पञ्चायतको पानी र गणतन्त्रको विज्ञप्ति « Arthapath.com
५ भाद्र २०७७, शुक्रबार

पञ्चायतको पानी र गणतन्त्रको विज्ञप्ति



पुरुषोत्तम लम्साल

म पुरुषोत्तम लम्साल । मेरो जन्मस्थान नुवाकोट जिल्लाको तत्कालीन बागेश्वरी गाउँ विकास समितिको वडा नम्बर ४ ढुङ्गेचौर । अहिले त गाउँ विकास समिति छैन । नयाँ नेपालमा मेरो गाउँ गाउँपालिका भएको छ । गाउँ लम्बेता नभएर उत्तर–दक्षिण निकै फैलिएको छ । सङ्घीयताको उपहारस्वरूप गाउँको क्षेत्रफल विस्तार भएर हल्देकालिकाको पुछारसम्म पुगेको छ । र, यो भूगोल सूर्यगढी गाउँपालिका भएको छ । मैले अब नयाँ नेपालको नयाँ नागरिकता लिनुप¥यो भने म सूर्यगढी गाउँपालिकाको बासिन्दा हुनेछु । यसमा मलाई गर्व छ ।

सूर्यगढीको छातीमुनि र बागेश्वरीको काखमा जन्मनुको गर्व जति होस्, नयाँ नेपालको नयाँ संरचना हाँक्ने नयाँ जनप्रतिनिधिको पुरानो सोच र शैली देखेर म घरि खिन्न हुन्छु घरि आफैँप्रति खेद व्यक्त गर्छु । जसलाई बहुसङ्ख्यक गाउँवासीले गाउँपालिकाको नायकत्व सुम्पिएका छन्, जसलाई गाउँका बहुमत जनताले ‘तिमी नै हाम्रो अभिभावक’ भनेर मतदान मार्फत नै चुनेर गाउँपालिकाको नेतृत्वमा पठाएका छन् तिनका ज्यादै सानो सही, चिन्तन परम्परा देखेर म बिदेसिएको बालकको पनि नौनाडी गलेर लत्र्याकलुत्रुक हुन्छ ।

कठै ! हाम्रा गाउँलेले पुरातनभन्दा पनि पुरातन नेतृत्व चयन गरेछन् भन्नुपर्दा मन खिन्न हुन्छ ।
नेतृत्वमा अरू कोही छैनन्, मैले बालखैदेखि आदर–सम्मान गर्ने सन्तबहादुर घले दाइ हुनुहुन्छ । न स्कुलमुनिको हुलाक र हुलाकमुनिको सन्तबहादुर दाइको घर मेरा लागि बिरानो हो न सन्तबहादुर दाइ नेपाली काङ्ग्रेस हुनुअघिको राजनीति नै मेरा लागि बिरानो हो । प्रगतिशीलताको फेर समातेर सन्तबहादुर दाइले गाउँमा तयार गरेको राजनीतिक उचाई र सङ्घर्षले पनि मलाई कहिलेकाहीँ रोमाञ्चित बनाउँछ ।

तर, यो रोमाञ्चमा यसपालि पानी फेरियो । त्यो पनि गाउँलेले ‘पानीको जोहो गरिदेउन हो’ भनेर सार्वजनिक गरेको एउटा सन्दर्भमा सन्दबहादुर दाइकै हस्ताक्षरमा जारी भएको विज्ञप्तिले ।

गाग्रीको घ्याम्पे ट्याङ्की

गत हप्ता गाउँबाट एउटा तस्बिर इनबक्समा आयो । तस्बिरमा एउटा गाग्री थियो । गाग्रीलाई चारैतिर एक–एक प्वाल पारी चारवटा पाइप घुसाइएको थियो । हिलोमा गाडिएको जस्तो देखिने गाग्रीको छेउमा एउटा प्लास्टिकको बोतल थियो र ती सबैलाई बार लगाएको जसरी केही ढुङ्गाले घेरिएको थियो । उक्त तस्बिर प्रयोग गरी गाउँका फरकफरक व्यक्तिले फेसबुकमा फरकफरक स्टाटस बनाएर पोस्ट गरिरहेका थिए, तर मेरो इनबक्समा लेखिएको थियो, ‘पानी अधिकार त हो तर यो समस्या भएर बल्झियो ।’

हुन पनि हो, सफा पिउनेपानी जनताको अधिकार नै हो । तर, यो अधिकार उपयोग गर्न जनता आफैँ पनि चनाखो र सतर्क हुनुपर्छ ।

मैले प्रश्न सोधेर पठाएँ, ‘तस्बिर के हो कसो हो केही थाहा नपाई तपाईंको अधिकारको वकालत म सरी गरुँ ?’

जवाफ आयो, ‘यो गाग्री कामचलाउ ट्याङ्कीको प्रतिनिधि हो । सजिलोसँग पिउनेपानी उपलब्ध हुन सकेको छैन । यो गाग्रीवाला पानीबाट एक दर्जनभन्दा बढी घर लाभाविन्त हुन्छन् । तर, यसो गर्दा पनि भएन उसो गर्दा पनि भएन । त्यसैले हामीले सङ्घीय सरकारको स्थानीय निकायसँग माग गर्ने नयाँ तरिका अपनायौँ ।’

ठीकै हो । नारा–जुलुस गर्नुभन्दा, मुड्की उज्याएर ‘तँ तँ म म’ गर्नुभन्दा यो शैली ठीकै हो ।

प्रकाशचन्द्रको धारो

बोहोरे धामी टोल खानेपानी आयोजना भन्छन् तल देखिएको तस्बिरलाई । पानीको स्रोत र वितरण अहिले होइन पञ्चायतकालीन नेता प्रकाशचन्द्र लोहनीसँग जोडिने रहेछ । लोहनीसँग जोडिएको एउटा पानी किस्सा यहाँ उल्लेख गर्छुः

ऊ बेला मेरो घरभन्दा माथि लहरै ६ वटा गह्रा थिए बारीको । सातौँ गह्रापछि अर्जुन सानुबाको पाटो आउँथ्यो । पहिलो गह्रा पल्लो घरको थियो । त्योभन्दा माथिको चाहिँ माआवादीका पूर्वजिल्ला सेक्रेटरी पुष्प लामिछाने उर्फ अरुणको थियो । बारीको दोस्रो गह्रामा दुई सय लिटरको ड्रममा भरेर पानी राखिएको थियो । त्यो पानी पनि कहाँ माथि पोखरीडाँडा छेउको स्रोतबाट जोहो गरिएको । अनि ड्रमचाहिँ विदुर नगरपालिकाको ढुङ्गेस्थित बन्देवी आयल स्टोरबाट लगिएको । ड्रमको पानीपाइपमार्फत मेरो घरभन्दा तीस मिटर मुनि गेर्खु जाने बाटोको दोबाटोमा बनाइएको नयाँ सिमेन्टेड धारामा जोडिएको थियो ।

एक दिन अहिलेका राप्रपाका तीनजनामध्ये एकजना अध्यक्ष रहेका उनै प्रकाशचन्द्र लोहनी हुन् जसले त्यो धारा तालीको गडगडाहटसाथ उद्घाटन गरेर ‘धररररर……!’ पानी झारेका थिए । र, बाजागाजासाथ बडो हर्षबडाइँ गरिएको थियो । अहिले पनि विकासको उक्त स्याम्पल देखेर प्रकाशचन्द्र लोहनीको दिल गार्डेन गार्डेन हुँदो हो ।

हो, धामीटोलको पानी पनि त्यही प्रकृतिको उद्घाटन त होइन, तर नियति त्यस्तै प्रकृतिको हो ।
गोप्य कुरा भनम् ? प्रकाशचन्द्रले उद्घाटन गरेको उक्त धारो पञ्चायत विकासको जबर्जस्त नमुना बनेर धेरैपछिसम्म मेरो दिमागमा गढ्यो ।

गणतन्त्रको विज्ञप्ति

फेरि धामीटोलको पानी । उक्त पानीको स्रोतमार्फत वितरण गर्न अणबहादुर प्याकुरेल गाविस अध्यक्ष हुँदा नै पानी सङ्कलनका लागि ट्याङ्की बनाइएको थियो । यो त दुई दशकभन्दा पुरानो कुरा भयो । ‘अड्कोपड्को तेलको धुपको शैलीमा’ पानीको प्रयोग हुँदै रहेछ पाँच वर्षअगाडिको भुइँचालोले अर्को बित्यास थपेछ ।

पानी स्रोत संरक्षण तथा वितरणका लागि दुई वर्षअगाडि धेरथोर बजेट पनि गाउँपालिकाबाट गएछ, तर गोडा चारै सय मिटर पाइप गोडा दशै थान बनाएपछि बजेट सतगत भएछ । गत वर्ष त धामीटोल र डाटोलको जुहारी गाउँमा राम्रैसँग मच्चिएपछि दाह्रा र नङ्ग्रा देखाउँदै विवाद मैजारो भएछ ।
यसैले पानीको वितरण र ट्याङ्कीको व्यवस्थापन स्थानीय सरकारबाट होस् भन्ने अभिप्रायले जसले गरे पनि माग र विरोधको सिर्जनात्मक शैली अपनाएछन् ।

तर, यसलाई ‘भाइरसले भाइरल बनाएको’ बन्दै गाउँपालिकाको अध्यक्षबाटै गोडा सय शब्दको काइते विज्ञप्ति आयो घोर भत्र्सना गर्दै । खेद व्यक्त गर्दै, निन्दा गर्दै । त्यो पनि सन्तबहादुर दाइको हस्ताक्षरमा ।

ओहो, त्यहाँ पानीको समस्या रहेछ, यो समस्या जानकारी गराइदिएकोमा सम्बन्धित सबैलाई धन्यवाद भन्नुको साटो सामाजिक सञ्जालमा तस्बिर भाइरल बनाइएको भनेर घोर भत्र्सना गरिएछ । हामीले समस्या पहिचान ग¥यौँ, त्यसलाई यथाशक्य चाँडो व्यवस्थापन गर्न प्रयास गरी जति सक्यो चाँडो पानीको जोहो गर्नेछौँ भन्नुपर्नेमा त्यस्तो तस्बिरप्रति आपत्तिको पो जनाइएको रहेछ । समाचार र सामाजिक सञ्जालको टिप्पणीसमेत छुट्याउन नसक्ने भइसकेको रहेछ हाम्रो स्थानीय सरकार । समाचार तयार नै भएको थिएन, तर समाचारप्रति भ्रममा नपर्न भनेर सूर्यगढीवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाईसमेत अनुरोध गर्न भ्याइसकेछन् ।

लगानी हिजो कसले कहाँ ग¥यो भन्ने मूल कुरो भएन । मूल कुरो आजको समस्या के हो भन्ने हुनुपर्ने हो, तर त्यो नहुने रहेछ ।

अझ बढी त त्यसलाई नेपाली काङ्ग्रेस र नेकपामा बाँडिएका गाउँले आपसमा गाँडा कोतरकातर गर्न ज्यान फालेर लागिरहेका रहेछन् । साह्रै भएपछि मैले पनि वडाध्यक्षलाई फोन गरेर जिज्ञासा राखेँ, जुन तपाईंले पढ्नुभयो होला ।


प्रतिक्रिया दिनुहोस्