प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाउने प्रचण्डको प्रयास फेरि पनि असफल « Arthapath.com
१५ फाल्गुन २०७६, बिहीबार

प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाउने प्रचण्डको प्रयास फेरि पनि असफल



काठमाडौं । प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई हटाउने पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अर्को प्रयास पनि असफल भएको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलको कारण प्रचण्डको प्रयास असफल भएको छ । त्यसको स्वतन्त्र रूपमा भने पुष्टि भइसकेको छैन । यद्यपि सहज रूपमा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन थप समस्या देखिएको छ ।

प्रचण्ड र माधव नेपाललगायतका नेताले ओलीलाई प्रधानमन्त्रीबाट विस्थापित गर्न उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्ने तयारी गरेका थिए । त्यसका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने प्रावधान राखेर संविधान संशोधन गर्ने निर्णय नेकपाबाट गराइएको थियो । त्यसका लागि गौतमलाई राष्ट्रपतिबाट मनोनीत सांसद बनाउने चलखेल भएको थियो । गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने प्रावधान संविधानमा राखेर आफूलाई राष्ट्रिय सभामा लैजानुपर्ने माग धेरै पहिलादेखि नै गर्दै आएका थिए । यससम्बन्धी समाचार त्रिशूली प्रवाह साप्ताहिकले केही महिना अगाडि नै प्रकाशित गरेको थियो ।

आफू नै अगाडि सर्दा प्रधानमन्त्री बन्नका लागि सहयोग नपुग्ने भएपछि प्रचण्डले गौतमलाई अघि सारेर ओलीलाई प्रधानमन्त्रीबाट विस्थापित गराउने प्रयास गरेका हुन् । त्यसका लागि ओलीसँग चिढिएका माधव नेपालले पनि साथ दिएका थिए । संविधान संशोधन अहिलेको बेला बेमौसमी बाजा भएको भन्दै आएका ओलीलाई समेत दबाबमा सहमत गराएपछि प्रचण्डले माधव नेपालको संयोजकत्वमा संविधान संशोधन समिति गठन गराउन सफल भएका थिए । त्यसमा सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य राखिएको थियो । तर, यो समाचार बाहिरिएपछि नेम्वाङ र देवकोटाले माधव नेपालसमक्ष गएर असहमति राखेका थिए । गौतमको स्वार्थका लागि मात्र संविधान संशोधनको प्रयास भएको समाचार बाहिरिएपछि नेकपा नेतृत्वको यति आलोचना भएको छ कि नेताहरूले मुख नै देखाउन नसक्ने अवस्था सिर्जना भएको छ ।

संविधान संशोधनका लागि भएका अन्य प्रयास पनि यो घटनाले गर्दा थप आलोचित हुन पुगेका छन् । वर्तमान संविधान व्यक्तिगत स्वार्थका लागि भन्दा राष्ट्रहितका लागि मात्र छ भन्ने यो घटनाले देखाइदिएको छ । यस्तो राष्ट्रवादी संविधानलाई धुजाधुजा बनाउन भारतीय पक्ष र नेपालकै मधेसवादी दल पनि खुट्टा उचालेर बसेका छन् । यस्तो बेलामा प्रचण्ड र गौतम तथा नेपालले पनि उनीहरूकै लागि संविधान संशोधनका लागि सहमति गरेपछि अधिकांश नेता भारतीय भक्त हुन् भन्ने आशङ्का पैदा गराइदिएको छ ।

पूर्वएमालेका नेता गौतमलाई प्रधानमन्त्री स्वीकार गरेर अगाडि बढ्ने आँट प्रचण्डले गर्नुको एक मात्र उद्देश्य पूर्वएमालेमा भाँडभैलो ल्याउने र आफ्नो पक्षमा पार्टी बलियो बनाउने भन्ने थियो । एक चरणका लागि उक्त प्रयास असफल भएको छ । नेकपाले संविधान संशोधन गर्ने अवस्था सिर्जना गरे पनि संशोधनले नेकपालाई ठूलो धक्का दिने पक्का गराएको छ । किनकि जनमत संविधान संशोधनको पक्षमा छैन भन्ने कुरा यो विरोधले देखाएको छ । संसद्मा प्रमुख प्रतिपक्ष काङ्ग्रेसले पनि संविधान संशोधनको विपक्षमा आफ्नो मत राखेको छ । यद्यपि मधेसवादी दलले भने संविधान संशोधनको धारणा आउनुलाई राम्रो भनेका छन् । तर, मधेसवादी दल पनि वामदेवलाई प्रधानमन्त्री बनाउन मात्र संशोधनको पक्षमा छैनन् । मधेसवादीको पक्षमा संशोधन गर्ने काम भयो भने पहाडी क्षेत्रबाट नेकपा बढारिने पक्का छ भने तराईमा पनि संविधान संशोधनपछि मधेसवादी दलकै बोलवाला चल्नेछ ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन केही समयअघि प्रचण्डले आलोपालोको सहमतिलाई पनि बाहिर सञ्चारमाध्यममा प्रचार गराएका थिए । त्यसको पनि केही नलागेपछि निर्वाचन हरुवा वामदेवलाई अगाडि सारेका हुन् । हरुवा गौतमको प्रधानमन्त्री मात्र होइन सांसद बन्ने योजनामा पनि दाग लाग्दै गएको छ ।
त्रिशुली प्रवाहबाट


प्रतिक्रिया दिनुहोस्