६ महिनामा सरकारको खर्च ५ खर्ब ६.७० अर्ब रुपैयाँ « Arthapath.com
२६ माघ २०७८, बुधबार

६ महिनामा सरकारको खर्च ५ खर्ब ६.७० अर्ब रुपैयाँ



काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा चालु खर्च ४ खर्ब ६ अर्ब ४१ करोड रुपैयाँ गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार २०७८ पुस मसान्तसम्ममा पुँजीगत खर्च ५० अर्ब ८१ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गतको खर्च ४९ अर्ब ४७ करोड रुपैयाँ गरी कुल ५ खर्ब ६ अर्ब ७० करोड रुपैयाँ खर्च भएको जनाएको छ ।

समीक्षा अवधिमा सरकारको कर राजस्व ४ खर्ब ९३ अर्ब ९९ करोड रुपैयाँ र गैर–कर राजस्व ४८ अर्ब ६ करोड रुपैयाँ गरी कुल राजस्व ५ खर्ब ४२ अर्ब ५ करोड (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) परिचालन भएको छ । समीक्षा अवधिमा संघीय सरकारले ट्रेजरी विल मार्फत ६ अर्ब रुपैयाँको आन्तरिक ऋण परिचालन गरेको छ ।

२०७८ पुस मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब ७७ अर्ब ८२ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७८ असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ९४ अर्ब ७० करोड रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०७८–७९ को पुस महिनासम्ममा प्रदेश सरकारको स्रोत प्राप्ति ८० अर्ब ९१ करोड रुपैयाँ रहेको छ । जसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र संघीय विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ५८ अर्ब ९५ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । समिक्षा अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट २१ अर्ब ९६ करोड रुपैयाँ परिचालन गरेका छन् । त्यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च ३९ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्