पुरा होला चौबीस लाख सदस्य थप्ने नेकपाको योजना ? « Arthapath.com
९ माघ २०७६, बिहीबार

पुरा होला चौबीस लाख सदस्य थप्ने नेकपाको योजना ?



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो सङ्गठन विस्तारलाई तीव्र रूपमा अगाडि बढाउने भएको छ । उसले २४ लाख नयाँ पार्टी सदस्य थप गरेर ३२ लाख बनाउने योजना बनाएको छ । अहिले नेकपामा आठ लाख मात्र पार्टी सदस्य रहेका छन् । २४ लाख थप गर्न उसले कस्ताले पार्टी सदस्य लिने भनेर एउटा मापदण्ड पनि बनाएको छ । तर, उक्त मापदण्डअनुसारको कार्यकर्ता पाउन मुस्किल देखिएको छ । किनकि देशमा पैसा जसरी पनि कमाउनुपर्छ भन्नेको भिड बढ्दै गएको छ । जसरी पनि पैसा कमाउनुपर्छ भन्नेहरूलाई नेकपाले सचेत गराउँदै अब तत्काल सुध्रन पनि आग्रह गरेको छ । सोही कारण उसले भनेको जस्तो मापदण्ड पूरा गर्ने कार्यकर्ता पाउन मुस्किल देखिन्छ ।
नेकपाले समाजमा देखिएको विकृति रोक्न आचारसंहिता पार्टी कमिटीमा पठाइसकेको छ । अहिले बाहिर आएको बुँदाहरू हेर्ने हो भने ती कुनै पनि लागू हुने देखिँदैन । किनकि नेकपाका नेताहरू मात्र नभई कार्यकर्ता र मतदाता पनि भ्रष्टीकरण हुँदै गएका छन् । त्यही भएर समाज सुधार गरेर राम्रा–राम्रा मात्र पार्टी सदस्य बनाउने नेकपाको मिसन तत्काल पूरा हुने सम्भावना छैन । ‘पैसा कमाउन सहज छैन,’ नेकपाका एक नेताले भने, ‘सबैमा पैसा जम्मा गर्ने मात्र उद्देश्य देखिन्छ । हाम्रोजस्तो देशमा अझै पनि पैसा जम्मा गर्नका लागि केही न केही नराम्रो काम गर्नुपर्ने अवस्था छ ।’
नेकपाले पार्टी सदस्यलाई कडा अनुशासनमा बस्नुपर्ने प्रावधान ल्याउन लागे पनि नेताहरू नै कडा अनुशासनमा छैनन् । नेताहरूबीच नै फेसबुकमै भनाभन हुने गरेको छ भने उनीहरूले नै ल्याउने महत्वाकाङ्क्षी आचारसंहिता कसरी कार्यान्वयन होला भनेर धेरैले प्रश्न उठाएका छन् । आचारसंहिता नेता र कार्यकर्ता दुवैलाई लागू हुने बताइएको छ । तर, अहिलेको पार्टी नेता र कार्यकर्ताको गतिविधि र आचारसंहिताको बुँदा हेरेर धेरैले कार्यान्वयन गर्न नेकपाको नेतृत्वलाई चुनौती दिएका छन् । त्यो चुनौती पार गर्न नेताहरूलाई समस्या पर्ने देखिन्छ ।
नेकपाले पार्टीका नेता, कार्यकर्ता र सदस्यलाई ११बुँदे आचारसंहिता जारी गर्दै पालना गर्नसमेत भनेको छ । आचारसंहिताको १ नम्बर बुँदामा नेकपाले प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्ने उल्लेख गरेको छ । त्यस्तै आचारसंहिता कार्यान्वयन गर्ने, गराउने जिम्मेवारी सबै पार्टी कमिटीको भएको बताएको छ । आचारसंहितामा कुनै पनि पार्टी सदस्यले नेपालको संविधान र प्रचलित कानुनलाई निसर्त पालना गर्ने र कानुनबमोजिम कर तिर्ने आचरणको विकास गर्नुपर्ने भनिएको छ । अहिले नेताहरूले नै कर तिर्ने गरेका छैनन् । नेकपाको हुँ भनेर कर नै माफी गर्न माग गर्नेहरूको पनि लर्को छ ।
त्यस्तै, नेकपाले आफ्ना पार्टी सदस्यहरूलाई ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पु¥याउन सचेत गराएको छ । तर, पछिल्लो समयमा नेकपाका नेता र कार्यकर्ताहरू ऋण, सपाटी र आर्थिक लेनदेनमा बदनाम बन्दै आएका छन् । विभिन्न घटनाले त्यसको पुष्टि गरेको छ । भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमुना बन्नुपर्छ भनेर नेकपाले नेता र कार्यकर्तालाई भने पनि भ्रष्टाचार र कालोबजारीमा नेकपाको संलग्नता बढ्दै गएको छ ।
नेकपाले आफ्ना नेता र कार्यकर्तालाई अनुशासित बनाउन पार्टी सदस्यहरू जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्ने र आफूले गरेको श्रमबाट आर्जित कमाइबाटै राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्ने भनेर निर्देशन जारी गरेको छ । तर, काम गर्नभन्दा पनि दलालीको लागि धेरैले समय खर्च गर्ने गरेका छन् । पार्टीलाई आफ्नो कमाइबाट नियमित रूपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्छ भने पनि त्यसरी तिर्न सक्ने अवस्थामा अझै पनि धेरै छैनन् । ठूलाहरूले लेबी तिर्नेभन्दा पनि अरूले तिरेको लेबी नै भ्रष्टाचार गर्ने गरेका छन् । फेसबुकमै वार गर्ने नेकपाका नेताहरूले परिवार र समाजमा नम्र भएर बोल्ने अवस्था अहिले छैन । तर, सबैसँग नरम हुनुपर्ने नीति नेकपाले ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस्