिला प्रधानमन्त्री बन्ने त होइनन् भन्ने आशङ्का पनि उत्पन्न भएको छ । यद्यपि गौतमले भनेको जस्तो सजिलै संविधान संशोधन हुने अवस्था छैन । गौतमले आफूलाई पार्टी अध्यक्षको भोक नलागेको भन्दै मन्त्री बन्नकै लागि राष्ट्रिय सभामा नजाने अडान लिएका छन् । आफू पटक–पटक उपप्रधानमन्त्री, गृहमन्त्री भएको भन्दै अब फेरि त्यस्तै मन्त्रालय सम्हाल्न नचाहेको सार्वजनिक रूपमै अभिव्यक्ति दिन थालेका छन् ।
मधेसवादी दलले माग गरिरहे पनि संविधान संशोधन गर्न तयार नभएका प्रधानमन्त्री ओली गौतमको मागअनुसार संशोधनका लागि पक्कै पनि तयार छैनन् । गौतम आफू प्रधानमन्त्री बन्नकै लागि विभिन्न क्षेत्रमा उपनिर्वाचनमा लड्ने हल्ला पनि चलाए । तर, सबैतिर असफल हुने डरले उनी त्यो हल्लाबाट पछि हटेका छन् । काठमाडौं, डोल्पालगायतका जिल्लामा निर्वाचन लड्न हल्ला चलाएपछि कास्कीबाट पनि उपनिर्वाचनमा लड्ने योजना बनाए पनि हारिने डरले उनी त्यहाँ पनि पछि हटेका हुन् । गौतमलाई प्रधानमन्त्रीको भोक लागे पनि जनता भने उनको पक्षमा छैनन् । नेकपाकै अरू नेता प्रधानमन्त्री बनुन्, तर गौतम उपप्रधानमन्त्री मात्र बन्नुपर्छ भन्ने पक्षमा धेरै छन् । त्यही भएर उनलाई आफ्नोबाहेक अर्को निर्वाचन क्षेत्रबाट लड्न नदिनका लागि नेकपाका केन्द्रीय तहका नेताहरू नै सङ्गठित भएर लागिरहेका छन् ।
काङ्ग्रेसको भन्दा दुई पार्टीको २५ हजारभन्दा बढी मत भए पनि गौतम बर्दियाबाट पराजित भएपछि धेरै गौतमको टिम ठीक नभएको निष्कर्षमा पुगेका छन् । बर्दियामा स्थानीय नेताहरूलाई बेवास्ता गरेर बाहिरबाट नेताहरू लगेर दौडिएपछि गौतम निर्वाचनमा पराजित भएका हुन् । उनले गुट र उपगुट हेरेर निर्वाचनको बेलामा स्थानीय नेता तथा कार्यकर्तालाई महत्व दिएनन् । त्यसैको जवाफ जनताले दिएर उनलाई पराजित गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्