नेकपाभित्र आन्तरिक कलह : केका लागि ? « Arthapath.com
२ श्रावण २०७७, शुक्रबार

नेकपाभित्र आन्तरिक कलह : केका लागि ?



रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

तत्कालीन एमालेभित्र भाषण गरेर जनमत तताउनेमा केपी शर्मा ओली, कूटनीतिक वा राजनीतिक सङ्कट आइपर्दा अनेक सुझबुझका साथ समाधान निकाल्नमा माहिर माधवकुमार नेपाल र पार्टीमा सन्तुलन कायम राख्नमा शालीन रूपमा प्रस्तुत हुने झलनाथ खनाल थिए । पार्टीमा सामूहिक सहकार्य अर्थात् टिमवर्कका रूपमा काम गर्ने पद्धति थियो । बीचमा दुईतिहाइका लोभ वा मोहमा परेर माओवादी (प्रचण्ड समूह) सित एकता भएपछि एमाले नेकपामा परिणत हुनुका साथै सामूहिक नेतृत्व गर्ने पद्धतिमा समेत शिथिलता आएको आभास हुन थालेको छ । सधैँजसो पार्टीमा सङ्कट आउँदा आफ्नो विद्वता र कूटनीति पार्टी एकताका लागि प्रयोग गर्दै आएका माधवकुमार नेपालले यसपटकको विवादमा त्यस्तो भूमिका खेल्न नसकेको उनकै शुभेच्छुकले टिप्पणी गरेका छन् । साथै झलनाथले पनि खासै भूमिका नखेलेको नेकपाका कार्यकर्ताहरू बताउँछन् । वास्तवमा यसपल्ट नेकपाभित्र देखिएको विवाद सैद्धान्तिक खालको थिएन । एउटाले राजीनामा माग्ने र अर्कोले दिन्नँ भन्ने कुरामा केन्द्रित रह्यो ।

भन्ने हो भने राजीनामा माग्ने र दिन्नँ भन्ने दुवैथरी अराजनीतिक गालीगलौजमा उत्रिए । हिजो एमाले कार्यकर्ताबाट चलेको पार्टी थियो । नेकपामा परिणत भएपछि कार्यकर्तामा पनि अपनत्वको भावनामा पनि कमजोरी देखिन थालेको छ । तैपनि घनश्याम भुसाल तहका पुस्ताले पार्टी एकतालाई बचाउन भरमग्दुर कोसिस गरिरहेका छन् । यो लेख लेख्दासम्म पार्टी फुटेको छैन र फुटिहाल्ने स्थितिमा पनि छैन । कुनै पनि दलमा फुट आओस् भन्ने कामना पनि गर्नुहुँदैन । पटक–पटक पार्टी फुट्दा के हालत हुँदोरहेछ भन्ने सबैभन्दा बढी पीडा नेपाली काङ्ग्रेसले भोगिसकेको छ । मातृका गुट, गोरखा दल, बखान बा समूह हुँदै देउवाको प्रजातान्त्रिक काङ्ग्रेससम्म आइपुग्दा नेपाली काङ्ग्रेस १०–१२ पल्ट चोइटिइसकेको छ ।

अहिले पनि बीपी समूह, समाजवादी पार्टी आदिका नामले ४–५ वटा काङ्ग्रेस चलेका छन् । एमालेमा पनि ०५४ मा पार्टी विभाजन भएर माले–एमालेहरू भए । तैपनि अहिलेसम्म जनताले मूलधारका पार्टीलाई नै जनमत दिँदै आइरहेका छन् । अहिले पनि नेकपाका नाममा बग्रेल्ती पार्टीहरू मौजुद छन् भने माओवादी नामका पार्टी नै ४–५ वटा छन् । तैपनि गत चुनावमा एमाले र एमाओवादीलाई नै जनताले अमूल्य मत दिए । तर, अहिलेको परिस्थितिमा नेकपाको मूलधार भनेको कुन हो भनी खुट्ट्याउन सकिने अवस्था छैन । सामान्य अर्थमा चाहिँ माधव नेपाल, झलनाथ खनाल र केपी ओलीको सामूहिक नेतृत्वलाई मूलधार भन्ने गरेका छन् कार्यकर्ताले । केपी, माधव र झलनाथ यसअघि यसरी बाझेको देखिएको थिएन । यिनलाई कसले बझायो र झगडामा उता¥यो भन्ने प्रश्नको आजसम्म निरूपण हुन सकेको छैन ।

पहिले एमालेमा गुटबन्दी थिएन । तर, नेकपा बनेपछि ३–४ वटा गुट छन् भन्ने चर्चा चल्ने गरेको छ । प्रकारान्तरमा पनि एमाले (हाल नेकपा) पक्ष नै बढी लोकप्रिय रहला भन्ने अनुमान गर्न सकिन्छ । अहिलेको अवस्थामा गुट–उपगुट चलाउनु आफैँमा प्रत्युपादक नहोला भन्न सकिन्न । दलीय व्यवस्थामा दल खडा गर्न, फुट्न वा जुट्न सबैलाई स्वतन्त्रता हुन्छ नै, तर स्वतन्त्रता छ भन्दै पार्टी वा गुट चलाउँदै जाने हो भने मुलुकको विकास हुने कुरा त परै जाओस् देशलाई पनि ठूलो आर्थिक भार हुने मात्र हो । केही महिनाअघि मात्र समाजवादी र राजपामा एकताको प्रक्रियाको थालनी भएको थियो । हाम्रोजस्तो अति कम विकसित देशमा धेरै पार्टी हुनुभन्दा दुई वा तीन पार्टी मात्र हुनु राम्रो हो । गत चुनाव र त्यसको आसपासमा एमाले र माओवादी एक भए, बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको समाजवादी पार्टी एक भएका थिए भने त्यसभन्दा अघि मधेसवादीका ६ वटा पार्टी मिलेर राजपा भएको थियो ।

उता पूर्वपञ्चहरूको दुई राप्रपा पनि एउटै पार्टी बनेका थिए । यसरी सबैतिर एकता हुने क्रम चलिरहेको बेला नेकपामा चाहिँ एक्कासि आनतरिक कलह उत्पन्न हुनु संयोग मात्र हो भन्न सकिन्न । यतिसम्म कि एउटै पार्टीका कार्यकर्ताले आफ्नै नेताका विरुद्ध र समर्थनमा नारा–जुलुस गरे । योभन्दा तल्लोस्तर राजनीतिमा अरू के हुन सक्ला ? एउटा पक्षले आफ्नै नेतालाई भारतीय दलाल र अर्कोले सरकारमा बसेकालाई विवेकहीन भएको आरोप लगाए । दुवै पक्षले एक–अर्कालाई खराब देख्दा पार्टीको साख कस्तो रहन्छ होला ? कहिलेकाहीँ काङ्ग्रेसमा पनि देउवा र रामचन्द्र गुटको नामबाट हुने आन्तरिक खिचलो बाहिर सडकसम्म आइपुग्ने गरेको छ । यस्तो खिचलो किसुनजी, गिरिजाप्रसाद र गणेशमान सिंहबीचमा पनि चलेकै थियो । अहिले आएर नेकपाभित्र यस्तो कलह सल्किएको छ । सबैलाई थाहा छ, काङ्ग्रेस यही कलहको कारण अहिले प्रतिपक्षीमा खुम्चिन आइपुगेको छ भने यो कलहले नेकपालाई पनि धक्का पु¥याउँदैन भन्न सकिन्न । जब–जब काङ्ग्रेसले बहुमतको सरकार बनाउँथ्यो, तब खिचलो सुरु भइहाल्थ्यो ।

अहिले नेकपा पनि त्यही रोगले ग्रस्त बन्न थालेको छ । गिरिजाप्रसाद जीवित छउञ्जेल किसुनजी, मनमोहन, देउवा, प्रचण्ड, झलनाथ आदि कसैलाई पनि पूरा अवधि सरकार चलाउन दिएनन् । अहिले प्रचण्डमा पनि त्यही प्रवृत्तिको पुनरावृत्ति भएको होइन भन्न सकिन्न । आखिर किन यस्तो हुन्छ ?

म ओली सरकारले गर्ने गरेका केही काम–कारबाहीको आलोचक हुँ, मूलतः ओलीजीको बोल्ने शैली मलाई मन पर्दैन । बोलीअनुसार व्यवहार नहुँदा म मात्रै होइन अरू पनि ओली सरकारका विरोधी बनेका छन् । तर, सरकारै छोड, हामी सरकार बनाउँछौँ भनेको पक्कै होइन । प्रजातन्त्रमा आलोचना पनि सरकारलाई सही बाटोमा हिँडाउने एउटा अस्त्र हो । सरकार भनेको अभिभावक पनि भएकाले उसलाई जस–अपजस दिनु एउटा कुरा, तर बीचैमा खँगार्नुचाहिँ जायज होइन ।

प्रधानमन्त्री ओलीलाई काम–कारबाहीबारे पार्टीले सोधखोज गर्नु, आत्मालोचना गराउनु, सच्याउन लगाउनु पार्टीको काम हो । तर, एकैचोटि राजीनामा दे भन्नुचाहिँ प्रजातान्त्रिक पार्टीका लागि शोभनीय विषय होइन । त्यसो त बेलाबखत ओलीले पनि दम्भ देखाउने गरेका छन् । एमाले वा नेकपाका लागि प्रचण्डभन्दा माधव नेपाल कम योगदान गरेका व्यक्ति होइनन् । माधव नेपाल भनेका पार्टीका लागि मात्र नभएर मुलुकको सिङ्गो राजनीतिमा सङ्कट आउँदा निकास दिन सक्ने व्यक्तित्व हुन् । प्रचण्डको साथ लिएर माधव नेपालको वरीयता घटाउनु ओलीको ठूलो गल्ती थियो । यसकारण पनि अहिलेको झगडामा माधव नेपालले चासो नदिएको हुन सक्छ । खासगरी अहिलेको किचलोमा ओली र प्रचण्डको स्वार्थ बाझिएकाले कलह सिर्जना भएको हो भन्ने ठाउँ प्रशस्त देखिएको छ । अहिलेको अवस्थामा प्रचण्ड लोकप्रिय नेता भइहालेका छैनन् । भोलि हुन सक्लान् वा नसक्लान्, अहिले नै भन्न सकिन्न । एमालेमा मिसिएपछि उनले लोकप्रियता बढाउनेभन्दा घटाउनेतर्पm उन्मुख भइरहेको व्यवहारले देखिन्छ ।

यो प्रचण्डका लागि पनि राम्रो होइन । एमालेको तुलनामा प्रचण्डलाई परिवारवादको आरोप बढी लाग्ने गरेको छ । छोरी मेयर, बुहारी मन्त्री, ज्वाइँहरू विभिन्न भिआइपी पदमा पु¥याएको देखिरहेको छ । यसरी राज्य संयन्त्रमा माधव, ओली र झलनाथका सन्तान वा नातेदार हावी भएको सुनिएको छैन । पहिले नेता आपूm क्लिन हुन सक्नुपर्दछ । आर्थिक क्षेत्रमा पनि प्रचण्डकै बढी चर्चा हुने गरेको छ । नेपाली बजारमा धेरै ठाउँमा प्रचण्डको लगानी छ भन्ने चर्चा सुनिन्छ । अरू नेताको तुलनामा राज्यले उनका लागि बढी खर्च गर्नु परिरहेको तीतो यथार्थ हो । आखिर जनताको नेता हो भने किन चाहियो राजाका समान सुरक्षा व्यवस्था ? मैले पत्रिकामा पढेअनुसार नारायणकाजी श्रेष्ठले घरभाडा मासिक चार हजार तिर्छन्, प्रचण्डले एक लाख पाँच हजार तिर्छन् । पुख्र्यौली सम्पत्तिको कुरा गर्ने हो भने १०–२० दाहाल परिवारबराबर सम्पत्ति भएका व्यक्ति हुन् नारायणकाजी । उनले मन्त्रीबाट हटेपछि पनि कुनै प्रकारको सरकारी सुविधा लिएका छैनन् । निजी गाडी छैन, सार्वजनिक सवारीसाधनमा हिँड्छन् । अहिलेको अवस्थामा प्रचण्डजीले त्यति गरे काफी छ । दुईपटक प्रधानमन्त्री भइसकेको मान्छेलाई फेरि किन चाहियो पद ? यस्ता कुरामा प्रचण्डजीको ध्यान पुगे उनका लागि हितकर हुनेछ ।

वास्तवमा धेरै स्वार्थ लिने गरेमा त्यो आपूm र आपूmले नेतृत्व गरेको पार्टीलाई मात्र होइन, देश र जनतालाई पनि घातक बन्न सक्छ भन्नेतिर सबैले ध्यान दिन सके यस्ता कलह वा बिग्रहहरू आउँदैनन् । मैले राज्यलाई के दिन सक्छु भनेर मनले प्रश्न गर्ने गरेमा राजीनामा मागिरहनुपर्दैन र दिइरहनु पनि पर्दैन । मैले नबुझेको कुरा के हो भने राजीनामा मागिने हो कि दिइने विषय हो ? राजिखुसीले दिने कुरा राजीनामा हो भन्ने मात्र मलाई थाहा थियो, तर गिरिजाबाबु र प्रचण्डजीले त राजीनामा मागे नै । यसरी सार्वजनिक रूपमै राजीनामा माग्नुभन्दा ओलीलाई पार्टीमा बोलाएर पहिले स्पष्टीकरण माग्दा राम्रो हुन्थ्यो कि ? म नेकपा समर्थक वा विरोधी होइन, सिर्पm एउटा लेखकको नाताले नेकपा फलोस्, फुलोस् भन्ने कामना गर्दछु । एवमस्तु । जय नेपाल, जय नेपाली भाषा ।
महाकवि देवकोटा आश्रम ।


प्रतिक्रिया दिनुहोस्