‘महामूर्ख’ उपाधि प्रदेश २ का मुख्यमन्त्री राउतलाई « Arthapath.com
२७ फाल्गुन २०७६, मंगलवार

‘महामूर्ख’ उपाधि प्रदेश २ का मुख्यमन्त्री राउतलाई



काठमाडौं । यस वर्षको ‘महामूर्ख’ उपाधि प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतलाई प्रदान गरिएकोे छ । सोमबार मिथिला नाट्यकला परिषद् (मिनाप)द्वारा अयोजित महामूर्ख सम्मेलनले राउतलाई महामूर्खको उपाधि प्रदान गरेको हो ।

अध्यक्ष परमेश झा, गत वर्षका महामुर्खको विजेता वृषेशचन्द्र लाल, जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवलगायतले तरकारीको माला, कागजबाट निर्माण गरिएको कलात्मक टोपी र प्रशस्तीपत्र प्रदान गरेर महामूर्ख घोषणा गरेका थिए ।

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, काँग्रेसका उपसभापति विमलेन्द्र निधि र राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरलगायत मध्येबाट राउतले महामूर्खको उपाधि प्राप्त गरेका हुन । समाजमा राजनीतिक, साहित्य, स्वास्थ्य, विकासलगायतका क्षेत्रमा सफलता प्राप्त गरेका व्यक्तित्वलाई स–सम्मानपूर्वक महामुर्ख उपाधि दिएर प्रोत्साहनस्वरुप सम्मान गरिन्छ ।

प्रदेश २ सांसदहरु परमेश्वर साहलाई भभकौवा, रामाशीष यादवलाई हराशंख, मनिष सुमनलाई पट्टमूर्ख, रामचन्द्र मण्डललाई सिलौटशंकर र जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीताकुमारी मिश्रलाई टुनमुसरीको उपाधि दिइएको छ ।

यस्तै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशक बलराम ठाकुरलाई खेसारीलाल, महोतरी पिपरा गाउँपालिकाका प्रमुख विक्रम चौधरीलाई खापसूरत, साहित्यकार रोशन जनकपुरीलाई बलगोवना, कवियित्री पुनम झा मैथिललाई अदलबदली, शंकटमोचन देवशरण रामरति उच्च माविका प्रधानाध्यापक बलराम साहलाई बज्रकीटको उपाधि दिइएको छ ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई घरघूसना, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रलाई लोढाशंकर तथा युवा अभियन्ता सुशील कर्णलाई वंश कुरहरिको उपाधि प्रदान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्