२५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाको लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट (Battery Storage Plant) सहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने (Grid Connected) सौर्य ऊर्जा परियोजना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (Detailed Feasibility Study Report -DFSR) तयार गर्न नेपाल सरकार, लगानी बोर्डको कार्यालय र राइजेन इनर्जी सिंगापुर जेभी (Risen Energy Singapore JV Pte Ltd) बीच समझदारीपत्र (Memorandum of Understanding-MoU) मा आज मंगलबार हस्ताक्षर भयो ।
MoU का अनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १२५ मेगावाटका दरले जम्मा २५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले जम्मा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने छ । उक्त परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर रहेको छ । लगानी बोर्ड कार्यालयमा सम्पन्न MoU मा बोर्ड कार्यालयका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुशील भट्ट र कम्पनीको तर्फबाट उक्त कम्पनीका दक्षिण एशियाका लागि विकास प्रबन्धक (Development Manager) Mr. Wang Qiang ले हस्ताक्षर गर्नुभयो ।
MoU अनुसार कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिनाभित्र DFSR तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनु पर्नेछ । २०७७ असार ५ मा बसेको लगानी बोर्डको ४४ औं बैठकले उक्त कम्पनीलाई DFSR तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । उक्त परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना हो ।