बीमा समितिमा केही महिने अध्यक्ष « Arthapath.com
२७ पुष २०७७, सोमबार

बीमा समितिमा केही महिने अध्यक्ष



काठमाडौं । बीमा समितिमा नयाँ अध्यक्ष को बन्ला भन्ने चर्चासँगै तिनको कार्यकाल कति महिनाको होला भन्ने विषयबारे पनि बहस सुरु भएको छ । संसद् नै विघटन भएको अवस्थामा प्रस्तावित बीमा ऐन, २०७५ आउँन समय लाग्ने भएकाले विद्यमान कानुनअनुसार नै नयाँ अध्यक्ष चयन हुने भएपछि कार्यकाललाई लिएर चर्चा सुरु भएको हो ।

प्रस्तावित बीमा ऐन, २०७५ अनुसार नै नेपाल बीमा प्राधिकरण स्थापना हुने र यसको अध्यक्ष तथा अन्य सञ्चालक समिति सदस्य पनि सोहीअनुसार चयन हुने भएकाले उक्त ऐन पारित भएपश्चात् हालको बीमा समिति र त्यसका अध्यक्ष स्वतः निष्कृय हुनेछन् ।

यसले गर्दा विद्यमान कानुनअनुसार अध्यक्ष बन्ने व्यक्तिको कार्यकाल प्रस्तावित बीमा ऐन, २०७५ नआउँदा सम्मको लागि मात्र हुने भएकाले नयाँ अध्यक्षको कार्यकाल धेरै छोटो हुने देखिन्छ । सामान्यतया बीमा समितिका अध्यक्षको कार्यकाल ४ वर्षको हुने गर्दछ । बीमा समितिको अध्यक्ष चिरञ्जीवी चापगाइँको ४ वर्षे कार्यकाल यही २२ गते सकिएको छ । उनको बीदाई पनि गरिएको छ ।

चापागाईँको बिदाई पछि केही समयका लागि कार्यकारी निर्देशक राजु रमणलाई निमित्त अध्यक्ष दिने सम्भावना रहे पनि राजु रमणको निमित्त अध्यक्ष पद धेरै नटिक्ने विश्लेषण गरिएको छ । अर्थमन्त्रीको प्रस्तावमा मन्त्रीपरिषद्ले आवेदन परेका र उत्कृष्ट ३ मा अटाएकाहरूमध्येबाट एकजनाको नाम सिफारिस गर्ने छ । मन्त्रीपरिषद्बाट नै अध्यक्ष चयन हुने भएकाले राजु रमनलाई नयाँ समयसम्मको लागि अध्यक्षको जिम्मेवारी नदिइने विश्लेषण गरिएको छ ।

बीमा समितिको अध्यक्ष बन्न झन्डै आधा दर्जन बढी आकांक्षी देखिएका छन् । जसमा सबैभन्दा बढी चर्चा नेपाल राष्ट्र बैंकबाट आगामी फागुनबाट डेपुटी गभर्नरबाट बिदाई हुने क्रममा रहेका चिन्तामणि शिवाकोटीको सम्भावना बढी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्