बालुवाटार टू खुमलटार टू भैंसेपाटी « Arthapath.com
१६ श्रावण २०७७, शुक्रबार

बालुवाटार टू खुमलटार टू भैंसेपाटी



पुरुषोत्तम लम्साल

सत्तारुढ नेकपाको स्थायी कमिटीको लिगिलिगे दौड अझै सकिएको छैन । वैठक स्थगित गर्ने म्याराथुनमा सत्तारुढ नेकपाले बनाएको कीर्तिमानमा पार्टी र कार्यकर्ता दुबै गुटगत हर्षोल्लास मनाउने स्थिति छ । जसरी कारोना भाइरसको संक्रमणको बृद्धिबारे जनता अभ्यस्त हुँदैछन् उसैगरी नेकपाको स्थायी समितिको वैठक स्थगित हुने सिलसिला पनि अब मान्छेको चासोको विषय बन्न छाड्दै छ । अर्थात्, अन्त्यहीन वैठक स्थगितको श्रृङ्खला र निकासहीन मतभेद उच्चाटलाग्दो बन्दैछ ।

निर्लज्जताको हद हुँदो हो त नेताहरुले आ–आफ्नो स्वार्थसमूह बनाएर घरि वालुवाटार, घरि खुमलटार र घरि भैंसेपाटीमा चियाचमेना गरिरहन पर्दैनथ्यो । वैठक कसले बोलाउने भन्ने विषयसमेत अब नेकपाभित्र शरमको यात्रा बनेको छ । पार्टी खोपीमा सजिएको छ, पार्टी कार्यालय शीर्ष नेताहरुको चोठाकोठामा वा गोजीमा सीमित छ र जग हँसाउने वैठकको रत्यौली रमाइलो छ । शीर्षहरुको यो मनपरीले घेरा नाघेर अराजक बन्दा एउटा समूह वैठकमा नआउने र अर्को समूह वैठक होइन अनौपचारिक छलफल भन्दै मोर्चा कस्ने नीर्घिणी अभ्यासमा छ । स्वार्थसमूहको छलफल चलाउने तर निर्णय पुस्तिकामा दस्तखत गर्न नसक्ने समूह एकातिर छ, के गर्छन् हेरौंला नि हामी पनि भन्ने समूह अर्कोतिर छ । लोकलाज दुबैलाई पचिसकेको छ । दैव ! यही नै तिनका लागि लोकतन्त्र भएको छ ।

विधि र पद्दति आत्मगत र मनोगत विवादको विषय बनेका छन् । पछिल्लो एक महिनाको यो उठबस र बसउठ माउसुलीको पुच्छर चुँडालेको बराबर छ । अनुत्पादक छलफल गरिरहने, आरोप प्रत्यारोपमा रमाइरहने, पार्टी र सरकारबीच जुहारी चलिरहने श्रृङ्खलाले राष्ट्रिय मुद्दा कति पछाडि धकेलियो भनेर नेताहरुले गम्भीर भएको दृष्टान्त अहिलेसम्म कहीं कतै छैन ।

हामी शीर्ष टाउकाहरुको राजनीतिको नाममा बिसङ्गत संस्कारलाई र लोकतन्त्रका नाममा भाडतन्त्रको मात्र पक्षपोषण गर्न अभ्यस्त भइरहेका छौं । जनसरोकार र जनजीविकाका भयावह मुद्दा द्रबित बनाएर, अपहेलित बनाएर पार्टी र सरकारले शनैशनै विश्वासको डुङ्गामा बनाइरहेको छिद्र हेरेर हेरिनसक्नु छ । राष्ट्रवाद कस्मेटिक श्रृङ्गारको पोतोजस्तो भएको छ । यो जलप बिहान लगायो साँझ पखालिन्छ, साँझ पोत्यो रात्रीमै बिद्रूप अनुहार ह्वाङ्ग हुन्छ । असार १० गतेदेखि आजको मितिसम्म सत्तारुढ नेकपा यति गतिहीन देखिएको छ, योभित्र हाँसको चाल पनि भेटिंदैन, बकुल्लाको चाल पनि देखिदैन ।

महाब्याधी उत्कर्षउन्मूख छ, अर्थतन्त्र गतिशील छैन, संघीयताको घाऊ सम्हाल्न मुस्किल भइरहेको अर्थमन्त्री नै बताइरहेका छन्, एमसीसीको राष्ट्रवाद विश्व बंैकको अनुदानसँग शरणागत भइरहेको छ, प्राकृतिक विपत्तिले निम्त्याएको कहर र कोलाहल अत्यासलाग्दो छ, बैदेशिक रोजगारी र बेरोजगारीले घाँटी अँठ्याउँदै गएको छ, अधिकांश संवैधानिक अङ्ग निस्क्रियप्रायः छन्, संघीय कानूनको निर्माण भाडमा गएको छ, तर सत्तारुढ नेकपा विवादलाई लिएर रत्यौली खेलिरहेको छ । पार्टी र सरकार दुबै प्राणविहीन बुख्याँचा जस्तो छ तर यो अरुलाई तर्साउन मस्त छ, व्यस्त छ ।

रणनीतिक मुद्दामा, कार्यनीतिक सवालमा, नीतिमा ठोसको त अपेक्षा नै ब्यर्थ छ, सतही बहस पनि छैन । न उद्योग, न कृषि, न पर्यटन, न शिक्षा न स्वास्थ्य अहो भन्नलायक, एक दुई तीन गरेर गन्नलायक उपलब्धी खोई यो दुई वर्षमा ? सैद्धान्तिक छिद्रहरुमाथि बहसको गुञ्जायस नै छैन । स्वार्थपरक वैयक्तिक माग र मुद्दा भनेको फगत नेताहरुको जुँगाको लडाई मात्र हो भन्ने प्रमाणित गर्न अब कुनै ज्योतिष नचाहिने भएको छ । पार्टी र सरकार दुबै अँधेर नगरी चौपट राज आहानका पात्र बनेर लोक हँसाइरहेका छन् ।

नेकपा नै लोकतन्त्र होइन । नेकपा नै गणतन्त्र पनि होइन । नेकपा नै संघीयता होइन । नेकपा मात्र परिवर्तन होइन । नेकपा फगत साधन मात्र हो यो कहीं पनि साध्य होइन । नेकपा फगत एउटा अंग मात्र हो यो नै मूलतत्व वा मूलआत्मा होइन । नेकपा चिराचिरा, धूलोपिठो भए पनि नेपालमा तत्कालै लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र ढल्दैन, मर्दैन । नेकपा एक भएर पृथ्वी आफ्नो अक्षमा घुमिरहेको छ भन्ने भ्रमबाट पार्टीका शीर्ष नेताहरु मुक्त हुनपर्छ । जनतामा बढ्दो निराशा, असन्तुष्टी, घृणाले ठोस आकार पाउनुअगाडि नेकपाले सरकार र पार्टीको तर्फबाट आफ्नो आकार ग्रहण गरेन भने त्यो बेला अबेला हुनसक्छ । हामीले जोडले भन्नसक्नपर्छ कि थितिमा बस कि आआफ्नो बाटो समात । मोही माग्ने ढुङ्ग्रो लुकाउने अब चल्दैन ।

नेकपा बेथिति र बिंगतिको दलदलमा दबिंदै जाँदा पनि प्राप्त लोकतन्त्रमाथि भीषण पहिरो जाने होइन । किनकि, परिवर्तनलाई संस्थागत गर्न नसक्न्े, प्राप्त उपलब्धीलाई गुणमा रुपान्तरण गर्न नसक्ने, घोषित लक्ष्य र कार्यक्रमहरुबाट शनैशनै च्यूत हुँदै गइरहेको नेकपा एकमा दुई, दुईमा तीन र तीनमा चार भए पनि लोकतन्त्र भर्सेलामा पर्दैन । उसै पनि एकता र विभाजन सँगै बोकेर भएको पार्टी एकीकरणको औचित्य र सान्दर्भिकता नै अहिलेसम्म कहाँ देखिएको छ र ?
भित्र आझसम्म त्रिकोणात्मक दौड निरन्तर छ ।

अन्तरविरोध, अन्तरसंघर्ष, विवाद र बहसको समाधान नीति र विचारमा हो वा अन्त्यहीन अप्राकृतिक सम्झौताहरुमा ? नेताहरुबीच हुँदै आइरहेका कपाली तमसुकजस्ता सम्झौताले पार्टीको जीवन र पद्दतिलाई कहाँसम्म गतिशील बनाउँछ ? छड्के किनाराका साक्षीहरु आजको भोली नै चुकूल ठोकर ङ्यारङ्यार ङुरङुर गर्ने अराजक परिपाटी पार्टी जीवनलाई कहाँ लैजान्छ ? आज ओलिसहितको र भोली ओलीइतरको यो भेला र छलफलको निश्कर्ष के ? समाधान के ? खुमलटार वालुवाटार भैंसेपाटी दोहोरीमा देश कहिलेसम्म अनिर्णयको बन्दी भएर बस्नपर्छ ?

प्रचण्डले खोजेको र ओलीले रोजेको स्वार्थ पूरा नभएसम्म हामी यही रमिताको साक्षी हुनपर्ने ? हे पशुपतिनाथ, कापे, कुईंचे र छिर्किनीको ओली, दाहाल र नेपालको यो रमिता चाँडै अन्त्य होस् र देशले आफ्नो व्यवस्थालाई छिटो सूचारु गरोस् । नेताहरु भरोसालायक नभएपछि पशपतिनाथमै भर पर्नु जो रहेछ ।


प्रतिक्रिया दिनुहोस्