सरकारका नियमित कार्यक्रममा राखेर भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम गरिन्छः अर्थमन्त्री शर्मा « Arthapath.com
२२ मंसिर २०७८, बुधबार

सरकारका नियमित कार्यक्रममा राखेर भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम गरिन्छः अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामहरु सरकारले नियमित कार्यक्रममा राखेर सम्पन्न गरिने बताएका छन् । निजी आवासहरूको काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको उनले बताए ।

नेपालको पुननिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मलेनलाई बुधवार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले २०७२ सालको भूकम्पले भत्काएका स्वास्थ्य संस्था, विद्यालय, सरकारी र पुरातात्विक संरचनाहरू सकारका नियमित कार्यक्रमहरूमा राखी प्राथमिकताका साथ सम्पन्न गरिने बताए । विपद व्यवस्थापन सम्बन्धी कार्यहरू विपद व्यवस्थापन प्राधिकरणमार्फत् सम्पन्न गर्ने व्यवस्था मिलाएको मन्त्री शर्माले जानकारी दिए ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यकाल सम्पन्न हुन गइरहेको सन्दर्भमा आयोजित सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले भूकम्पबाट क्षतिग्रस्त निजी तथा सार्वजनिक संरचना पुनर्निर्माणको अभियानसँगै मुलुकमा भौगर्भिक जोखिम भएका वस्तीहरूको स्थानान्तरणका लागि एकीकृत वस्ती वकिास कार्यक्रम अघि बढाइएको तथा वस्ती सुधार संरक्षण कार्यमा सरकार गम्भीरतापूर्वक अघि बढेको उनको भनाई छ ।

विनाशकारी भूकम्पमा परि ९ हजारले ज्यान गुमाएका थिए भने २२ हजार घाइते भएका थिए । भूकम्पबाट १० लाखभन्दा बढी निजी घर, हजारौँ विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी संरचना र ऐतिहासिक तथा पुरातात्विक संरचनाहरू भत्किएका थिए ।


प्रतिक्रिया दिनुहोस्