भारतले थाल्याे सीमामा रोकिएका नेपालीको व्यवस्थापन « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

भारतले थाल्याे सीमामा रोकिएका नेपालीको व्यवस्थापन



दार्चुला । नेपालमा रहेका भारतीयको नेपालले र भारतमा रहेका नेपालीको भारत सरकारले व्यवस्थापन गर्ने सहमति अनुसार धारचुला पुल क्षेत्रमा रोकिएका पाँच सय नेपालीलाई भारतीय पक्षले खाने, बस्ने व्यवस्थासहित क्वारेन्टाइनमा राखेको छ ।

दुईवटै देशका सरकारबीच अर्को सहमति नभएसम्म नेपालीलाई भारतमै क्वारेन्टाइनमा राखिने धारतको धार्चुलाका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले जानकारी दिनुभयो । धार्चुलाको चार ठाउँ र जौलजिबीको एक ठाउँ गरेर पाँच सय नेपालीलाई पाँच ठाउँमा राखिएको छ ।

लकडाउनको समयमा जो जहाँ छ त्यही बस्नुपर्ने हो तर त्यो नबुझेर पुल खुल्दैछ भन्ने हल्लाकोपछि लागेर नेपालीहरु धारचुलामा पुगेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।

पुल नखुलेपछि महाकालीमा पौडी खेलेर नेपालको दार्चुला पुगेका तीन जना नेपालीलाई सम्बन्धित पालिकाको जिम्मा लगाइएको छ । रातिको समयमा भारतबाट महाकाली तरेर ठूलो संख्यामा नेपालीहरु गाउँ भित्रिरहेका छन् ।

झुलाघाटमा १०५ जना नेपाली अलपत्र

यसैबीच, बैतडी समाचारदाताका अनुसार भारतका विभिन्न सहरबाट हिँडेर सीमा नाका झुलाघाट पुगेको १०५ जना नेपाली तीनदिनदेखि अलपत्र अवस्थामा रहेका छन् ।

यसैगरी, भारतबाट आएकाहरु सुरक्षित क्वारेन्टाइनमा बस्न थालेका छन् । मङगलबार विहानसम्म बैतडीमा क्वारेन्टाइनमा बस्नेको संख्या ३१० पुगेको छ । क्वारेन्टाइमा बसेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

बैतडीका १० स्थानीय तहमा भारतबाट आएकाहरुको संख्या अझैं धेरै रहेकाले स्थानीय तहले लगत लिएर क्वारेन्टाइनमा बसाल्नु पर्ने स्वास्थ्य कार्यालय बैतडीको भनाइ छ ।गोरखापत्र अनलाईन


प्रतिक्रिया दिनुहोस्