अन्तत प्रचण्ड ः कार्यकारी अध्यक्ष ! « Arthapath.com
१३ मंसिर २०७६, शुक्रबार

अन्तत प्रचण्ड ः कार्यकारी अध्यक्ष !



नेकपामा पूर्वमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकारी हैसियत पूर्वएमालेका अध्यक्ष केपी शर्मा ओलीको धागोले हातखुट्टा बाँधिएको अवस्थामा रहेको दौडमा भाग लिएको खेलाडीजस्तै देखिएको छ । प्रचण्डलाई पार्टी सञ्चालनको जिम्मा दिए पनि सबै निर्णय ओलीको सहमतिमा मात्र हुनुपर्ने भएको छ । तर, यसअघि ओली अध्यक्ष हुँदा प्रचण्डको सहमति नभए पनि निर्णय हुने गरेको थियो र बाहिर प्रचण्डले लज्जित हुँदै सर्वसम्मत निर्णय भनेर प्रतिक्रिया दिन बाध्य थिए । ओलीको योजना र लाइनअनुसार मात्र निर्णय हुनुपर्ने कार्यकारी अध्यक्ष प्रचण्ड बाहिर जिल्लामा जाँदा पनि पूर्वएमालेका नेतालाई साथ लिएर मात्र कार्यक्रममा भाग लिन जान पाउनेछन् । उनले पूर्वमाओवादीलाई मात्र लिएर कार्यक्रम जान प्रतिबन्धजस्तै भएको नेकपाका एक नेताले जानकारी दिए ।
सामान्य कार्यक्रममा प्रचण्ड एक्लाजस्ता देखिए पनि ठूला कार्यक्रममा पूर्वएमालेका नेताको सहमतिलाई अनिवार्य गरिएको छ । तर, ओलीले कार्यकारी अध्यक्ष भएको बेला त्यस्तो कुनै पनि प्रतिबन्ध पूर्वमाओवादीले लगाउन सकेको थिएन । प्रचण्डलाई कार्यकारी दिए पनि मर्यादाक्रममा भने ओली नै प्रथम अध्यक्षजस्तो हुनेछन् । एजेन्डा तय गर्दा पनि ओलीको सहमति चाहिनेछ । तर, यसअघि ओलीलाई बैठक राख्नका लागि प्रचण्डको सहमति चाहिने थिएन । सहमतिमा एजेन्डा, सहमतिमा निर्णय तथा मर्यादा क्रममा ओली नै अगाडि भएपछि प्रचण्ड मानार्थ कार्यकारी देखिएका छन् । पार्टी बैठकको कार्यकारी अध्यक्ष प्रचण्डले मात्र नभई ओली र प्रचण्ड दुवैले अध्यक्षता गर्नुपर्नेछ ।
नेकपा स्रोतका अनुसार भाषण गर्ने बेलामा मात्र प्रचण्डलाई कार्यकारी दिइएको छ । व्यवहारमा ओली नै कार्यकारी देखिएका छन् । कुनै पनि महत्वपूर्ण निर्णयका लागि कार्यकारी प्रचण्डले ओलीकै मुख ताक्नुपर्नेछ । अर्थात् ओलीको बोली नै कार्यकारी प्रचण्डको निर्णय हुनेछ । कार्यकारी राष्ट्रपति बन्न धेरै दौडधुप गरे पनि सफल नभएपछि कार्यकारीको मागबाट पछाडि हटेका प्रचण्डलाई अघिल्लो साता ओलीले नै कार्यकारी पार्टी अध्यक्ष बनाइदिएका हुन् । पूर्वएमालेकै साथबिना पार्टीको समेत कार्यकारी बन्न नसकेपछि प्रचण्ड मार्काका नेकपाका नेताहरूलाई अहिले पनि पूर्वएमालेको अगाडि धक फुकाएर कुरा गर्न समस्या परेको छ ।
कार्यकारी अध्यक्ष प्रचण्डले आफूखुसी निर्णय गरेर पूर्वमाओवादीका नेताहरूलाई पार्टी कामको जिम्मा पनि दिन सक्नेछैनन् । सार्वजनिक भाषण गर्दा पनि पूर्वएमालेका नेताहरूलाई दोस्रो स्थान दिनुपर्ने बाध्यतामा प्रचण्ड छन् । आउने एकता महाधिवेशनबाट नेतृत्वमा आउनका लागि पनि प्रचण्डले पूर्वमाओवादीलाई भन्दा पूर्वएमालेलाई साथ लिनैपर्नेछ । पूर्वमाओवादीलाई साथ लिएर एक्लै अगाडि बढ्ने कोसिस भएमा प्रचण्डको कार्यकारी अधिकार जुनसुकै दिन खोसिन सक्छ ।
ओलीको कृपाबाट कार्यकारी बनेका प्रचण्डले नेतृत्व लिनका लागि पूर्वएमालेका माथिल्लो तहका सबै नेताहरूलाई समेट्नुपर्नेछ । यसरी समेट्दा सचिवालयमा प्रचण्ड अल्पमतमा मात्र होइन अत्यन्त अल्पमतमा रहनुपर्नेछ । महाधिवेशनबाट नेतृत्व लिने हो भने आफू मात्र सचिवालयमा बस्न मात्र प्रचण्डले पूर्वएमालेसँग सहमति गर्नुपर्नेछ । अहिले मात्र होइन पछि पनि आफूबाहेक अरू सबै पूर्वमाओवादीका नेताहरूको साथ छाड्ने सर्तमा मात्र प्रचण्ड अहिले नाम मात्रकै कार्यकारी बनेका हुन् । कार्यकारी पाएपछिको प्रचण्डको गतिविधिलाई हेर्दा त्यही अवस्था देखिएको छ । नेकपाका नेताले दिएको जानकारीअनुसार प्रचण्ड जसरी पनि एकपटक अध्यक्ष र प्रधानमन्त्री बन्न चाहन्छन् पूर्वमाओवादीका सबै नेतालाई कुनै पनि जिम्मेवारी नदिने सर्तमा पनि उनी आफू प्रमुख बन्न तयार भएका छन् । प्रचण्ड महाधिवेशनबाट अध्यक्ष बने पनि उनीपछि लगातार पाँच भाई पूर्वएमालेकै नेताहरू नेता हुनेछन् र त्यसपछि मात्र पूर्वमाओवादीको मर्यादाक्रम आउनेछ ।


प्रतिक्रिया दिनुहोस्