स्टील उद्योगिको विबाद अर्थ मन्त्रालयसम्मै पुग्यो, राजश्व विबादमा अर्थले कार्यदल गठन गर्ने « Arthapath.com
२४ आश्विन २०७८, आईतवार

स्टील उद्योगिको विबाद अर्थ मन्त्रालयसम्मै पुग्यो, राजश्व विबादमा अर्थले कार्यदल गठन गर्ने



काठमाडौं । स्पञ्ज आइरन र तयारी बिलेट आयातमा भन्सार दर हेरफेरका कारण उत्पन्न बहस बारे अध्ययन गरी प्रतिवेदन पेश गर्न अर्थमन्त्रालयले राजश्व सचिव कृष्णहरि पुष्करको संयोजकत्वमा एक कार्यदल गठन गर्ने भएको छ ।

आइतवार अर्थ मन्त्रालयमा स्टील उद्योगीहरुसँगको छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले कार्यदल बनाई अध्ययन गर्न जानकारी दिएका हुन् । कार्यदलको अध्ययन प्रतिवेदन प्राप्त भएपछि डण्डी उत्पादकहरुको विवादका विषयमा आवश्यक निर्णय गरिने उनले बताए ।

कार्यदलले दुबैथरि स्टील उद्योगहरुको सम्बन्धमा मूल्य अभिवृद्धि, विद्युत खपत, रोजगारीको अवस्था, श्रम शक्ति, कानुनी प्रावधानहरु, छिमेकी देशहरुको अभ्यास, प्रदुषणलगायतका विषयहरुमा अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ ।

मन्त्री शर्माले आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रलाई प्रवर्ध्दन गर्ने उद्देश्यमा आधारित भएर स्पञ्ज आइरन आयातमा लाग्दै आएको भन्सार र अन्तशुल्क हटाइएको बताए । ‘म टुँडिखेलमा उभिएर चुनौती स्वीकार गर्न तयार छु कि यो निर्णय मैले राष्ट्रको हितमा गरेको हुँ ।

कतिपयले भनेजस्तो अन्य कुनै प्रभावमा परेर गरेको होइन ।’ उनले प्रश्न गर्नुभयो ‘व्यापार मात्र गरेर खाने होकि देशमा उद्योग धन्दा खोलेर आत्मनिर्भर बन्दै जाने हो ?’ देशलाई घाटा पर्ने निर्णय आफूले कदापि नगर्ने मन्त्री शर्माले बताए ।

प्रतिस्थापन बजेटमार्फत सरकारले स्टील उद्योगहरुमा प्रयोग हुने कच्चा पदार्थ आयातमा भन्सार दर हेरफेर गरेपछि त्यसको पक्ष विपक्षमा बाँडिएका स्टील उद्योगीहरुले आ–आफ्ना अडान दोहोर्याएका छन् । तयारी बिलेट आयात गरी डण्डी उत्पादन गर्दै आएका उद्योगीहरले स्पञ्ज आइरनमा भन्सार र अन्तःशुल्क छुट दिने निर्णयले २४ वटा उद्योग धरापमा परेको भन्दै आफूहरुको माग सुनुवाई गर्न आग्रह गरे ।

अर्कातिर स्पञ्ज आइरन आयात गरी बिलेट र डण्डी उत्पादन गरिरहेका उद्योगीहरुले भने सरकारको निर्णयको स्वागत गरे । पूर्व अर्थराज्यमन्त्री डा. रुप ज्योति, उद्योग बाणिज्य संघका उपाध्यक्ष अञ्जन कुमार श्रेष्ठ र पूर्व उपाध्यक्ष प्रदीप कुमार श्रेष्ठ, किरण प्रकाश साखःलगायतले ऐनमा आएको विषय तत्काल परिवर्तन गर्न संभव नहुने बताए ।

तर सरकारले विद्युत महशुलमा छुट गरी बिलेट आयात गरेर डण्डी उत्पादन गर्ने उद्योगहरुलाई राहत दिन माग गरे । उनले स्पञ्ज आइरनमा अन्तःशुल्क छुट गर्ने निर्णय विश्व व्यापार संगठनको सिद्धान्त विपरित हुने भएकोले पूरानै व्यवस्था कायम गर्नुपर्ने माग दोहोर्याए ।

दुबैपक्षबीच जुहारी चलेको छलफल कार्यक्रममा पत्रु पगाल्ने उद्योगहरुले वातावरणीय प्रदुषण फैलाएको, भट्टी पड्किएर मजदुरहरुको ज्यान गइरहेको, गुणस्तरहीन डण्डी उत्पादन गरिरहेको जस्ता आरोप बिलेटवाला उद्योगीहररुले लगाए ।

सरकारको निर्णयको स्वागत गर्दै उद्योगी विष्णु न्यौपाने, साहिल अग्रवाल, आनन्द नेपाललगायतले सरकारको नयाँ निर्णयले ४० अर्बको आयात प्रतिस्थापन हुने, थप २० हजार रोजगारी सृजना हुने बताए । उनीहरुले नेपालमा धौवाडी र फुलचोकीमा फलाम खानी संचालनमा ल्याउन समेत यो व्यवस्थाले मद्दत पुग्ने बताए ।

नयाँ व्यवस्थाका कारण ५०० मेगावाट विद्युत खपत बढ्ने हुँदा विद्युत् खेर जाने समस्या समेत अन्त्य हुने ती उद्योगिहरुको दाबी छ । संसारभर ६० देखि ७० प्रतिशत धातुजन्य वस्तुहरु रिसाइकल प्रविधिबाटै तयार हुने गरेको तथ्याङ्क सुनाउदै उनीहरुले तयारी बिलेटबाट बन्ने र स्पञ्ज आइरनबाट बन्ने डण्डीको गुणस्तरमा कुनै फरक नरहेको दावी प्रस्तुत गरे ।

सरकारले नयाँ आर्थिक ऐनमार्फत स्पञ्ज आइरन आयातमा लाग्दै आएको ४ दशमलव ७५ प्रतिशत भन्सार महशुल र अन्तःशुल्क पुरै छुट दिएको थियो । तर तयारी बिलेट आयातमा लाग्दै आएको ४ दशमलव ७५ प्रतिशत भन्सार महशुल यथावत राखी प्रति मेट्रिक टन २५०० रुपैंया अन्तःशुल्क लगाएको थियो । यो निर्णयपछि ३० वटा स्टील उद्योगहरु पक्ष विपक्षमा विभाजित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्