किन पुगे राजेन्द्र महतोको लाइनमा प्रचण्ड ! « Artha Path
८ श्रावण २०७७, बिहीबार

किन पुगे राजेन्द्र महतोको लाइनमा प्रचण्ड !



०७२ सालको सुरुमै नेपाललाई महाभूकम्पले थिलथिलो बनायो । महाभूकम्पको बीचमा नेपालका दलले देशमा संविधान जारी गर्ने निधो गरे । तत्कालीन नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जतिसक्दो चाँडो संविधान जारी गरेर देशलाई स्थायित्व दिने निर्णय गरे । त्यसमा मधेसवादी दलको विरोध रह्यो । संविधानलेखनको कार्यमा मधेसवादी दललाई साथ लिने प्रयास तीनवटै दलले गरे । तर, सफल भएनन् । नेपालमा संविधान जारी हुने भएपछि मधेसवादी दलहरूले भारतीय सत्तापक्ष भारतीय जनता पार्टीलाई गुहारे । भजपाका नेताहरू काठमाडौं आए । दलहरूसँग छलफल गरे । तर, उनीहरूले मधेसवादी दलले भनेको जसरी संविधान जारी नगर्ने जवाफ दिए । नेपालमा संविधान जारी हुने पक्का भएपछि मधेसवादी दललाई दबाब दिन भारतले सिकायो ।

जब संविधान जारी भयो त्यसपछि नेपाल र भारतको सीमा क्षेत्रमा आएर बसिदिन नेपालका मधेसवादी दललाई भारतले आग्रह ग¥यो । मधेसवादी नेताहरूलाई भारतीय सीमा बजारमा खानपानको व्यवस्था भारतीय सरकारले ग¥यो । नेपालका मधेसी दलका केही झुन्ड सीमामा बसेपछि भारतले मधेसवादीको कारण सामान पठाउन नसकिएको भनेर नेपालतर्फ आउने सबै गाडी बन्द गरिदिए । नेपालमा भारतले नाकाबन्दी नै लगायो । नेपाल सरकारले पटक–पटक आग्रह गर्दा पनि भारतले खोलेन । नेपालमा विरोध भयो । त्यसपछि मधेसवादी दलहरूले मुख खोले भारतले होइन मधेसवादी दलले नेपालमा नाकाबन्दी गरेको । मधेसवादी दलले जति भने पनि नेपाली जनताले पत्याएनन् । किनकि त्यो नाकाबन्दी भारतले नै लगाएको थियो । त्यसमा स्पष्ट थियो । तर, भारतीयको रक्षाकवच मधेसवादी दल बनिरहे ।

नेपालले भारतलाई नाकाबन्दी खोल्न आग्रह गर्ने तर भारतीयले मधेसवादी दलका नेता र कार्यकर्तालाई भारतमा खाना खुवाउँदै नाकामा बसिरहन भन्यो । सीमावर्ती भारतीय बजारका कार्यकर्ता ल्याएरसमेत मधेसवादीको धर्नामा राखेर भारतले आफूले नाकाबन्दी नगरेको, तर नेपाली मधेसवादी दलहरूले अवरोध गरेको कारण नाका खुलाउन नसकेको बताइरह्यो । तर, भारतमा पनि विरोध हुन थाल्यो कि भारत सरकारले नेपालमा नाकाबन्दी लगायो भनेर । अन्तर्राष्ट्रिय रूपमै भारतको विरोध हुन थाल्यो । नेपालमा मधेसवादी दलका कुनै माग पूरा गरिएनन् । किनकि उनीहरूले भनेको जसरी संविधान संशोधन नै भएन । सरकार निर्वाचन गर्ने तयारीमा गयो । त्यसपछि मधेसवादी दल ल¥याक–लुरुक हुँदै आयो । भारतले अन्तर्राष्ट्रिय र आन्तरिक दबाब झेल्न नसकेर नाकाबन्दी खोल्ने निर्णय ग¥यो । मधेसवादी दललाई नेपालतिरै फर्किन लगायो । त्यसपछि गाडीको आवत–जावत भयो । अर्थात् नाकाबन्दी खुल्यो ।

त्यो नाकाबन्दी खोल्नमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ठूलो भूमिका थियो । पछि तिनै ओलीलाई भारतले प्रचण्ड प्रयोग गरेर प्रधानमन्त्री पदबाट हटाइदियो । किनकि ओली प्रधानमन्त्री थिएनन् भने जसरी पनि आफूअनुकूल हुने गरी संविधान संशोधन गर्ने योजना भारतले बनाएको थियो । ओलीले भारतसँगको सम्बन्धलाई बेवास्ता गर्दै चीनसँग पनि सम्बन्ध स्थापित गरे । चीनले सहयोग गर्ने भएपछि भारतभित्र नरेन्द्र मोदी सरकारको पनि विरोध भयो र नाकाबन्दी खोलिएको थियो । संविधान जारी गर्न र संविधान संशोधन हुन नदिने मुख्य पात्र ओली थिए भन्ने भारतलाई राम्रो जानकारी थियो । त्यही भएर भारत ओलीलाई कुनै पनि हालतमा सत्तामा टिक्न दिँदैनथ्यो । ओलीको नेतृत्वलाई विस्थापित गर्नका लागि भारतले प्रचण्डलाई स्थानीय निर्वाचनमा काङ्ग्रेससँग मिल्न लगायो । ओली नेतृत्वको अगाडि तत्कालीन काङ्ग्रेस र माओवादीको गठबन्धनको स्थानीय निर्वाचनमा असफल भयो । ओलीले भारतको चाल बुझेपछि चिनियाँ कार्ड प्रयोग गरेर प्रचण्डलाई आफ्नो साथमा ल्याए ।

निर्वाचनमा प्रचण्डसँग तालमेल गरेर करिब दुईतिहाइनजिक तत्कालीन एमाले र माओवादीको गठबन्धन पुग्यो । तर, प्रचण्ड फेरि भारतीयको पोल्टामा पुगे । प्रचण्डलाई पदको लोभ देखाएर भारतले खेल खेल्न थाल्यो । नेपालले कालापानी क्षेत्र समेटेर नक्सा सार्वजनिक गरेपछि यो सबै खेल ओलीको हो भन्ने भारतलाई जानकारी थियो । यद्यपि ओलीले मात्र नक्सा पास गरेका होइनन् । तर, ओलीको यो प्रस्तावको विरोधमा जान सक्ने कोही पनि थिएनन् । त्यही भएर यो प्रस्तावलाई मधेसी दलले पनि पास गरे । तर, भारतले आफ्नो मुख्य शत्रु ओलीलाई जसरी पनि निशाना बनायो । उसले फेरि नेकपाभित्रै चलखेल सुरु ग¥यो । प्रधानमन्त्री ओलीलाई त्यो जानकारी नहुने कुरै भएन । उनले बोलिदिए । अनि प्रचण्डले छिमेकीसँगको सम्बन्ध ओलीले बिगारे । आफूहरू भारत र चीनसँग समदूरीको सम्बन्ध स्थापना गर्न सफल हुने भनेर ओलीको राजीनामा मागेको बताए । भारतले होइन आफूहरूले ओलीको राजीनामा मागेको बताए । संविधान जारी भएको बेला राजेन्द्र महतो, उपेन्द्र यादव, महन्थ ठाकुरले भारतले होइन मधेसवादी दलले नेपालमा नाकाबन्दी गरेको हो भनेर बोलेको जसरी प्रचण्डले भारतले होइन आफूहरूले ओलीको राजीनामा मागेको बताए ।

भारत दक्षिण एसियामा ठूलो र शक्तिशाली देश छ । धेरै जनसङ्ख्या छ । उसको आर्थिक क्षेत्र विशाल छ । उसले छिमेकमा आफूअनुकूलको राजनीति चाहन्छ । आफूलाई रणनीतिक रूपमा र सामरिक दृष्टिकोणले बलियो बनाउन चाहन्छ । उसले सिमानाको जमिनको लोभ गर्ने भारतलाई जमिन बढाउन नभई रणनीतिक रूपमा र सामरिक रूपमा संवेदनशील क्षेत्रमा आफ्नो उपस्थिति जनाउन चाहन्छ । त्यसकै कारण उसले सीमा क्षेत्रको निगरानीलाई बढाएको छ । ओलीबाट त्यो सम्भव नभएपछि भारतले जनयुद्धकालमा आश्रय दिएका प्रचण्डलगायतका नेतालाई ओलीविरुद्ध प्रयोग गरेको हो ।

ओलीको बोली र काम गर्ने शैलीबारे गम्भीर प्रश्न उठ्न सक्छन् । तर, राष्ट्रियताबारे उनले लिएको लडानलाई कम आँक्न सकिने अवस्था छैन । तर, अहिले भारतले प्रलोभन दिएर धेरै नेपाली नेतालाई ओलीका केही शब्दप्रति प्रहार गर्न लगाइएको छ । ओलीको सत्ता पल्टाउन खोज्नु नेपाली नेताका सामर्थ होइन, भारतीय योजना हो । यो योजनामा नेपाली नेता फसेका हुन् । फसेका होइनन् भनेर नेपाली जनता भन्ने अवस्थामा छैनन् । ओलीलाई गलहत्याएर नेकपालाई कहिल्यै पनि सत्तामा आउन नदिने बाटोमा जानुभन्दा महाधिवेशन गरेर ओलीलाई पल्टाउने काम गर्नु नै नेपाली नेताको बुद्धिमानी हुने देखिन्छ । तसर्थ नेकपाका नेता तथा कार्यकर्ताले आफूमाथि भारतीय लगानी भएको छ भन्ने आरोप पखाल्न पनि महाधिवेशन गरेर ओलीलाई सबक सिकाएर पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट हटाउँदा हुन्छ । भारतीयले जसरी हतार गर्नुहुन्न ।

ओलीलाई शक्तिहीन बनाउने उत्तम विकल्प भनेकै महाधिवेशन हो । उनलाई हटाउने उक्त उत्तम विकल्पबारे नेताबीच किन विवाद छ ? कतै ओली नै शक्तिशाली बन्छन् भनेर महाधिवेशनको विरोध त भएको होइन ? गम्भीर प्रश्न खडा भएको छ । नाकाबन्दीमा राजेन्द्र महतोहरूले बोलेको जसरी अहिले प्रचण्डलगायतका नेताले नबोल्दा हुन्छ । महतोले जति नै राष्ट्रवादी कुरा गरे पनि उनको भारतसँगको सम्बन्धबारे नेपाली जनताको मनमनमा कुरा बसेको छ । त्यस्तै नजर प्रचण्डतिर नेपाली जनताको नहोस् ।


प्रतिक्रिया दिनुहोस्