विदेश भ्रमणबाट के सिक्ने ? « Arthapath.com
१८ मंसिर २०७६, बुधबार

विदेश भ्रमणबाट के सिक्ने ?



फुर्पा तामाङ
तामाङ भाषामा एउटा उखान छ, ‘पे ज्याबा ग्रले किन्तोबा, पे गोप्पा अपले ख्लातोबा’ अर्थात् असल कुरा शत्रुको भए पनि सिक्नुपर्छ र नराम्रो कुरा बाबुको भए पनि सिक्नुहुँदैन । सन् १९९९ मा जर्मन पुग्दा त्यहाँका नागरिकले दूधको बोतल, क्यानको बट्टा, खानेकुरा प्याक गरेका डब्बा, प्लास्टिकका थैली घरमै धोईपखाली चोकमा राखिएको फोहोर फ्याँक्ने कन्टेनरमा फालेको देखेर अचम्म लागेर मैले किन धोएर फालेको भनी सोधिएको प्रश्नको जवाफ यस्तो थियो, ‘फोहोर टिप्ने कर्मचारीलाई सजिलो होस् भनेर ।’ प्रत्येक व्यक्तिबाट आउने यस्तो जवाफले म चकित भएँ ।
पहिलोपटक जर्मन जाँदा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई भएर फ्र्याङ्कफोर्ट पुगेको थिएँ । हाम्रो एयरपोर्ट, दुबई र फ्र्याङ्कफोर्टको एयरपोर्टबीच तुलना गर्नै नसकिने खालको थियो । जर्मनका सहर घुम्न निस्किँदा कतै धुलो, धुवाँ, हिलो, गन्ध केही थिएन । गाडीले अनावश्यक ट्याँट्याँ गरेर हर्न बजाउँदैनन् । सबैका घर, आँगन, चोक, गल्ली सफा, च्याट्ट र लोभलाग्दो । तीन महिना जर्मन बस्दा खोकी लागेन । झाडाबान्ता लागेन । धुलो र हिलोमा टेक्नु नपर्दा जुत्ता धुनै परेन ।

यसपालिको मे महिनामा जर्मन जानुअघि फ्रान्सको पेरिस गएको थिएँ । इन्टरनेसनल हाइड्रोपावर एसोसिएसनको कार्यक्रममा आदिवासी जनजातिको हाइड्रोपावर आयोजनामा एफपिक (अग्रिम जानकारीसहितको मन्जुरी) किन र कसरी गरिन्छन् ? भन्ने विषयमा कार्यपत्र प्रस्तुतिका लागि पेरिस पुग्दा फेरि युरोप हेर्ने अवसर प्राप्त भयो । फ्रान्सको पेरिस सहर आफैँमा सुन्दर थियो । आइफिल टावर, साइन नदी, पेरिसका पुराना सहर घुम्न दैनिक हजारौँ मानिसको घुइँचो लाग्ने रहेछ । चुस्त व्यवस्थापनको कारण पेरिस सहरले वातावरणीय सन्तुलन कायम राखेको देखेर म दङ्ग भए । एक हप्ताको पेरिस बसाइपछि रेल चढेर बेल्जियम हुँदै जर्मन पुगेँ ।

दश दिन जर्मनको जोस्ट सहरको बसाइ असाध्यै रोमाञ्चक र रमाइलो भयो । वसन्त ऋतुमा युरोपका देशहरू असाध्यै रमाइलो हुने रहेछ । हरियाली रूख, बिरुवा, रङ्गीचङ्गी फूल र हँसिला चेहेरामा मानिस घुमघाम गरेको देख्दा समाज शान्तिपूर्ण रहेछ भनेर अनुमान गर्न गाह्रो थिएन । असाध्यै व्यस्त र बढी जनघनत्व भएको बर्लिन सहरमा आधुनिक घर, साइकल, बग्गी, बस, कार, ट्याक्सी, मेट्रोदेखि रेलगाडीसम्मको सेवा भए पनि वातावरण प्रदूषित नहोस् भनेर हरियाली बढाउन प्रसस्त रूखबिरुवा रोपेको देख्दा राज्य साँच्चै सक्षम, भरपर्दो र लोककल्याणकारी रहेछ भनेर बुझ्न सकिन्थ्यो । संसारकै पहिलो ट्राफिक लाइट र शीतयुद्धपश्चात् सन् १९८९ मा भत्काइएको ऐतिहासिक बर्लिन पर्खाल पनि संरक्षण गरेर राखेको रहेछ ।

म बसेको जोस्ट सहर वातावरणीय दृष्टिकोणले अन्य सहरभन्दा अग्रणी रहेछ । सडकको दायाँबायाँ दुवैतर्फ रूख, बिरुवा रोपिएका हुन्छन् । सहरमा आधुनिक विकास मात्र होइन ऐतिहासिक महत्वका सम्पदा पनि देख्न सकिन्छ । पुराना काठेघर, गिर्जाघर, हरियो ढुङ्गाले बनेका घर, पानीघट्ट, पानीपोखरी आदि पर्यटन विकासका निमित्त संरक्षण गरेका रहेछन् । प्रशस्त खुल्ला जमिन, सफा–सुग्घर ठाउँ देख्दा जर्मन पुग्ने जोकोही लोभिन्छन् । यस्तो दृश्य विमानस्थलबाट ओर्लेर सहरतर्फ अघि बढेपछि देख्न सकिन्छ ।

किप्पा याङजेन तामाङ सन् १९९२ देखि जर्मनमा बस्दै आएकी छिन् । उनी कुकको काम गर्छिन् । नेपालमा उनी शिक्षिका थिइन् । अहिले उनी धेरै देशका खाना पकाउन जान्दछिन् । महिनामा एक दिन उनी जर्मनलाई नेपाली खाना पकाउन सिकाउँछिन् । जोस्ट सहरको वातावरणीय सौन्दर्यले गर्दा उनी त्यो सहर छाडेर अरू सहरमा जान पटक्कै मन गर्दिनन् । उनी भन्छिन्, ‘नेपालबाट आएदेखि मैले यहाँको सरकार र नागरिक वातावरण संरक्षण र सरसफाइमा निकै सचेत भएको पाएँ ।’
उनले मलाई सोधिन्, ‘तिमी पहिले आउँदा र अहिले आउँदा के कुरा राम्रो लाग्यो ?’ मैले जवाफ फर्काएँ, ‘हरियाली वातावरण र सफासुग्घर ।’ अहिले पनि जर्मनका सहर उत्तिकै सफा रहेछन् । बर्लिन, डर्टमन्ड, कोलोन, हाम, नर्थसी, फ्र्याङ्कफोर्ट, आल्र्सबर्ग, मुनाजी आदि सहर र सहरछेउका गाउँ पुग्दा एकजनाले पनि कागजको टुक्रा फ्याँकेको वा भुइँमा थुकेकोसम्म देखिनँ । ढल फुटेको, सडकको कालोपत्रे उप्किएको, धुलो र धुवाँ पटक्कै देखिनँ । जब म सहर घुम्न निस्किन्थेँ, अव्यवस्थित काठमाडौं सहरको तस्बिर मेरो आँखामा आइपुग्ने गथ्र्यो । तामाङ भाषामा उहिले काठमाडौंलाई ‘बल्बु ल्हायी सिङगम्’ अर्थात् ‘काठमाडौं भगवान्को वासस्थान (स्वर्ग)’ भनिन्थ्यो । अब काठमाडौं स्वर्गजस्तो रहेन । नर्क बन्यो ।

किप्पा याङ्जेनको अपार्टमेन्टबाट १० मिनेटको दूरीमा कर्म धिन्डुप तामाङको परिवार बस्छन् । पेसाले ऊ सिभिल इन्जिनियर हो । जर्मनको बकहोम विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेपछि उसले उतै काम गर्न थाल्यो । उनकी श्रीमती नवीना तामाङ त्यहीँको अस्पतालमा नर्सको काम गर्छिन् । छुट्टीको दिन रिसाइक्लिङ गर्न मिल्ने फोहोर र गर्न नमिल्ने फोहोरलाई अलग–अलग गरेर गाडीमा लगेर राख्दा रहेछन् । कर्म धिन्डुपले रिसाइक्लिङ गर्न नमिल्ने फोहोरलाई फोहोर जम्मा गर्ने कन्टेनरमा फाल्छन् । रिसाइक्लिङ गर्न मिल्नेलाई फोहोर जम्मा गर्ने बुथभित्र एकएक गरेर छिरायो । त्यो फोहोर जम्मा गर्ने बुथ मेसिनबाट फुत्तफुत्त पैसा निस्कियो । उसले पैसा टिप्दै मलाई भन्यो, ‘रिसाइक्लिङ गर्न मिल्ने फोहोरलाई यस्तो मेसिनमा ल्याएर खसाल्नुपर्छ । तुरुन्तै पैसा पाउँछ । यो सहरमा फोहोर जताततै फाल्न मिल्दैन । तोकिएको स्थानमा फाल्नुपर्छ । काम लाग्ने र काम नलाग्ने फोहोर घरबाट आफैँले छुट्याएर ल्याउनुपर्छ । यो सरकारले ल्याएको एउटा सफल कार्यक्रम हो ।’

जर्मन सरकारले ‘फोहोरबाट मोहर’ कमाउने कार्यक्रम ल्याएको रहेछ । कार्यक्रम निकै प्रभावकारी रहेछ । मानिस फोहोरलाई आफ्नो गाडीमा हालेर ल्याउँछन् र बुथमा छिराउँछन् । अनि पैसा लिएर जान्छन् । सरकार र नागरिक दुवै वातावरणप्रति धेरै सचेत रहेछन् । सरकार होस् त यस्तो पो । नेपालका विश्वविद्यालयमा राजनीतिशास्त्र पढ्नेले लोककल्याणकारी राज्यबारे पढेका हुन्छन्, तर त्यसको अनुभूति कहिल्यै गर्न पाउँदैन । सहरको रेखदेख गर्ने महानगर र नगरपालिका जनताबाट कर उठाउँछन्, तर कहिल्यै सहर सफा राख्दैनन् । उदाहरण काठमाडौंलाई हेरे पुग्छ । नेपाल भ्रमण वर्ष २०२० मा आउने विदेशी पर्यटकले हिमाल, पहाड र तराईको जैविक तथा सामाजिक विविधताको सौन्दर्य देख्नुअघि काठमाडौं सहर पनि व्यवस्थित र फोहोरमुक्त देख्न पाउँदा कति खुसी हुन्थे होलान् ?

नेपालका विशिष्ट व्यक्तिहरू हरेक वर्ष विदेश भ्रमणमा गइरहेका हुन्छन् । उनीहरूको रोजाइ अमेरिका, युरोप, अस्ट्रेलिया र एसियाका जापान, सिङ्गापुर, मलेसिया र चीनजस्ता विकसित देश पर्छन् । विदेश भ्रमणका लागि राज्यकोषबाट बर्सेनि करोडौँ रुपैयाँ खर्च भएको हुन्छ । नीति निर्माण तहमा पुगेका सांसद, नेता, निजामती सेवाका उच्च ओहोदाका कर्मचारी पनि विदेश भ्रमणमा गइरहेका हुन्छन् । अन्तर्राष्ट्रिय सङ्घसंस्था र दातृ निकायले पनि खर्च गरेर विदेश भ्रमण गराइरहेका हुन्छन् । विदेश भ्रमण गर्नु–गराउनुको उद्देश्य केही सिकेर आउनु र त्यसलाई नेपालको विकासमा लागू गर्नु हो । तर, भ्र्रमणबाट फर्केपछि नेपालमा भने पटक्कै लागू गर्दैनन् । विदेश भ्रमणबाट सिकेर लागू नगर्ने हो भने बरु भ्रमण किन गराउने ? रमाइलो र मोजमस्तीका लागि राष्ट्रिय ढुकुटी रित्याउने किन ?

विदेश भ्रमणबाट सिकेको ज्ञान लागू गरेको भए काठमाडौं सहरलाई वर्षौँसम्म प्रदूषित र अव्यवस्थित किन बनाइराख्थ्यो र ? काठमाडौं सहरजस्तै देशका अन्य सहर पनि अव्यवस्थित नहोस् भनेर विदेश भ्रमणबाट सिकेका ज्ञानको सदुपयोग गर्न ढिलाइ गर्नुहुँदैन ।


प्रतिक्रिया दिनुहोस्