पार्टीको ‘पोजिसन’ तेस्रो भएपनि मूलतः हाम्रो जित भएको छ « Arthapath.com
२२ जेष्ठ २०७९, आईतवार

पार्टीको ‘पोजिसन’ तेस्रो भएपनि मूलतः हाम्रो जित भएको छ



रामसिंह यादब
पूर्व स्वास्थ्य राज्यमन्त्री एवं केन्द्रिय सदस्य (नेकपा माओवादी केन्द्र)

माओवादी केन्द्रले चुनावी गठबन्धन गरेर पनि तेस्रो स्थान मात्र प्राप्त गर्यो । यसलाई तपाईले कसरी लिनु भएको छ ?

माओवादी ऐतिहासिक परिवर्तन गरेको पार्टी हो । देशको राजनीतिक परिवर्तनमा माओवादीको योगदान महत्वपूर्ण रहेको छ । गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक, समावेसिता जस्ता उपलब्धीमा माओवादी पार्टीको भूमिका विशेष रहेको छ । स्थानीय तहको निर्वाचनमा माओवादीले सोचेको परिणाम नआएपनि निराशाजनक स्थिति छैन । ०७४ को स्थानीय तहको निर्वाचन भन्दा यसपालीको निर्वाचनमा हाम्रो पार्टी अझ शक्तिशाली बनेर आएको छ । अझ स्पष्ट भन्नुपर्दा यसपालीको निर्वाचनको परिणामले माओवादीलाई ‘किङ मेकर’ बनायो । माओवादीले भुइतहको वर्गीय युद्धाहरु उठाएकै कारणले जनताले धेरै माया गरेका छन् । पार्टी भित्रको अन्तरसंघर्ष र अन्तरघातको कारणले केहि स्थानहरुमा आफ्नो पकड गुमाउनु परेको हो । जोडघटाउने हिसावले पार्टीको ‘पोजिसन’ तेस्रो भएपनि मूलतः हाम्रो जित भएको छ भन्दा अत्युक्ति नहोला ।

माओवादी पार्टीको मुख्य नेतृत्व तथा सैद्धान्तिक विचलनले गर्दा स्थानीय निर्वाचनमा पार्टीको पराजय भएको हो ?

यी दुवै कारणमा कुनै सत्यता छैन । मुख्य नेतृत्व असफल भएको पटक्कै छैन । बरु अझ मजबुत ढंगले मुख्य नेतृत्वले काम गरेको पाइन्छ । अर्को कुरा पार्टीमा सैद्धान्तिक विचलन आएको छैन । आज पनि नेपाली जनताका अझ गरिव उत्पीडनका रहेका तमाम मानिसहरुका मुद्दा माओवादीले मात्र बोकेको छ । माओवादीकै एजेन्डाहरुलाई अरु पार्टीले अनुशरण गरेका छन् । केहि कार्यन्वयन पक्षमा कमजोर भएको नहोला भन्न म सक्दिन तर मूलभूत मुद्दाहरु विपरित पार्टीले कसैसँग सम्झौता गरेको छैन । हाम्रोे पार्टी पराजय भएको छैन । जोड घटाउको हिसावले हामी तेस्रो भएपनि एजेन्डाका हिसावले पहिलो अर्थात अग्रपङ्तिमा छौं ।

तपाईको पार्टीले गलत मानिसलाई टिकट दिएर धेरै ठाउँमा हार भएको भन्ने सुनिन्छ । के यो साँचो हो ?

पार्टीले सकेसम्म योग्य, क्षमतावान र इतिहास बोकेका मानिसहरुलाई टिकट दिएको थियो । त्यसैको परिणाम स्वरुप ०७४ को भन्दा राम्रो परिणाम आएको हो । कुनै कारणवस कमजोर नेता कार्यकर्ताहरुलाई चुनावको टिकट केहि ठाउँमा दिइयो होला तर गलत मानिसको हातमा टिकट परेको थिएन । गठबन्धनलाई हामीले सबै ठाउँमा गर्न सकेनौं । महानगर, उपमहानगर र केहि नगरपालिकामा मात्र गर्न सक्यौं, त्यो हामी सबै गठबन्धन पार्टीहरुको कमजोरी रह्यो । अब संघीय संसदको चुनावमा गठबन्धनमा यस्तो कमजोरी रहने छैन । हाम्रो गठबन्धन अझ मजबुत ढंगले अघि बढ्ने छ । तर हाम्रो गठबन्धनलाई खलबलाउन अनेक तत्वहरु लागी परेका छन् । यसतर्पm हाम्रो पार्टी विशेष सचेत रहनु पर्दछ ।

मधेस प्रदेशमा माओवादी केन्द्रले पाँचौ स्थान प्राप्त गर्यो स्थानीय चुनावमा । तर तपाईले माओवादी कमजोर भएको छैन भनेर भनिरहनु भएको छ । के हो यसको प्रमुख कारण ?

माओवादी पार्टी मधेस प्रदेशमा विगत भन्दा अलिक कमजोर भएको छ । त्यसको प्रमुख कारण पार्टी भित्रको आन्तरिक कारण हो । निर्वाचन परिचालन अलिक सन्तुलित ढंगले पनि हुन सकेन । गठबन्धनमा समयमै राम्रो होमवर्क हुन सकेन । त्यसैको कारण हामी यो प्रदेशमा अलिक कमजोर भएको कुरा साँचो हो ।

पार्टी भित्र नातावाद, कृपावाद अलिक बढी भयो भन्ने सुनिन्छ । के हो वास्तविकता ?

नेपाली राजनीतिमा भएको कमजोरी र विकृति हो । तर हाम्रो पार्टीमा नातावाद, कृपावाद अरुको भन्दा धेरै न्यून छ । हाम्रो पार्टीमा कसैको छोरी, भाइ, भतिजा तथा परिवारका सदस्यले टिकट पाएका छन् तर उनीहरुले पार्टीमा गरेका त्याग, बलिदान आदिको कारणले पाएका हुन् । पार्टीमा कामै नगरि उनीहरुले टिकट पाएका होइनन् । उनीहरुको पार्टीमा काम गरेपछि हक पनि लाग्छ । उनीहरुको हक अधिकारको हनन गर्न कसैले मिल्दैन ।

काठमाडौं महानगर लगायत थुप्रै ठाउँमा स्वतन्त्र उम्मेदवारहरु विजय भएका छन् । यसलाई तपाईले कसरी लिनु भएको छ ?

यहाँले थुप्रै ठाउँमा स्वतन्त्र उम्मेदवार आएका छन् भन्नु भयो त्यो कुरा सत्य होइन । कुन निर्वाचन क्षेत्रमा २/३ प्रतिशत पनि स्वतन्त्र उम्मेदवार पनि विजयी भएर आएका छैनन् । राजनीतिक दलमा वितिष्ठा आएको कारणले स्वतन्त्र उम्मेदवार आएका हुन् भन्ने मलाइ लाग्दैन । राजनीतिक पार्टीमा सोच विचार कमी भएको भने पक्कै हो । राजनीतिक दल शतप्रतिशत ठिक भएको थिए भने स्वतन्त्र उम्मेदवार आउने थिएनन् । स्थानीय निर्वाचनमा राम्रा मान्छे स्वतन्त्रपूर्णक जित्ने कुरालाई सकारात्मक रुपमा लिनु पर्दछ ।

तपाईको पार्टीको नेता आर्थमन्त्री हुनुहुन्छ । आफ्नै पार्टीको अर्थमन्त्र भएको बेला अर्थतन्त्र किन संकटमा परिरहेको छ ?

अर्थतन्त्र अहिले संकटमा पर्नु अहिलेको अर्थमन्त्री मात्रै दोषी होइन । हिजो देखि नै सरकारले गरेका गलत नीतिका कारण अर्थतन्त्र संकटमा परेको हो । अहिलेको अर्थमन्त्री डाइनामिक हुनुहुन्छ । उहाँ हाम्रो पार्टीको राम्रो मान्छे हो । उहाँ आफ्नो भूमिकामा कमजोर हुनुहुन्न । देशको परिस्थितिले अहिले वहाँले भने जस्तो कार्य गर्न नसकेको हो ।


प्रतिक्रिया दिनुहोस्