‘स्थानीय तहकाे निर्वाचन पछि लिखु गाउँपालिकाको मुहार फेरिएको छ’: ध्रुव श्रेष्ठ « Arthapath.com
५ असार २०७८, शनिबार

‘स्थानीय तहकाे निर्वाचन पछि लिखु गाउँपालिकाको मुहार फेरिएको छ’: ध्रुव श्रेष्ठ



संघीय सरकारले आगामी वर्षको बजेटमा नुवाकोटको थानसिङमा शहरी पुर्वाधारको विकास गर्ने योजना राखेको छ । कुनै बेला नुवाकोटको सदरमुकाम तोकिएको थानसिङ जिल्लाकै सबैभन्दा ठूलो फाँट हो । यो स्थान पछिल्लो एक दशकयता चर्चामा छ ।

खासगरी चीनसँगको रेलमार्ग विस्तार योजना र टोखा-छहरे सुरुङ मार्गका कारण यो स्थान चर्चामा रहँदै आएको छ । थानसिङ र यसवरपरका अधिकतर समथर भूभाग जोडेर लिखु गाउँपालिका बनाइएको छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट लिखु गाउँपालिकाको अध्यक्ष निर्वाचित ध्रुव श्रेष्ठ गाउँपालिकाको मुहारै फेरिएको दाबी गर्छन् । गाउँको विकास निर्माणमा भएका प्रयास र कोरोना नियन्त्रणका लागि स्थानीय सरकारले चालेका कदमबारे अध्यक्ष श्रेष्ठसँग गरिएको कुराकानीः

लिखु गाउँपालिकामा निर्वाचित भएको चार वर्ष बितिसक्यो । यसबीचमा उल्लेखनीय काम के भएको छ ?

हामी स्थानीय तहमा निर्वाचित भएर आएपछि लिखु गाउँपालिकामा धेरै परिवर्तन भएको छ । विकास-निर्माणको काम, भौतिक पूर्वाधार, खानेपानी, स्वास्थ्य शिक्षामा उल्लेखनीय कार्य गरेका छौँ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन खेतीयोग्य जमिनको बहुउपभोगका लागि योजना बनाएर काम भइरहेको छ ।

नुवाकोट जिल्लाकै ठूला-ठूला फाँट लिखु गाउँपालिकामा रहेको छ । यहाँ रहेको सिमारा सिँचाइले आयोजनाले ६ सय हेक्टर जमिनमा सिँचाइ हुन्छ । थानसिङ फाँटमा पाँच सय हेक्टर जमिनमा बाह्रै महिना सिञ्चाइ सुविधा छ । थानसिङ फाँट लिखुको गहनाको रूपमा रहेको ठूला फाँटमा पर्दछ । यहाँ कृषिमा आत्मनिर्भर बनाउन यान्त्रिकीकरण भइरहेको छ ।

कृषिको आधुनिकीकरणका लागि नयाँ-नयाँ मेसिन-औजार भित्र्याएर धान रोप्ने, कुट्ने, खेत जोत्नेजस्ता काम भएका छन् । यान्त्रिकीकरणको सहायताले कृषिमा नयाँ आयाम थापेका छौँ । कृषि पेशामा लाग्ने जनताको हौसला बढाएका छौँ । यहाँ तरकारी खेती, फलफूल खेती, माछापालन, भैँसीपालन, बाख्रापालन, कुखुरापालनका लागि अनुदानका दिन सङ्घीय सरकारबाट रकम प्राप्त भएको छ । ठूला चक्लाबन्दीमा खेती गर्ने प्रचलन पालिकामा सुरु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लिखु गाउँपालिकाको अवस्था कस्तो छ ?

विद्यालयमा कम्प्युटर शिक्षा लागू भएको छ । अङ्ग्रेजी माध्यममा पठन-पाठन गरी निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न आधारभूत विद्यालयलाई हामीले अगाडि बढाइरहेका छौँ । स्वास्थ्य क्षेत्रमा पनि हामीले धेरै परिवर्तन गरेका छौँ । जम्मा तीनवटा स्वास्थ्यचौकी रहेको स्थानीय तहमा थप तीनवटा आधारभूत सामुदायिक स्वास्थ्य चौकी बनाएर पालिकाको निजी स्रोतमा नर्स, स्वास्थ्य इन्चार्जको व्यवस्था गरेका छौँ ।

अहिले प्रत्येक वडा कार्यालयमा जाने ६ देखि ७ मिटर चौडा सडक बाटो बनाएका छौँ । लिखु गाउँपालिकाको ६ वटै वडामा खानेपानीको ठूलो समस्या थियो । अहिले लगभग १० प्रतिशतमात्र समस्या रहेको छ । हामीले ९० प्रतिशत खानेपानीको समस्या हल गरेका छौँ । खानेपानीका लागि एक घर एक धाराको अवधारणाअनुसार काम भइरहेको छ ।

भौगोलिक रूपमा लिखु गाउँपालिका अलि सुगम क्षेत्र पनि मानिन्छ, अन्य गाउँपालिकाको हिसाबमा कति पनि विकास भएन भन्ने गुनासो आइरहेको छ नि ?

गुनासो त अब देख्नेले देख्या छन्, नदेख्नेले जति गरे पनि देख्दैनन् । तपाईं हेर्नुस्, लिखुले जति काम अरू पालिकाले नगरेको म दाबीका साथ भन्छु । अन्यत्र गाउँपालिकका/नगरपालिका र लिखुको दाँजो यहाँ कति काम भएको छ तपाईंहरूले सुक्ष्म रूपमा मूल्याङ्कन गर्न सक्नुहुनेछ ।

म दुईपटक गाविस अध्यक्ष र एकपटक गाउँपालिका अध्यक्ष भइसकेको छु । तीनपटक जनप्रतिनिधि भइसकेको अनुभव मसँग छ । विरोधीको धर्म हो राम्रो कामको पनि नकारात्मक हल्ला फैलाउनु । तर, उपभोक्ता समितिको नाममा यताको ढुङ्गा उता पनि नपल्टाउनेहरूले विरोध गरिरहेका छन् ।

पाँच वर्षे कार्यकाल सकिन लाग्यो, काम गर्न बाँकी के-के छन् ?

लिखु र तादी खोलाले कटान गरेर यहाँ खेतीयोग्य जमिन, सडक, बस्ती घरलाई क्षति गरेको थियो । त्यसलाई रोकथाम गर्न अहिले भर्खर सर्भे डिजाइन डिपिआरका लागि काम भइरहेको छ । स्थानीयको माग र आवश्यकताअनुसार अनगिन्ती कामको थालनी हामीले गरेका छौँ । सबै काम एकैचोटि गर्न सकिँदैन । क्रमशः प्राथमिकताको आधारमा गरिरहेका छौँ ।

तपाईंको कार्यकालमा गर्न बाँकी रहेको काम छ कि ?

सबैभन्दा ठूलो खड्केको विषय नदी नियन्त्रण हो । यहाँ नदी नियन्त्रण गर्न सकियो भने सयौं रोपनी जमीन थपिने छ । यसबाट जनताले ठूलो राहत पाउनेछन् । एउटा मलाईचाहिँ लागेको प्रमुख उद्देश्य नदी नियन्त्रण हो ।

तादी खोलामा आप्रहदेखि तल र लिखु खोलामा छहरे-सत्तरी फाँटदेखि नदी नियन्त्रण गर्नु आवस्यक छ । हाम्रो गाउँपालिकामा लिखु र तादीको दोभानसम्म नदीले कटान गरेको जमीन फिर्ता ल्याउन सकियो भने त्यस्तो जमीन खरीद गर्न काठमाडौंबाट मान्छेहरु आउने छन् ।

अहिले पनि काठमाडौंबाट कृषि, पशुपालनका लागि नदी रहेको भूभागको जग्गा किन्न मानिसहरु आइरहेका छन् । त्यसैगरी, काठमाडौंबाट नजिक रहेकाले आन्तरिक पर्यटनका लागि पनि विकास गर्न हामी लागिपरेका छौँ । नदी नियन्त्रणले हामीलाई नदी पर्यटनको विकासमा पनि सघाउ पुग्ने छ ।

तपाईंको कार्यकालको अन्तिम बजेट बन्दै छ । यस बजेटमा केकस्ता विषयले प्राथमिकता पाउँछन् ?

अहिले हाम्रो मूल प्राथमिकता भनेको जनताको जिऊ-धनको सुरक्षा गर्ने नै हो । कोभिड १९ महामारीकोे अवस्थामा पहिलो हाम्रो आवश्यकता भनेको स्वास्थ्य नै रहन्छ । त्यसपछि अब यो कोरोनाका कारण बेरोजगार भएकालाई रोजगारीमूलक कार्यक्रम ल्याइनेछ ।

कृषिलाई विगतदेखि नै प्राथमिकताको क्षेत्रमा राखेका छौँ । यसलाई पनि निरन्तरता दिनेछौँ । शिक्षालाई पनि प्राथमिकतामा राखेर गुणस्तरीय पठनपाठनका लागि बजेट विनियोजन गर्ने गरी छलफल भइरहेको छ ।

कोरोनाले रोजगारी गुमेकालाई गाउँपालिकाले के गर्छ ?

गत साल हामीले राहतको व्यवस्था गरेका थियौं । सेनिटाइजर, फेस मास्कजस्ता स्वास्थ्य सामाग्री र राहतमा गत वर्ष गाउँपालिकाले ३२ लाख १० हजार रुपैयाँ खर्चेको थियो । दैनिक ज्याला गरेर खाने मजदूर वर्गलाई हामीले जीविकोपार्जनमा सघाएका थियौं । साबुन मात्र २८ हजारको वितरण गर्‍यौँ ।

पिपिई र मास्कमा विभिन्न सङ्घसंस्थाले पनि हामीलाई सहयोग गरेका थिए । अहिले पनि केही दिनअघि जोय फाउन्डेशन काठमाडौंले हामीलाई १० वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको थियो । दाताबाट प्राप्त सामग्री र गाउँपालिकाले विनियोजन गरेको बजेट कोरोना नियन्त्रण, उपचार र सचेतनामा खर्च गरेका छौँ ।

तपाईं त काङ्ग्रेसको भावि जिल्ला सभापतिको उम्मेदवार बन्दै हुनुहुन्छ रे नि ?

मेरो त्यस्तो खासै इच्छा छैन । राजनीति भनेको सामूहिक प्रयासमा हुने हो । टिमका साथीहरूले सल्लाह गरेर यसमा रहनुपर्छ भन्नुभयो भने ठिकै छ । मलाई पदै चाहिन्छ, पदबिना केही नहुने भन्नेचाहिँ छैन । पहिला गएको अधिवेशनमा पनि मलाई पद नै चाहिन्छ भनेको थिइनँ ।

अहिले म काङ्ग्रेस क्षेत्रीय सभापति छु । क्षेत्रीय अधिवेशनकोे बेलामा पनि नेताहरूले नै तपाईं बस्दिनुस् भनेका थिए । म नुवाकोट काङ्ग्रेसको सभापति नभए पनि दूरदर्शी र काङ्ग्रेसको पाको नेतालाई नेतृत्वमा ल्याउन अवस्य लाग्नेछु ।


प्रतिक्रिया दिनुहोस्