एक्सनएड नेपालको सत्रौं सामाजिक लेखाजोखा सम्पन्न

काठमाडौं । एक्सनएड नेपालले आफ्नो सत्रौं राष्ट्रिय समाजिक लेखाजोखा आज पुष ३ गते सम्पन्न गरेकोे छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एक्सनएड नेपालले आफ्नो १७ औं वार्षिक सामाजिक लेखाजोखा कार्यक्रम भर्चुअल माध्यमबाट गरेको हो ।
सामाजिक लेखाजोखा कार्यक्रममा एक्सनएड नेपालले सन् २०१९ तथा २०२० मा सम्पन्न गरेका कार्यक्रमहरुको लागत, प्रभावकारिता र उपलब्धिको प्रस्तुती र छलफल गरेको थियो । कार्यक्रमममा सरकारी निकायका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, लक्षित समुदायका प्रतिनिधि, साझेदार संस्था, सरोकारवाला, सञ्चार माध्यम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र शुभचिन्तकहरुले सहभागिता जनाएका थिए ।
एक्सनएड नेपालले विगत ३८ वर्षदेखि गरिबि निवारण, सामाजिक न्याय र असमानता विरुद्ध काम गरिरहेकोछ । सन् २००२ देखि स्थानिय स्तरमा तथा सन् २००४ देखि राष्ट्रिय स्तरमा जवाफदेहीता तथा पारदर्शिता सुनिश्चित गर्न एक्सनएड नेपालले निरन्तररुपमा वार्षिक रुपमा सामाजिक लेखाजोखाको आयोजना गर्दै आएको एक्सनएड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक माथेमाले वार्षिक सामाजिक लेखाजोखा कार्यक्रम गर्दा गत वर्षमा प्राप्त परिणामहरुको सहभागितामूलक प्रक्रियाद्धारा पुनरावलोकन तथा मूल्यांकन गरी भावी कार्यक्रमलाई थप गुणस्तरीय र प्रभावकारी बनाउन सरोकारवालाहरुको रचनात्मक तथा आलोचनात्मक सुझावहरु संकलन गर्ने अवसर दिएको बताउनुभयो ।
कार्यक्रममा एक्सनएड नेपालले सन् २०१९ तथा २०२० मा गरेका उपलब्धीहरुलाई संस्थाका कार्यक्रम व्यवस्थापक सरोज पोखरेलले प्रस्तुत गर्नुभएको थियो । साथै संस्थाका प्रशासन तथा वित्त व्यवस्थापक श्री कुमार जंग ठकुरीले कार्यक्रमको आम्दानी तथा खर्चबारे प्रस्तुती गर्नुभएको थियो । संस्थाको सन् २०१९ को बार्षिक बजेट रु. ३१,२५,७१,००० रहेकोमा कूल खर्च रु.२८,६०,२१,००० भएकोमध्ये कार्यक्रम तर्फ ८४%, कोष अभिवृद्धि तर्फ ४%, सुशासन तर्फ १% तथा कार्यालय सपोर्ट तर्फ ११% खर्च भएको विवरण प्रस्तुत गरिएको थियो । त्यसैगरी संस्थाको सन् २०२० को बार्षिक बजेट रु.३०,८२,०७,००० रहेकोमा गत दश महिनाको कूल खर्च रु.१८,३९,९७,००० भएको जानकारी दिइएको थियो र कार्यक्रम खासगरी कोभिड–१९ प्रतिकार्यमा केन्द्रित थियो जसमध्ये कार्यक्रम तर्फ ८४%, कोष अभिवृद्धि तर्फ ४%, सुशासन तर्फ १% तथा कार्यालय सपोर्ट तर्फ ११% खर्च रहेको थियो ।
यसैगरी संस्थाका मानव स्रोत तथा सुशासनको अवस्थाबारे मानव संशाधन तथा संस्थागत विकास व्यवस्थापक श्री सृजन कायस्थले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै समाज कल्याण परिषदका सदस्य सचिव पुष्कर खातीले भन्नुभयो, ‘एक्सनएड नेपालले हरेक बर्ष गर्ने सामाजिक लेखाजोखाले सामाजिक संस्थाहरुले निर्वाह गर्नुपर्ने उत्तरदायित्व र पारदर्शिता प्रवद्र्धन गर्न मद्दत गरेको छ । नेपालमा काम गर्ने अन्य संघसंस्थाहरुले पनि यसखालको अभ्यासलाई अबलम्बन गर्नुपर्छ । जसले गर्दा सामाजिक संस्थाहरुलाई पारदर्शि र जवाफदेहि बनाउँछ ।’
यसैगरी गैर सरकारी संस्था महासंघका अध्यक्ष जितराम लामा, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था महासंघका अध्यक्ष अच्युत लुईंटेल, पोखरीया नगरपालिका पर्साका उपमेयर सलमा खातुनले मन्तव्य राख्दै सामाजिक जवाफदेहिता प्रवद्र्धनका एक्सनएडले निरन्तर रुपमा गरिए आएको अभ्यासले सकारात्मक सन्देश दिएको धारणा राख्नुभयो ।
एक्सनएड नेपालले सन् १९८२ देखि नेपालमा गरिबी अवस्थामा रहेका तथा सीमान्तकृत वर्गहरुको हक, हित र उत्थानका निमित्त विभिन्न्न कार्यहरु गर्दै आएका छन् । यस संस्थाले मानव अधिकारमुखि पद्दतीलाई अवलम्बन गरी गरिबिमा रहेका र सीमान्तकृत समुदायको क्षमता अभिवृद्धि, संंगठन निर्माण गरी आफ्नो हक अधिकार दावि गर्न सक्षम बनाई सम्मानजनक जीवनयापनका लागि सहयोगी भूमिका खेल्दै आएको छ । देशका विभिन्न ठाउँमा आफ्नो कार्यसंचालन गर्न यस संस्थाले सरकार, सामाजिक संजाल÷संगठन लगायत विभिन्न नागरिक समाजहरुसँग साझेदारी गर्दछ ।
कार्यक्रमको समापन गर्दै एक्सनएड नेपालकी अध्यक्ष डा. निर्मला केसीले एक्सनएड नेपालको १७ औं सामाजिक लेखाजोखा कार्यक्रमलाई सम्पन्न गर्नका लागि भूमिका खेल्नुहुने सम्पूर्ण सरकारी, गैर सरकारी संघसंस्था, सन्चारकर्मी, एक्सनएड नेपालका कर्मचारीलगायत सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।