स्वर्णिमलाइ पन्छाएर आरजुले विश्व पौडेलले टिकट पाएपछि यस्तो छ, चितवन १ को चुनावी समीकरण « Arthapath.com
२९ कार्तिक २०७९, मंगलवार

स्वर्णिमलाइ पन्छाएर आरजुले विश्व पौडेलले टिकट पाएपछि यस्तो छ, चितवन १ को चुनावी समीकरण



भरतपुर । भोट माग्ने नाममा अनेक विवादास्पद अभिव्यक्ति दिएर स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवालाई अप्ठेरो पारिरहेकी प्रधानमन्त्री पत्नी आरजु राणा देउवाका केही व्यवसायको हिसाब हेरिदिने व्यवस्थापक हुन् विश्वनाथ पौडेल । उनी अहिले चितवन क्षेत्र नं. १ मा गठबन्धन दलको तर्फबाट प्रतिनिधि सभाका लागि उम्मेदवार छन् । उनै पौडेल अहिले एमालेको असन्तुष्ट कार्यकर्तालाई छलछाम पारेर चुनाव जित्ने दाउमा लागेका छन् । 

परम्परागत राजनीतिक प्रतिस्पर्धामा अहिले नयाँ दल पनि थपिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अहिले चितवन १ मा गठबन्धनका लागि जबरजस्त चुनौती बनेका छन् । ढकाल शेयर लगानीकर्ता हुन् । यसअघि एमाले नेतृत्वको सरकारमा युवराज खतिवडा अर्थमन्त्री हुँदा शेयर बजार घटेको भनेर उनले विरोध गरेका थिए । 

चितवन १ मा अघिल्ला निर्वाचनहरुले सबैभन्दा बलियो दलका रूपमा एमाले रहेको पुष्टि गरेको छ । राप्ती नगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिका यो क्षेत्रमा पर्छ । २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ यो क्षेत्रबाट एमालेले ३९ हजार ९ सय मत पाएको थियो । गएको स्थानीय तह निर्वाचनमा तीन वटै नगरपालिकाका प्रमुख गठबन्धन दलबाट विजय भए पनि वडामा खसेको मतका आधारमा एमालेको सङ्गठन सबैभन्दा बलियो रहेको देखिएको थियो । 

एमालेले वडाको भोटमा यो क्षेत्रबाट ३९ हजार ६ सय भोट पाएको छ । यसबाट पार्टी टुक्रिँदाको असर केवल ३ सय भोट घटेको देखिएको छ । यसलाई सुधार गरेर लान सके चितवन १ मा एमालेले सहज जीत निकाल्न सक्ने देखिन्छ । यस्तो बेला प्रजातान्त्रिक शक्तिको भोट स्वतन्त्र पार्टीले काट्न सक्ने देखिए पछि काँग्रेसको तर्फबाट गठबन्धनको उम्मेदवार बनेका पौडेल अहिले असन्तुष्ट एमाले कार्यकर्तालाई भ्रममा पारेर चुनाव जित्ने खेलमा लागेका छन् । 

पौडेलले पार्टीभित्रका प्रतिस्पर्धी एवम् अन्तर्राष्ट्रिय ख्याति कमाइसकेका अर्थशास्त्री स्वर्णिम वाग्लेलाई पन्छाएर चितवन १ मा टिकट पक्का गरेका हुन् । विश्व पौडेललाई नेपालमा अर्थशास्त्रीको रूपमा स्थापित गरिदिने पात्र नै स्वर्णिम हुन् । तर शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष स्वर्णिम बनेका थिए । त्यस बेला छोटो समयमा नीति निर्माणमा उल्लेख्य काम गरेका स्वर्णिमले आरजुलाई भ्रष्टाचार गर्न सघाएनन् । बरु उनले सुशासनका पक्षमा वकालत गरे र आयोजनाहरूको कार्यान्वयन गर्दा भ्रष्टाचार हुनसक्ने कतिपय छिद्रहरू नीतिगत रूपमै टाल्ने कोसिस गरे । 

स्वर्णीको यो शैलीबाट रुष्ट भएकी प्रधानमन्त्री पत्नीका लागि स्वर्णिमले नै चिनाइदिएका विश्व पौडेल बढी हितकारी भए । स्वर्णिम उपाध्यक्ष हुँदा उनैले आफ्नो सल्लाहकारका रूपमा जबरजस्ती पौडेललाई स्थापित गर्ने कोसिस गरेका थिए । सरकार फेरिएपछि स्वर्णिम उपाध्यक्षबाट हटे । विश्व पौडेलको जागिर पनि सँगसँगै गयो । त्यतिन्जेल उनले चाप्लुसी गरेर आरजुसँग लाइन मिलाइसकेका थिए । 

योजना आयोगबाट हट्ने बित्तिकै पौडेलले आरजु राणाको शैक्षिक व्यापार गर्ने अड्डा युलेन्स स्कुलको हिसाबकिताब हेरिदिने सर्तमा ट्रस्टी अर्थात् सञ्चालक बन्ने मौका पाए । शेयर बजारमा लगानी गरिदिनेदेखि शिक्षा र घरजग्गासम्ममा पैसा व्यवस्थापन गरिदिन थालेपछि आरजुका लागि विश्व पौडेल प्रिय बन्न पुगे । 

उता देउवामाथि जबरजस्त प्रतिद्वन्द्वी बन्न थालेका युवा नेता गगन थापाको विश्वासपात्र बनेका स्वर्णिमलाई जसरी पनि पन्छाउने रणनीतिमा आरजु लागिन् । आरजुले चुनावपछि आफू प्रधानमन्त्री बन्ने र त्यो सरकारको अर्थमन्त्री विश्व पौडेललाइ बनाउने वचन दिएको विश्वस्त सूत्रहरूले बताएका छन् । भलै आरजु प्रधानमन्त्री बन्ने कुरा आफैँमा त्यति सजिलो देखिँदैन । 

कास्कीबाट चितवन झरेका पौडेल अहिले गने चुनिएका अर्थशास्त्रीमध्ये सबैभन्दा ज्यादा धोकेबाज रहेको भनेर चर्चा छ । उनलाई नेपालमा भात खाने मेसो मिलाइदिने काम गैर आवासीय नेपाली जीवा लामिछानेले गरेका हुन् । लामिछानेले सानिमा ग्रुपमा जागिर दिएर उनलाई काठमाडौँमा टिकाउने र उपल्लो स्तरका राजनीतिक नेताहरूसँग भेटाएका थिए । नयाँ दृष्टिकोण र बृहत्तर योजना बनाउने ल्याकत नभए पनि विश्व पौडेलले नेपालको ऐतिहासिक अर्थतन्त्रका केही किताब पढेका छन् । 

नेपालको इतिहासमा समाज र अर्थतन्त्रलाई केलाएर सबैभन्दा राम्रोसँग दस्तावेजिकरण गरेका महेशचन्द्र रेग्मीका किताब घोकेका विश्वले चीनमा पढ्दा कम्युनिष्टहरुको विकास शैलीबारे मोटामोटी अध्ययन गरे । फेरि अमेरिका गएर कृषि एवम् स्रोत अर्थशास्त्रमा विद्यावारिधि गर्दा मुलुकहरूले कसरी स्रोतको उपयोग गरेका छन् भन्ने पढ्न पाए । आफैँमा योजना बनाउने खुबी नभए पनि उनी किताब घोकेर राम्रै कण्ठ पार्न सक्छन् । 

यही कारण उनले कुनै पनि विषयमा सटीक र स्पष्ट जवाफ दिन सक्दैनन् । बरु भिन्न प्रसङ्गहरू जोडेर जीवनभरि पढेका र सुनेका सूचनाहरू छर्दाछर्दै उनी आफ्नो दृष्टिकोणबाट टाढा पुगिसक्छन् । यही कारण उनलाई सैद्धान्तिक अर्थशास्त्रको चर्चा गर्नेहरूले राम्रो मान्छे भने पनि योजना तर्जुमा गर्ने वा नयाँ दृष्टिकोण बनाउने ठाउँमा सहकार्य गर्नेहरूले बकवास मान्छन् । 

तर शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री हुँदासम्म आरजुको विश्वास जितिसकेका विश्वले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्ने मौका पाए । त्यतिन्जेल स्वर्णिमभन्दा विश्व पौडेल धेरै खत्रा अर्थशास्त्री हो भन्ने भाष्य बुढानीलकण्ठ र बालुवाटारमा स्थापित गरियो । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्णिम हुन्न भने अमेरिकाले विश्वास गरेका अर्का अर्थशास्त्री शङ्कर शर्मालाई उपाध्यक्ष बनाउन खोजे । पहिले पनि उपाध्यक्ष र अमेरिकाका लागि नेपाली राजदूत रहिसकेका शर्मालाई अमेरिकाबाट देउवाले नै बोलाउन लगाए । 

कसै गरे पनि देउवाले आफ्नी श्रीमतीको दबाब थेग्न सकेनन् । आफैँले अमेरिकाबाट झिकाएका शर्मालाई ‘हिस्स’ बनाएर श्रीमतीको निर्देशन शिरोधार्य गर्दै देउवाले विश्व पौडेललाई उपाध्यक्ष बनाए । त्यसपछि विश्वले राज्यको सम्पत्तिमा देशका विभिन्न ठाउँ घुमे । मन परेका ठाउँमा आफैँ र आरजुका लागि पहिले जग्गा किन्ने, त्यसपछि बजेटमा योजना पार्ने गरेको आरोप उनीमाथि छ । 


प्रतिक्रिया दिनुहोस्