युवाको नेतृत्वमा अबको नेपाली काङ्ग्रेस हुनुपर्छ « Arthapath.com
८ आश्विन २०७९, शनिबार

युवाको नेतृत्वमा अबको नेपाली काङ्ग्रेस हुनुपर्छ



रमेशकुमार महत, सभापति, नेपाली काङ्ग्रेस नुवाकोट

नेपाली काङ्ग्रेस नुवाकोटको आसन्न चुनावको तयारी कस्तो छ ?
आगामी सङ्घ र प्रदेशको निर्वाचनका लागि नेपाली काङ्ग्रेस नुवाकोट पूर्ण तयारीमा छ । हामी भर्खरै स्थानीय चुनाव सकेर आएका छौँ । स्थानीय र सङ्घ प्रदेशको निर्वाचन फरक प्रकृतिको हो, तैपनि हामी पूर्ण तयारीमा जुटेका छौँ ।

केन्द्रमा गठबन्धनको चर्चा छ, नुवाकोटमा पनि काङ्ग्रेस–माओवादी गठबन्धन हुन्छ ?
देशव्यापी पूर्ण गठबन्धनमा जाने भन्ने पार्टी केन्द्रकै निर्णय हो । कुरा नमिलेको ठाउँमा स्वस्थ प्रतिस्पर्धामा जाने भन्ने कुरा पनि छ । नुवाकोटको हकमा पनि गठबन्धनबिना स्वस्थ प्रतिस्पर्धा गर्नेबारे कहीँ पनि छलफल भएको छैन । नुवाकोटमा पनि केन्द्रकै निर्देशनअनुसार गठबन्धन हुन्छ ।

गठबन्धन हुँदा काङ्ग्रेसले के–कति भाग पाउँछ ?
अहिले पार्टी समानुपातिकको सूची पठाउने काममा व्यस्त रहेकाले अहिले नै प्रत्यक्षमा कसले कहाँ लिने भन्ने छलफलको टुङ्गो लागेको छैन । गत स्थानीय निर्वाचनमा काङ्ग्रेस एक भएर चुनावमा होमिएको थियो, आगामी सङ्घ र प्रदेशकोमा त त्यस्तो देखिँदैन ? नेपाली काङ्ग्रेस आगामी सङ्घ र प्रदेशको निर्वाचनमा एकढिक्का भएर जान्छ । आगामी निर्वाचनका लागि प्रदेश र सङ्घतर्फ एक सय १८ नेताले प्रत्यक्ष र समानुपातिकमा नाम लेखाउनुभएको छ । टिकट मैले पाउनुपर्छ भन्ने सबै नेतामा छ, तर पार्टीले निर्णय गरेपछि सबैले त्यो निर्णय मान्नुपर्छ । एक भएर खट्नुपर्छ ।

जिल्लामा काङ्ग्रेस अहिले पनि चार समूहमा विभाजित छ भनिन्छ, रामशरण महतको एक समूह, प्रकाशशरण महतको अर्को समूह, अर्जुननरसिंह केसी र बहादुरसिंह लामाको फरक–फरक विद्यमान छ । उक्त समूहलाई मिलाउन सकिएन भने काङ्ग्रेसको अवस्था के हुन्छ ?
काङ्ग्रेसमा मात्रै होइन, सबै राष्ट्रिय पार्टीमा त्यसखाले गुटबन्दी झाङ्गिरहेको देखिन्छ । काङ्ग्रेसमा मात्र गुटको समस्या होइन । योचाहिँ टिकटका लागि गरिने लबिङ र नेतृत्व विकास हो । पार्टीले एउटा निर्णय गरेपछि एकढिक्का भएर अगाडि बढ्नुको विकल्प हुँदैन । केन्द्रीय नेतापिच्छे नाम सिफारिसमा परेका छन्, पार्टीले उचित मूल्याङ्कन गरेर टिकट दिन्छ । आकाङ्क्षी नामबारे जिल्लाले राय लेखेर पठाएको छ । निर्वाचनको टिकटको निर्णय नहुन्जेल गुट–उपगुटमा लागे पनि टिकट जसको पक्षमा आए पनि काङ्ग्रेस एक हुन्छ । गत स्थानीय चुनावमा भने त्यो अवस्था रहेको थियो । नेताहरूले काङ्ग्रेसलाई कमजोर बनाउन लाग्नुहुनेछैन भन्नेमा म पूर्ण विश्वस्त छु ।

डा. रामशरण महत र अर्जुननरसिंह केसीबिनाको काङ्ग्रेसले चुनावमा जान सक्दैन, गए पनि जित्न सक्दैन भनिन्छ नि ?
अग्रज नेताहरूले म अझै चुनावमा उठ्छु भनेसम्म हामी तल्लो पिँढीका नेताहरूको समर्थन रहन्छ । यदि उहाँ वरिष्ठ नेताहरू चुनावमा उठ्नुभएन भने उहाँहरूको अभिभावकत्वमा पार्टी चुनावमा जान्छ । नेपाली काङ्ग्रेसको संस्कृति हो– अघिल्लो पुस्तालाई सम्मान गर्नु । युवाले अवसर पाउनुपर्छ भन्ने मुद्दा हाम्रो पार्टीभित्र छ । वरिष्ठ अग्रज नेतालाई सम्मान गरेकैले काङ्ग्रेसमा युवा पछाडि परेका छन् । अग्रजले छोड्दै बिस्तारै युवाको काँधमा अबको नेपाली काङ्ग्रेस जानुपर्छ । युवाको नेतृत्व काङ्ग्रेसलाई आवश्यक रहेको छ । अघिल्लो पुस्ताका नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसीलगायत अग्रज नेताहरूको अभिभावकत्व नरहे चुनावमा सोचेको परिणाम नआउन सक्छ ।

समानुपातिकमा नुवाकोटका को–को नेताको व्यवस्थापन भयो ?
यो विषयमा पार्टीलाई निर्णय गर्न कठिन अवस्था छ । अघिल्लो निर्वाचनमा हामीले एक सय ६५ निर्वाचन क्षेत्रमै हाम्रो पार्टीका नेताहरूले चुनावमा टिकट पाएका थिए । अहिले गठबन्धनको कारण आधा नेता मात्रै व्यवस्थापन हुने देखिन्छ । धेरै नेता सो अवसरबाट बाहिरिनुहुन्छ । धेरै नेताले गठबन्धनका कारण चुनावी राजनीतिको अवसर पाउनुहुन्न । पार्टीलाई एकढिक्का बनाउने गरी समानुपातिकमा नेताहरूको व्यवस्थापनमा केन्द्र लागेको छ ।

अवसर पाउने सवालमा नुवाकोट काङ्ग्रेसमा परिवारवाद हाबी भएको मान्नुहुन्छ ?
यो धेरै सोधिने प्रश्न हो । नुवाकोटमा पटक–पटक पार्टीभित्र पनि आन्तरिक प्रतिस्पर्धा भएका छन् । महत थर भएकै कारण मैले पनि दुईपटक पार्टी सभापतिमा प्रतिस्पर्धा गर्ने मौका पाएँ । तर, बिनायोगदान थर महत भएकै कारणले आएको होइन । मेरो उदाहरण लिनुहुन्छ भने नेविसङ्घ तरुण दल, पार्टीको क्षेत्रीय सभापति हुँदै दुईपटक जिल्ला सभापतिमा प्रतिस्पर्धा गरेँ । मेरो ३० वर्ष लामो राजनीतिक यात्रा छ । स्थानीय, जिल्ला समन्वय र अन्य क्षेत्रमा अन्यले पनि मौका पाएका छन् । योग्य र सक्षम कार्यकर्तालाई परिवारवाद हाबी भए पनि असर पर्दैन ।

आगामी निर्वाचनमा तपाँइको तयारी के हो ?
स्थानीय पार्टी कमिटीले मेरो नाम ३ क्षेत्रबाट सिफारिस गरेको छ । मेरो नाम प्रदेश सभाको लागि क्षेत्र नं. १ को ‘क’ र ‘ख’ तथा क्षेत्र नंं. २ को ‘क’बाट सिफारिस भएको छ । म पार्टी सभापतिको हैसियतले कुनै पनि क्षेत्रबाट पार्टीले टिकट दियो भने चुनाव लड्न तयार छु ।

अहिले पनि प्रदेश र सङ्घमा केसी परिवार, महत परिवार र बहादुरसिंहका नजिक रहनेले नै टिकट पाउने देखिन्छ । काङ्ग्रेसमा अरू नेता नभएर हुन् कि ?
यी परिवारभन्दा बाहिर खेमराज सेढाईं, ध्रुव अधिकारी पनि संसद् लड्नुभएको हो । अवसर नै नपाएको भन्न मिल्दैन । उहाँहरूले छोड्नुभयो । हामी त निरन्तर राजनीतिमा छौँ । नुवाकोटमा न्यायोचित टिकट वितरण हुन्छ ।

तपाईं पार्टी सभापति भएपछि नुवाकोटमा काङ्ग्रेस कमजोर भएको भन्छन् नि ?
नेपाली काङ्ग्रेसले इतिहासमा कहिल्यै नजितेको विदुर नगरपालिका जित्यो । बेलकोटगढी, तारकेश्वर हामीले जित्यौँ । यी तीन स्थानीय तहमा मेरो पहलमा गठबन्धन र अन्य पालिकामा स्वस्थ प्रतिस्पर्धा ग¥यौँ । गठबन्धनबाहिर गएर किस्पाङमा एमाले र माओवादीबीच गठबन्धन हुँदा हामीले उपाध्यक्ष गुमायौैँ भने शिवपुरीमा माओवादी र समाजवादीबीच गठबन्धन भयो । त्यहाँ पनि हामीले उपाध्यक्ष गुमायौँ । अघिल्लो चुनावमा ३७ वटा वडा काङ्ग्रेसले जितेको थियो भने अहिले ४१ व्टा जित्न सफल भएका छौँ । सातवटा स्थानीय तहको प्रमुख काङ्ग्रेसले जितेको छ । केही उपप्रमुख गठबन्धनको कारण गुमायौँ । म यो परिणामप्रति म सन्तुष्ट छु । समग्र नुवाकोटको परिणाम राम्रो छ । मैले काङ्ग्रेसको नेतृत्व गरेपछि पार्टीका कार्यकर्ताको मनोबल बढाइरहेको छु । अहिले पनि काङ्ग्रेस जिल्लामा पहिलो पार्टी नै हो ।


प्रतिक्रिया दिनुहोस्