लघुवित्त कोष बनाउने की भन्ने सोच्दैछुः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लघुवित्त कोष बनाउने बताएका छन् । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष २०७९–८० का लागि नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने बिषयका लागि सुझाव लिन बैंक, बित्तीय संस्था र बिमा क्षेत्रका सरोकारवालासँग छलफलका क्रममा अर्थमन्त्री शर्माले आगामी बजेटमा लघुवित्तको ब्याजदर कम गर्नको लागि लघुवित्त कोष स्थापना गर्ने व्यवस्था मिलाउने बताएका हुन् ।
मन्त्री शर्माले भने, ‘लघुवित्त कोष बनाउने की भन्ने सोच्दैछु, तर, चर्कोमा ब्याज दिएर सर्वसाधारणलाई मर्कामा पार्नका लागि होइन ।’ सर्वसधाधारलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउनको लागि भएपनि कोष स्थापना गर्ने उनले बताए । उनले भने, ‘सहुलियतपूर्ण ब्याजदरमा सर्वसाधारणले लघुवित्तबाट पनि ऋण पाउन सक्ने गरी कोष ल्याउने सोचमा छु ।’
उनले बैंकर र व्यवसायी एउटै हुनु अर्थतन्त्रका लागि कति लाभदायक हो भन्ने प्रश्न गरेका थिए । ‘बैंक र व्यवसायमा एउटै व्यक्ती वा समूह देखिन्छ । यो कतिको ठीक हो ?’ उनले भने, ‘ठीक हो भने मेरो भन्नु केही छैन । मैले केही गर्न खोजेको पनि होइन । तर, यसमा केही शंशोधन आवश्यक छ भने कसो गर्दा ठीक हुन्छ भन्ने बारेमा मलाई सुझाव दिनुहोला ।’
‘आफूसँग भएको पैसा बैंकमा राख्न पनि समस्या छ, झिक्न पनि समस्या छ’ उनले भने, ‘त्यसैले धेरै पैसा त घरमै थन्किएको मेरो अध्ययनले देखिएको छ ।’ उनले प्रणालीबाट गएको पैसा पुन नफर्कनु चिन्ताको बिषय भएको भन्दै सबै बंैक तथा बित्तिय संस्थालाई पारदर्शी ढङ्गले गतिविधि संचालन गर्न पनि आग्रह गरे ।