पेट्रोलियम पदार्थको मूल्य बढाएपनि साढे ४ अर्ब रुपैयाँ घाटामा निगम « Arthapath.com
१९ माघ २०७८, बुधबार

पेट्रोलियम पदार्थको मूल्य बढाएपनि साढे ४ अर्ब रुपैयाँ घाटामा निगम



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ रुपैयाँ रहेको छ । यसअघि २०७० सालमा नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँ पुगेको थियो । त्यस्तै, आन्तरिक हवाई ईन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी प्रतिलिटर ११६ पुगेको छ । एलपी ग्यासको मूल्य यथावत राखिएको छ ।

निगमलाई प्राप्त मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.९२ रुपैयाँ, डिजेलको मूल्य प्रतिलिटर ७.२४ रुपैयाँ तथा मट्टितेलमा ८.८० रुपैयाँ बढेर आएको निगमले जनाएको छ । त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर ७.४८ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८२ रुपैयाँ घटेर आएको थियो । यो समायोजनपश्चात १५ दिनमा जम्मा घाटा करिब २ अर्ब ६० करोड रुपैयाँ घाटा (महिनामा ५ अर्ब २० करोड) हुनेछ ।

निगमका अनुसार पेट्रोलमा अझै प्रतिलिटर १३.२३ रुपैयाँ र डिजेलमा ११.१३ रुपैयाँ घाटा हुनेछ भने मट्टितेलमा प्रतिलिटर १८.१२ रुपैयाँ, आन्तरिक हवाई इन्धनतर्फ १०.५० रुपैयाँ तथा बाह्य हवाई इन्धनतर्फ ३२.७२ रुपैयाँ फाइदा रहेको छ । एलपी ग्यासमा भने प्रति सिलिन्डर ५६०.०९ रुपैयाँ घाटा रहेको छ ।

निगमले आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य बढाएपनि निगमको घाटा न्यूनीकरण गर्न भने सकिरहेको छैन् । विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा न्यूनीकरणमा चुनौती थपिएको प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् ।

पेट्रोलियम पदार्थको मूल्य बढेको भए पनि अझै मासिक साढे ४ अर्ब रुपैयाँ घाटा रहेको निगम बताउँछ । मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब २ अर्ब २३ करोड रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । मूल्य वृद्धिपछि पनि आगामी १५ दिनमा पेट्रोलमा ४३ करोड रुपैयाँ, डिजेलमा १ अर्ब १ करोड रुपैयाँ र एलपी ग्यासमा करिब १ अर्ब रुपैयाँ घाटा हुने निगमको प्रक्षेपण छ ।

निगमलाई मट्टितेल तथा हवाई इन्धनमा भने सामान्य नाफा छ । १५ दिनमा मट्टितेलको बिक्रीबाट २ करोड रुपैयाँ, हवाई इन्धन (आन्तरिकतर्फ) ३ करोड रुपैयाँ र हवाई इन्धन (बाह्यतर्फ) १६ करोड रुपैयाँ नाफा हुने निगमको आँकलन छ । डिजेल, पेट्रोल र ग्यासको उच्च घाटा मट्टितेल तथा हवाई इन्धनको बिक्रीबाट पूर्ति हुन नसक्ने निगमले जनाएको छ ।

मूल्य समायोजन गरे पनि इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न निगमले ऋण लिनुपर्ने बाध्यता छ । निगमसँग सञ्चित बचत शून्यमा झरेपछि मूल्य समायोजनपश्चात पनि प्रतिमहिना ५ अर्ब रुपैयाँ ऋण लिनुपर्ने अवस्था आएको रहेको सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।

सञ्चित रकम र अन्य दायित्व रकम सबै पेट्रोलियम पदार्थ खरिदमा सकिएपछि निगमले गत साता सरकारसँग सहयोग मागेर आइओसीलाई भुक्तानी गरेको थियो । सरकार मातहतको मूल्य स्थिरीकरण कोषबाट समेत १ अर्ब ८० करोड रुपैयाँ लिएर निगमले आइओसीलाई पठाएको थियो ।

भारतमा भन्दा नेपालमा सस्तो रहेको निगम बताउँछ । मूल्य समायोजनपश्चात भारतको सीमावर्ती बजार रक्सौलभन्दा वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपैयाँ २४ पैसा, डिजेल २५ रुपैयाँ ३१ पैसा, एलपी ग्यास प्रतिसिलिण्डर ५० रुपैयाँ ६५ पैसा र हवाई इन्धन (आन्तरिकतर्फ) भारतको कोलकाताको भन्दा काठमाडौँमा प्रतिलिटर २८ रुपैयाँ ७९ पैसाले सस्तो रहेको निगमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्