आसन्न संघ र प्रदेशको निर्वाचनमा एमालेले जित्न किन अपरिहार्य छ ? « Artha Path
२५ भाद्र २०७९, शनिबार

आसन्न संघ र प्रदेशको निर्वाचनमा एमालेले जित्न किन अपरिहार्य छ ?



लोकतन्त्रको संस्थागत विकासका लागि निर्वाचन अपरिहार्य मानिन्छ । तर, पञ्चायती व्यवस्थाको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका राजनीतिक पार्टीको गैरजिम्मेवारीपना, टुटफुट र अराजकता र पार्टीका नेताको कार्यशैली र व्यवहारले गर्दा आमजनतामा एकप्रकारको आक्रोश र नैराश्यताबीच यही विषम परिस्थितिमा मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदै छ । आगामी मङ्सिर ४ गतेका लागि सङ्घीय संसद्को प्रतिनिधिसभा र ७ प्रदेश सभाका लागि निर्वाचन हुँदै छ । बहुदलीय व्यवस्था पुनस्र्थापनाको ३३ वर्ष एवम् लोकतान्त्रिक गणतन्त्र स्थापनाको १५ वर्षपछि र वर्तमान संविधान जारी भएपछि दोस्रोपटक हुन लागेको यो निर्वाचन आफैँमा अत्यन्त महत्वपूर्ण छ ।

वस्तुतः गत आमनिर्वाचनमा बहुमत प्राप्त गरी महत्वपूर्ण कार्यको थालनी गरेको केपी शर्मा ओलीको नेतृत्वमा रहेको तत्कालीन नेकपाको सरकारलाई व्यक्तिगत स्वार्थसिद्धिका लागि गिराउने कार्य गरियो । नेकपालाई विभाजन गरी अप्राकृतिक र सिद्धान्तहीन पाँचदलीय गठबन्धन गरेर सङ्घीय सरकार र प्रदेशका सरकार परिवर्तन गरी आपसी सौदाबाजीमा एक वर्षको समय व्यर्थमा फाल्ने काम भयो । मुलुकमा नियन्त्रित रूपमा राजनीतिक अस्थिरता कायम गरियो । नेपाली जनताको विश्वासमा भन्दा बाह्य शक्तिका लागि ‘कम्फर्टेबल’ हुने गरी गठित वर्तमान सरकारले सार्वजनिक खपतका लागि विगतमा आफैँले उठाएका मुद्दाहरू त निरर्थक साबित मात्रै गरेन, अपितु विकृति, विसङ्गति र भ्रष्टाचारलाई बढावा दिने काम ग¥यो । यो निर्वाचन सामान्य, नियमित र सहज अवस्थामा हुँदै छैन । यो त जनादेश र परमादेशबीचको जनमतसङ्ग्रहका रूपमा हुँदै छ ।

राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरूका लागि ‘कम्फर्टेबल’का बीचमा हुँदै छ । राजनीतिक स्थायित्वका पक्षधर र अस्थिरताका संवाहकबीच हुँदै छ । समृद्धि कि बर्बादी, लोकतान्त्रिक संस्थाको रक्षा कि मानमर्दनबीचको छनोटका रूपमा पनि हुँदै छ । यसै निर्वाचनमा एकातिर जनताको विश्वासप्राप्त, गत निर्वाचनमा जनादेश प्राप्त, राष्ट्र र जनताका निम्ति असल काम गर्दागर्दै षड्यन्त्रपूर्वक सरकारबाट विस्थापित गरिएको नेकपा (एमाले) छ भने अर्कोतिर निर्वाचनबाट किनारा लागेर पनि अदालतको जस्केलाबाट छिरेको दक्षिणपन्थी शक्ति तथा तिनका सहयोगी दल रहेका छन् । निर्वाचनले यी तमाम विकृतिको समूल नष्ट गर्नुका साथै राष्ट्रिय राजनीतिका भावी परिदृश्यको पनि सङ्केत गर्नेछ ।

एमालेको सरकारको पालामा सुरुवात गरिएको विकासको लहर र सुशासनको अभियान नै चलेको थियो । सरकारले जनताप्रति उत्तरदायी र लोककल्याणकारी अवधारणाअन्तर्गतको सामाजिक सुरक्षाका असल प्रबन्धसहित जनमुखी काम अघि बढाएको थियो । असंसदीय तरिकाले परमादेशको माध्यमबाट एमालेको सरकार ढालिएपछि देशले प्रगति गर्न सकेको छैन । दिनप्रतिदिन पछाडि धकेलिइरहेको छ । कुनै एउटा सूचक यस्तो छैन, जहाँबाट देश अघि बढेको महसुस गर्न सकियोस् । राजनीतिक, आर्थिक, प्रशासनिक, बाह्य सम्बन्ध, संसद्, न्यायालय सबैतिर भद्रगोल, अन्योल र अराजकता व्याप्त छ । नेपालको हित नचाहने केही देशी–विदेशी शक्तिले नेपालको वाम आन्दोलनभित्र अस्वस्थता फैलाउन, अराजकता मच्चाउन, पार्टीलाई बन्धक बनाउन र नेकपा (एमाले)को सरकारका काम र उपलब्धिलाई जनतामा पुग्न नदिन वा पु¥याउँदा पनि विकृत बनाउने भूमिका निर्वाह गरे ।

  • स्थानीय तहमा पहिलो पार्टी बनेको काङ्ग्रेस पनि एमालेसँग एक्लै भिड्न नसक्ने निष्कर्षमा पुगेको छ ।
  • माओवादी केन्द्र र माधव नेपालको एकीकृत समाजवादी पार्टी मुलुकको वामपन्थी आन्दोलनलाई विसर्जन गराउन एमालेलाई कमजोर तुल्याउने ध्याउन्नमा छन् । उनीहरूले वाम तालमेल र गठबन्धनभन्दा पनि काङ्ग्रेसको पुच्छर बन्न पाउनुमा नै गौरव र आफ्नो भविष्य देखेका छन् ।

अझ राम्रो काम र उपलब्धिहरूलाई जनताको नजरमा गिराउने र निन्दनीय ढङ्गले प्रस्तुत गर्नेजस्ता काम भए, गरिए । सङ्गठनलाई गतिशील होइन गतिहीन बनाउने, एकताबद्ध भएर एउटा निश्चित गन्तव्यतर्पm लैजाने होइन अनेकता वा गुटैगुटमा विभाजित गरिदिने र एकातिर होइन, अनेकतिर तानिदिने र त्यसलाई गतिहीन बनाइदिने प्रयत्न भए । प्रस्टै छ, एमालेबाहेकका अन्य पार्टी आ–आफ्नो स्वार्थमा केन्द्रित छन् । उनीहरूका लागि दलगत, गुटगत र व्यक्तिगत स्वार्थबाहेक अरू कुनै कुरा ठूलो छैन ।

नेकपा (एमाले)को लोकप्रियता र शक्ति बढेसँगै यो निर्वाचनमा पनि हामीमाथिको घेराबन्दी र आक्रमण तीव्र बनेको छ । जनादेशबाट स्थापित एमालेको सरकारलाई परमादेशको माध्यमबाट विस्थापित गर्ने, प्रतिपक्षका विरुद्धमा सत्तापक्ष गठबन्धनमा उत्रिने, सत्तापक्षका अराजक नेता–कार्यकताले सिङ्गो पार्टी र नेतृत्वमाथि निरन्तर आक्रमण गर्ने, संवैधानिक निकायहरूलाई आफ्नो दायित्वबाट विमुख गराउँदै एमालेका विरुद्धमा प्रयोग गर्ने, सार्वजनिक सञ्चारमाध्यमहरूलाई घोषित रूपमा एमालेका विरुद्धमा परिचालन गर्ने र दृश्य–अदृश्य शक्तिहरूको समेत एमालेका विरुद्धमा साँठगाँठ हुने अवस्थाले एमालेको शक्तिसँग अहिले पनि उनीहरू कति आतङ्कित छन् भन्ने स्पष्ट हुन्छ ।

यी सबै घटनाक्रमले एमालेको पार्टी–पङ्क्तिलाई अझ बढी जुझारू, सक्रिय हुन जरुरी छ । सिद्धान्तहीन जगमा उभिएका नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जसपा तथा एमालेबाट चोइटिएर बनेको एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा संलग्न गठबन्धन सरकारको नालायकीपन र बेथितिले दलीय व्यवस्था र गणतन्त्रमाथि चुनौती खडा गरेको छ । तत्कालीन रूपमा ओली सरकार ढाल्ने र नेकपा एमालेलाई जसरी पनि सिद्धाउने दूषित उद्देश्यबाट प्रेरित नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धन सरकारको एक वर्षको अवधिमा एउटा पनि सम्झनलायकको उल्लेखनीय कार्य भएको छैन । जनताको सेवा प्रवाह र अन्तर्राष्ट्रिय कूटनीति परिचालनमा सरकार पूर्ण रूपमा असफल भएको छ ।

अनौठो छ, संसारमा कहीँ पनि विपक्षी दलका विरुद्ध गठबन्धन गरिएको पाइँदैन । हामीकहाँ भने सत्ता गठबन्धनमा रहेर प्रमुख प्रतिपक्ष एमालेसँग एक्लै भिड्ने तागत यिनीहरूमा देखिँदैन । तर, यहाँ एमालेका विरुद्ध गठबन्धन गरी सत्तारुढ दलहरू एकगठ भएका छन् । गत प्रतिनिधिसभामा दोस्रो र अहिलेको स्थानीय तहमा पहिलो पार्टी बनेको काङ्ग्रेस पनि एमालेसँग एक्लै भिड्न नसक्ने निष्कर्षमा पुगेको छ । माओवादी केन्द्र र माधव नेपालको एकीकृत समाजवादी पार्टी मुलुकको वामपन्थी आन्दोलनलाई विसर्जन गराउन एमालेलाई कमजोर तुल्याउने ध्याउन्नमा छन् । उनीहरूले वाम तालमेल र गठबन्धनभन्दा पनि काङ्ग्रेसको पुच्छर बन्न पाउनुमा नै गौरव र आफ्नो भविष्य देखेका छन् । त्यसैले उनीहरू एक्लै चुनावमा जान त कल्पना पनि गर्न सक्दैनन् । उनीहरूमा एक्ला–एक्लै चुनावी मैदानमा जाँदा आफ्नो हार हुनेमा निश्चित छन् । त्यसैले लेनदेन र वित्तीय लाभका लागि बनेको यो अपवित्र गठबन्धनबाट उनीहरू बाहिर आउन सक्दैनन् । देश र जनताको प्रगति र भलाइभन्दा पनि सत्तामा बाँडी–चुँडी खानका लागि बनेको यो वित्तीय गठबन्धन देश र जनताका लागि हानिकारक छ ।

फरक–फरक राजनीतिक उद्देश्य र चरित्र भएका यी पार्टीहरू मिलेर बनेको गठबन्धनमा कुनै निश्चित राजनीतिक सिद्धान्त र देश निर्माण गर्ने मार्गचित्र पनि देखिँदैन । एक वर्षसम्म आपसी सौदाबाजीमा समय व्यतीत गरेको यो गठबन्धन फेरि पनि सत्तामा आउने र हालका अक्षम र वृद्ध प्रधानमन्त्री देउवा नै प्रधानमन्त्री बन्ने स्थिति निर्माण हुन दिनुहुँदैन । देउवा र प्रचण्डबाट यो देशमा विकास र समृद्धि सम्भव छैन भन्ने कुरा पुष्टि भइसकेको छ । त्यसैले पनि नेपाली जनता अझ बढी सजक र सतर्क हुनुपर्ने आवश्यक छ । अहिले स्थापित दलहरूमध्ये नेकपा एमाले एक्लै चुनावी मैदानमा होमिनु अत्यन्त सकारात्मक र दलीय व्यवस्थाअनुरूप छ । बहुदलीय व्यवस्थामा राजनीतिक पार्टीहरू घोषणापत्रमार्फत आफ्नो सिद्धान्त, नीति र कार्यक्रम लिएर जनतासमक्ष जान्छन् र जनताले उचित ठानेको दललाई निर्वाचित गर्दछन् । तर, गठबन्धनमा रहेका दलहरूबीचमा समान सैद्धान्तिक आधार नरहेको कारणले यिनीहरू केवल सत्ताप्राप्ति र बाँडी–चुँडी खानका लागि मात्र निर्वाचनमा जान थालेका छन् भन्ने सबैले बुझेकै कुरा हो ।
किनकि, आसन्न यो निर्वाचनले अबको नेपालको भविष्य निर्धारण गर्नेछ ।

यो निर्वाचनले नेपालको आर्थिक समृद्धि र विकास अब कता जान्छ भन्ने पनि निर्धारण गर्नेछ । नेपाल भ्रष्टाचारमै रुमल्लिरहने कि स्वच्छतातर्फ जाने ? नेपालको शासन–प्रशासन लोकतान्त्रिक, पारदर्शी, जनमुखी र जिम्मेवार हुने कि अहिलेकै जस्तो गैरजिम्मेवार रहिरहने ? नेपाल सुशासनयुक्त समाज हुने कि अहिलेकै जस्तो भ्रष्ट रहिरहने ? जनताका इच्छा–आकाङ्क्षाबमोजिम अप्ठ्यारो परेका वेला जनताप्रति उत्तरदायी तथा जनताका सेवक सरकारमार्फत सुशासन दिएर जाने कि वर्तमान गठबन्धनकै जस्तो कुशासनमा अल्झिरहने ? यी कुराहरू अबको निर्वाचन परिणाममा निर्भर रहन्छन् । त्यति मात्र होइन, हेर्दा आवरणमा लोकतान्त्रिक प्रणाली, तर लोकतन्त्रका नाममा लोकतान्त्रिक मूल्य, मान्यता, व्यवहार र आचरण ध्वस्त पारिएको खोक्रो प्रणालीमा जाने कि सामाजिक–आर्थिक विकासमा प्रतिबद्ध, सभ्य र मूल्यमान्यतामा आधारित सामाजिक अभ्यास अघि बढाउने प्रणालीमा जाने भन्ने कुरा पनि यो निर्वाचन परिणामले फैसला गर्दै छ ।

देशलाई यस अवस्थाबाट मुक्त गरेर अगाडि बढाउने अवसर भनेको निर्वाचन नै हो । निर्वाचन आफैँमा एउटा परिघटना हो जुन स्वतः अग्रगामी परिवर्तनको पर्याय हुन सक्दैन, माध्यम वा कारण मात्र हुन सक्छ । त्यस माध्यम वा कारणलाई अनुकूल बनाउन तदनुसारको पार्टीपङ्क्ति र सङ्गठन परिचालनका साथै जनचेतना अभिवृद्धि गर्ने र त्यस चेतनालाई सङ्गठित गर्ने अहिलेको आवश्यकता हो, न कि नेता तथा नेतृत्वपङ्क्तिलाई फेरि पनि गुमराह पार्ने, गलत रिपोर्टिङ गर्ने, गुट र आफ्ना मान्छेलाई फेरि पनि प्रश्रय दिने, आमजनता र मतदाताभन्दा पनि नेता खुसी पार्ने र निर्वाचनभन्दा पनि टिकट जित्ने गलत प्रवृत्ति । विगतका पाठहरूबाट सिकेर जनअभिमत निर्माण गर्दा जनताको भावनाको रक्षा एवम् उनीहरूको विश्वास र अभिमतमार्फत त्यसलाई शक्तिका रूपमा परिणत गर्न र तदनुकूल कामको नेतृत्व गर्ने विचार र सङ्गठनात्मक हैसियत भएको शक्ति चाहिन्छ । त्यस्तो शक्ति नेकपा (एमाले)बाहेक अरू कोही होइन, हुन सक्दैन । यसर्थ पनि यस निर्वाचनमा नेकपा (एमाले)ले सफलता हासिल गनैपर्छ ।

एमालेको सफलता भन्नुको अर्थ देश, जनता र परिवर्तनकामी–अग्रगामी शक्तिको विजय हो, न्यायको विजय हो, न्याय र समानतासहितको समृद्धिको विजय हो । अर्थात् यो विजय देशको विजय हो, सार्वभौमसत्ता, स्वाधीनताको विजय हो । त्यति मात्रै होइन, हाम्रो भौगोलिक अखण्डता पनि एमालेको विजयसँग जोडिएको छ । एमालेको विजय कुनै एउटा कुरासँग मात्र जोडिएको छैन, समग्रतामा जोडिएको छ । एमालेले साढे तीन वर्षमा हासिल गरेका असाधारण उपलब्धि, समाजमा ल्याएको चेतनागत, मनोवैज्ञानिक र भौतिक उन्नति, प्रगति र परिवर्तन असाधारण रहेको छ । यो कुरालाई हामीले यो निर्वाचनमा पनि जनताबीच पु¥याउनुपर्छ ।

नेपालको विद्यमान राजनीतिक पार्टीहरूमा नेकपा एमाले मात्र देशको स्वाभिमान र राष्ट्रियताको जगेर्नामा अविचलित देखिन्छ । मुलुकको स्वाभिमान र भौगोलिक अखण्डताका लागि यो पार्टीले खेलेको महत्वपूर्ण भूमिकाले फेरि पनि यो पार्टीको राष्ट्रिय राजनीतिमा अपरिहार्य आवश्यकता देखिन्छ । एमाले अहिले नेपालको प्रमुख राजनीतिक शक्ति भएको कारणले यो पार्टीलाई कमजोर बनाउन देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू लागेका छन् । यो पार्टीलाई जसरी पनि हराउने दूषित उद्देश्य लिएको गठबन्धनमा आबद्ध दलहरू आफ्नै जनताको विश्वास जित्नुभन्दा पनि वैदेशिक शक्ति केन्द्रहरूलाई खुसी पार्न तल्लीन छन् । यो निर्वाचनका माध्यमबाट यसको जवाफ उनीहरूलाई दर्बिलो ढङ्गले दिन जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्