काङ्ग्रेस बागमती प्रदेश सभापतिका लागि तयारी गरिरहेको छु : जगदीश्वरनरसिंह केसी « Arthapath.com
९ आश्विन २०७८, शनिबार

काङ्ग्रेस बागमती प्रदेश सभापतिका लागि तयारी गरिरहेको छु : जगदीश्वरनरसिंह केसी



  • केसी परिवारको तर्फबाट जिल्ला सभापती सुरेन्द्र अधिकारी नै हुन्

जगदीश्वरनरसिंह केसी, सभापति, नेपाली काङ्ग्रेस नुवाकोट

अहिले देशभरका नेपाली काङ्ग्रेसका नेता–कार्यकर्तालाई १४औँ महाधिवेशनको चटारो छ । नुवाकोटमा पनि ८८ वडामध्ये ८७ वडा अधिवेशन गत महिना केन्द्रले तोकेकै तालिकाअनुसार सम्पन्न भइसकेको छ । बेलकोटगढी नगरपालिकाको ४ नम्बर वडाबाहेक अन्य सबै वडामा अधिवेशन सम्पन्न भइसकेको छ । जसमध्ये सातवटा वडामा चुनाव भएको छ भने बाँकी सबैमा सर्वसम्मत नेतृत्व चयन भएको छ । नेपाली काङ्ग्रेस नुवाकोटको २१ वर्ष सभापति भइसकेका जगदीश्वरनरसिंह केसी यसपटक भने नेतृत्व हस्तान्तरण गर्न लागिपरेका छन् । केन्द्रमा संस्थापनइतर पक्षमा रहेका डा. रामशरण महत र अर्जुननरसिंह केसी समूह जिल्लामा भने छुट्टाछुट्टै समूहमा विभाजित भएका छन् । त्यसैले जिल्लाको पालिका, क्षेत्र, प्रदेश र जिल्ला तहमा केसी समूहको छुट्टै टिम बन्दै छ भने केन्द्रीय सदस्य रामशरण महत, प्रकाशशरण महत दाइभाइ र केन्द्रीय सदस्य बहादुरसिंह लामा समूहको चार तहमा छुट्टै टिम बनाउने कसरत भइरहेको छ । केन्द्रको समीकरण जिल्लामा लागू नहुँदा केसी पक्ष नुवाकोटमा केही कमजोर बनेको छ । जिल्ला नेतृत्व चयनमा भने केन्द्रकै समीकरण लागू हुने दाबी गर्छन् सभापति केसी । जिल्ला सभापतिमा रहेका केसी समूहले वर्तमान जिल्ला कार्यसमितिका सचिव सुरेन्द्र अधिकारीलाई अघि सार्ने सम्भावना छ भने केसीइतर समूहमा धेरै उम्मेदवार देखिएका छन् । केसीसँग यसअघि सभापतिमा पराजित रमेश महत र ध्रुव अधिकारीका अलावा चोकराज शाक्य, सन्तमान तामाङ, महत दाजुभाइ र लामाको समूहबाट उम्मेदवारी बन्ने दौडमा रहेका छन् । केसी पक्षबाट डा. केदारनरसिंह केसी र अहिले रहेको कार्यसमितिका कोषाध्यक्ष महेन्द्र थिङको पनि नाम अगाडि आएको छ । महत समूहबाट दुई उम्मेदवार भए पासा पल्टाउने दाउमा केसी समूह तानाबाना बुन्न संलग्न छ । सभापति केसीसँग जिल्लाको १४औँ अधिवेशनको तयारी, भावी नेतृत्व र काङ्ग्रेसको अहिलेको अवस्थाबारे त्रिशूली प्रवाह साप्ताहिकका लागि उषा रेग्मीले गरेको कुराकानीको सारसङ्क्षेप ः

काङ्ग्रेस अधिवेशनको प्रक्रिया कहाँ पुग्यो ?
काङ्ग्रेसको १४औँ महाधिवेशनको पहिलो खुड्किलो वडा अधिवेशन सम्पन्न भएको छ । देशभरिको कार्यतालिका केही प्रभावित भएको छ । भदौ १८ गते देशभर वडा अधिवेशशनको मिति थियो । हामीले तीन दिन ढिलो गरी २१ गते नुवाकोटको ८७ वडा अधिवेशन सम्पन्न गरेका छौँ । बेलकोटगढी नगरपालिकाको वडा नम्बर ४ को अधिवेशन स्थगित भएको छ । केन्द्रको कार्यतालिकाअनुसार गाउँपालिका, क्षेत्र, प्रदेश र जिल्ला अधिवेशनको तयारीमा लागिरहेका छौँ ।

बेलकोटगढी नगरपालिका वडा नम्बर ४ को अधिवेशन किन रोकियो ?
बेलकोटगढी वडा नम्बर ४ को अधिवेशन कार्यतालिकाअनुसार सम्पन्न गर्न सकेनौँ । अहिले उक्त वडाको अधिवेशन गर्न केन्द्रसँग समन्वय गरिरहेका छौँ । नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य भूपेन्द्र बानियाँलाई ०७५ सालमा काङ्ग्रेस सदस्यता दिएर पार्टीमा भित्र्यायौँ । ०७४ को स्थानीय निर्वाचनमा बानियाँले माओवादीको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । उनी काङ्ग्रेसको विद्रोही उम्मेदवार भनेर क्रियाशील सदस्यबाट केही हाम्रै पार्टीका वरिष्ठ व्यक्तिले सदस्याताबाट हटाए । काङ्ग्रेसको अनुशासन समितिलाई अन्य पार्टीका स्वतन्त्र उम्मेदवारलाई कारबाही गर्न मिल्दैनथ्यो । काङ्ग्रेसको विधानमै नभएको अधिकार प्रयोग गरेर बानियाँलाई सदस्यबाट कारबाही गरिएकाले त्यहाँ अधिवेशन रोकिएको हो । उहाँले क्रियाशील सदस्य प्राप्त गर्नुभन्दा अगाडि के गर्नुहुन्थ्यो, कुन भूमिकामा हुनुहुन्थ्यो, उहाँले खेलेका भूमिकाबारे काङ्ग्रेसलाई सरोकार भएन, जुन दिनबाट उहाँले क्रियाशील सदस्यता प्राप्त गर्नुभयो त्यस दिनबाट उहाँको भूमिकामा गहिराइमा पुगेर काङ्ग्रेसले हेर्छ, उहाँको भूमिका काङ्ग्रेसप्रति कस्तो छ काङ्ग्रेसमा उहाँले खेल्ने रचनात्मक र सहयोगात्मक सहयोगको विषयमा अब खोज्ने हो । क्रियाशील नै प्राप्त नगरेको एकजना व्यक्तिलाई काङ्ग्रेसले कारबाही गर्ने नाममा कुनै व्यक्तिको शक्ति र व्यक्तिगत इच्छामा हटाइयो, कुनै व्यक्तिले उहाँले निष्क्रियताको आधारमा हटाउँदा क्रियाशील सदस्यतामाथि नै प्रश्न उठ्यो, त्यसकारण त्यो वडामा क्रियाशील सदस्यता नआईकन वडा अधिवेशन हुन सक्दैन भनेर वडाको अधिवेशन भएको छैन । त्यस विषयमा केन्द्रीय निर्वाचन समितिमा गम्भीर छलफल भइरहेको छ र त्यस विषयमा हामी प्रतीक्षारत छौँ ।

वडा अधिवेशन कहाँ सर्वसम्मत भए, कहाँ निर्वाचन भयो ?
नुवाकोटको ८७ मध्ये सातवटा वडामा मात्र निर्वाचन भयो । क्षेत्र नम्बर १ को लिखु गाउँपालिकाको चौघडा, तादी गाउँपालिकाको तामेमा र विदुर नगरपालिका वडा नम्बर– ४ र ५ र बेलकोटगढी नगरपालिकाको १० मा बाहेक सबै वडामा सर्वसम्मत रूपले पार्टीका साथीले पार्टीमा निरन्तर रूपमा काम गर्दै आएका साथीलाई प्रतिनिधिको रूपमा समावेश गरेका छन् । पार्टीको वडा सभापति पनि जोस, जाँगर बोकेर आएका छन् । प्रतिनिधि र पदाधिकारीमा युवाहरूको बाहुल्य देखिएको छ । अबको चुनौती युवाशक्तिलाई परिचालित गर्नु रहनेछ । लगभग यो अधिवेशनले हामी एक छौँ भन्ने सन्देश दिएको छ । काहीँ–काहीँ छुटपुट भन्या त केही नमिलेर अधिवेशन हुन सक्छ नि ।

काङ्ग्रेसलाई बुढा नेता भएको पार्टी भनिन्थ्यो, अहिले त अधिकांश युवा वडामा पदाधिकारी र प्रतिनिधि भएर आएका छन् । उनीहरूको व्यवस्थापन काङ्ग्रेसले कसरी गर्ला ?
नेपाली काङ्ग्रेसमा प्रतिनिधिको सङ्ख्या सीमित हुँदा पाँच÷सातजनाको सङ्ख्याान बुढापाका हुन्थे अनि बुढापाकाको पार्टी भन्ने गरिन्थ्यो, अहिले प्रतिनिधिको सङ्ख्या बढेर १६ जना वडामा प्रतिनिधि जान तथा क्रियाशील सदस्यको सङ्ख्यामा २६, ३६, ४६ जनासम्म प्रतिनिधि आएको हाम्रो नुवाकोटमा वडा छन् । त्यसले के देखियो भने बुढापाका अर्थात् हिजो काम गर्दै आएका पनि समावेशी हुनुहुन्छ । युवामा अथाह जाँगर र उत्साह बढेको छ । काङ्ग्रेसभित्र जोस बढेको छ । अहिलेको अधिवेशनमा पनि ७० प्रतिशत युवा प्रतिनिधि भएर आएका छन् । यी युवा साथीलाई संयमित भएर कहीँ न कहीँ नेतृत्वमा सार्नुपर्छ भन्ने पक्षमा म छु । युवालाई व्यवस्थापन गर्नका लागि योग्यता, क्षमता, अनुभवको आधारमा जिम्मेवारी सुम्पिनुपर्छ । युवालाई नेतृत्व सुम्पिन सक्यौँ भने आगामी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा पार्टीलाई अधिकांश क्षेत्रमा विजय गराउन सक्छौँ भन्ने मलाई लागेको छ । केन्द्रीय नेतृत्वलाई पनि युवालाई नेतृत्व सुम्पनुपर्ने माग राखेको छु ।

अब यसपालि त विधानले तपाईं सभापति बन्न मिल्दैन, कसलाई अगाडि बढाउँदै हुनुहुन्छ ?
अब म नेपाली काङ्ग्रेस नुवाकोटको चारपटक सभापति भएँ, मैले २१ वर्ष सभापति चलाएँ । नुवाकोटका नेपाली काङ्ग्रेसका साथीले अत्यन्त ठूलो साथ, सहयोग र विश्वास मलाई गर्नुभयो, तर मैले त्यो माया, सद्भाव र विश्वासलाई कहिले पनि विचलित हुन दिइनँ । उहाँहरूको विश्वास र सद्भावलाई कायम राखेको छु । जहिले पनि जिल्लाभित्रको क्रियाशीलता कायम राखेँ, जिल्लाका साथीलाई कुनै पनि हिसाबमा अन्याय हुन दिइनँ । एउटा सत्ता शक्तिको दबाबमा पनि साथीमाथि कहीँ–कसैले अन्याय ग¥यो भने त्यसको जहाँ बसेर पनि प्रतिकार गर्थेँ, प्रतिकार गरेर बसेँ । त्यसकारण अब मेरो राजनीति त नुवाकोट बेस हो, त्यही ठाउँबाट गर्ने हो । अब नेतृत्वको हिसाबले दुईवटा विकल्प छ । मेरो टिम र समूहले निर्णय गर्दाखेरि म बागमती प्रदेश सभापतिका लागि तयारी हो । प्रदेश सभापतिमा उठ्ने चाहना छ । अब ठीक छ, टिमले के निर्णय गर्छ त्यो हिसाबले जाँदा पाइनँ भने केन्द्रीय सदस्यको लागि त विकल्प छ नि । केन्द्रमा ३५ जना खुलामा उम्मेदवारी दिन मिल्छ । जिल्लाको कुरा गर्दा जिल्लालाई बुझेको, नेपाली काङ्ग्रेसमै आफ्नो जीवन समर्पण गरेका योग्य, अनुभवी व्यक्ति नेतृत्वमा आउनुहुनेछ । जिल्लाको वडापछि पालिकाको अधिवेशन हुँदै छ । त्यसपछिको प्रतिनिधिको सङ्ख्याको आधारमा मैलेभन्दा पनि टिमले जिल्लाको भावी नेतृत्व चयन गर्छ ।

तपाईं केन्द्रको कुन समूहबाट उम्मेदवार बन्दै हुनुहुन्छ ?
अब कुन समूहभन्दा पनि केन्द्रमा संस्थापन पक्ष र संस्थापनइतर पक्ष देखिएको छ । हामी काङ्ग्रेसी दुई समूहमा विभाजित भएका छौँ । मलाई लाग्छ– अब संस्थापन पक्ष र इतर पक्षभन्दा अरू समूह कहाँ के होलान्– अधिवेशनले देखाउला । तर, अब म अहिले संस्थापनइतर पक्षको समूह छु । जब नेतृत्व पार्टीको अधिवेशन आउँदा नेतृत्वका लागि होडबाजी, प्रतिस्पर्धा गरेर अगाडि बढ्न खोज्दा निर्विरोध हुन्छ भन्ने छैन, नहँुदा प्रतिस्पर्धा हुन्छ, गुट देखिन्छ समूह देखिन्छ । त्यसकारण म संस्थापनइतर पक्षको समूहको पहिलो बागमती प्रदेशको सभापति हुन खोज्दै छु, दोस्रो केन्द्रीय सदस्य खुलामा मेरो उम्मेदवारीको विकल्प हो ।

नुवाकोटको वडा अधिवेशनको नतिजा हेर्दा संस्थापनइतर पक्ष कमजोर भएको चर्चा छ नि ?
समग्रमा हेर्दा संस्थापनइतर पक्षको उपस्थिति बलियो छ । हामी अहिले पनि बलियो छौँ । दुईवटै क्षेत्र जित्छौँ, क्षेत्रीय सभापति पनि जिताउँछौँ, प्रदेशमा पनि चारवटै जित्छन्, भोलि जिल्लासम्म आइपुग्दा साथी एउटै टेबुलमा बसेर सहमति गरौँ भन्ने भयो भने सहमतिको बाटो पनि खुला रहेको छ । वडामा पनि लगभग पाँच वडाबाहेक ८२ वटा सर्वसम्मत भएको छ । असोज ९ गतेको अधिवेशनले गाउँपालिका–नगरपालिकामा पनि धेरै ठाउँमा सर्वसम्मत हुन सक्छ । प्रदेशमा पनि सबै नेता बस्ने हो भने चारवटा प्रदेश झन् सजिलोसँग सर्वसम्मत हुन सक्छ, क्षेत्रमा पनि त्यही किसिमले जाने हो भने भोलि सबै नेता एउटा टेबुलमा बसेर सहमति गर्ने वातावरण पनि हुन सक्छ, नसक्दाखेरि हामी बलियो छौँ र हामी संस्थापनइतर पक्षले उठाएका उम्मेदवारले जित्नेछन् । विगतको अधिवेशनमा पनि हामीलाई कमजोरै भन्थे, निर्वाचनमा त हामीले जित्यौँ नि । कसले के भन्छ सुन्ने फुर्सद मलाई छैन । सकभर काङ्ग्रेस एक ढिक्का बनाएर सर्वसम्मत बनाउने, नसके प्रजातान्त्रिक पद्धति अपनाएर जिल्ला नेतृत्व छान्नेछौँ । अधिवेशनमा कसरी जानुपर्छ र कसरी जित्नुपर्छ भन्ने हामीलाई थाहा छ । हामीसँग धेरै निर्वाचन लडेका अनुभवी नेतृत्वपङ्क्ति रहेको छ ।

केन्द्रको एउटै समूहमा रहेका रमेश महत र सुरेन्द्र अधिकारी जिल्ला सभापतिमा भिडाउँदै हुनुहुन्छ नि ?
उहाँहरू प्रतिस्पर्धी त स्वाभाविक रूपले हो । जिल्लाका नेता–कार्यकर्ताले देखिरहनु भा’छ, देखिने गरी उहाँहरू लागिपनि रहनुभएको छ । उहाँहरूबीच पनि बसेर छलफल होला । हामी तल्लो तहमा जहाँ–जहाँ, जो–जो जसरी गए पनि केन्द्रमा एउटै समूहमा छौँ । उहाँहरूका अलावा अन्य इच्छा राख्ने समूह पनि भएकोले उहाँहरू सबैसँग छलफल हुनेछ । उहाँहरूकै सल्लाह, सुझाबले जिल्ला नेतृत्वका लागि उम्मेदवार छानिन्छ । जिल्ला सभापति पद अहिलेको विधानअनुसार महत्वपूर्ण पद भएकाले पनि सभापति गुमाउँदा जिल्लामा टिक्न गाह्रो पर्छ । यसबारेमा इच्छा राख्ने नेताहरूले बुझ्नुभएको छ । केन्द्रको समीकरणमा एकै ठाउँमा रहेका आदरणीय अर्जुननरसिंह केसी, रामशरण महतले पनि जिल्लाको नेतृत्व जसरी पनि जित्नुपर्छ, जित्नेलाई दिनुपर्छ भनिरहनुभएको छ ।

केन्द्रको समीकरण जिल्लामा लागू भएन नि होइन ?
विगतमा पनि केन्द्रको समीकरणअनुसार जिल्लामा भएन । यसपटक पनि त्यस्तै भइरहेको छ । जिल्लामा अलि फरक तवरले प्रस्तुत भएको हो कि भन्ने आमकाङ्ग्रेसीको आशङ्का छ । त्यसलाई अब धेरै नभनम्, आशङ्का छ, त्यो आशङ्का मेटिने गरी लागिपरेका छौँ । केन्द्रको समीकरणमा एकै भए पनि जिल्लामा अलिअलि प्रतिस्पर्धा देखिएको छ । त्यसलाई पनि भोलि मिलेर जाँदाखेरि एउटा सहमतिको बिन्दुमा पुग्दा हेर्दै जाऊँ के हुन्छ, तपाईंले जसरी उठाउनुभयो त्यो उठाएको कुराअनुसार चाहिँ नुवाकोटको सङ्गठनमा हामी कमजोर छँदै छैनौँ । सकेसम्म हामी जिल्लामा सबै मिलेर जाऊँ, सहमति गरौँ, त्यो हुन नसके केन्द्रमा भएको हाम्रो समूहको बीचमा कुरा मिलाउन सकुँ भन्ने कुरामा हामी लागिपरेका छौँ ।


प्रतिक्रिया दिनुहोस्