नेपाल प्रवेश गर्दा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने, श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित « Arthapath.com
३० फाल्गुन २०७६, शुक्रबार

नेपाल प्रवेश गर्दा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने, श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित



काठमाडौं । विश्वव्यापी फैलिरहेको कोरोना भाईरसका कारण सरकारले श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित गरेको छ । विश्व स्वास्थ्य संगठन कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले अनिश्चित कालका लागि बन्द गरेको हो ।

त्यस्तै विहीबारको बैठकले विदेशीहरुलाई अनअराइभल भिसा १४ मार्चदेखि ३० अप्रिल २०२० सम्मका लागि स्थगित गरेको छ । यसअघि भिसा लिइसकेका र अत्यावश्यक काम परेर नेपाल आउने विदेशीले नेपालमा आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र अध्यागमन कार्यालयमा अनिवार्य बुझाउनु पर्ने जनाएको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले १४ मार्चदेखि नेपाल प्रवेश गर्ने नेपाली, गैरआवासीय नेपाली र विदेशीले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको हो । सरकारले कुटनैतिक र अफिसियल भिषा प्राप्त विदेशीहरु पहिलो पटक नेपाल प्रवेश गर्दा वा बाहिर यात्रा गरी नेपाल फर्किदाको अवस्थामा १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था लागु गर्ने भएको छ ।

सरकारले भारततर्फ आवत जावतका लागि नाका सिमित गर्ने र चेकजाँच कडा बनाउने भएको छ ।


प्रतिक्रिया दिनुहोस्