पाको नेतृत्व र युवाको अन्तर घुलनबाटै सुदृढ एमाले बन्छ: पाण्डे  « Arthapath.com
८ आश्विन २०८०, सोमबार

पाको नेतृत्व र युवाको अन्तर घुलनबाटै सुदृढ एमाले बन्छ: पाण्डे 



केशवराज पाण्डे, अध्यक्ष, नेकपा एमाले बागमती प्रदेश समिति

नेकपा एमाले बागमती प्रदेश समितिलाई यती बेला अधिवेशन लागेको छ । प्रदेश समितिको प्रथम अधिवेशनको तयारी पुरा भइसकेको छ । बागमती प्रदेशका १३ जिल्ला र जनसङ्गठनबाट १०२८ प्रतिनिधि छानिसकेका छन् । मनोनीतसमेत करिब १२ सय प्रतिनिधि हुनेछन् । अधिवेशनको उद्घाटन भोली असोज ८ गते राजधानीको भृकुटीमण्डपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । प्रदेश अध्यक्षको लागी एमालेका ३ केन्द्रीय सदस्यसहित पाण्डे मैदानमा रहेका छन् । अधिवेशनको तयारी र भावी नेतृत्वको विषयमा उनै पाण्डेसँग गरिएको कुराकानीको सार संक्षेप ः–

नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन मुखैमा छ, तयारी कस्तो छ ?

हामी तयारीको अन्तिम चरणमा पुगेका छौँ । अधिवेशनको प्रमुख कार्य भनेको प्रतिनिधि छनौट हो । हामीले बागमतीका ११९ वटै पालिकाबाट प्रतिनिधि छनौट सकाएका छौँ, त्यसलाई हामी डिजीटलाइज गर्दैछौं । असोज ८ गते काठमाडौँको भृकुटीमण्डपमा भव्य उद्घाटन समारोह राखिएको छ । अधिवेशन उद्घाटन समारोहमा भव्य सजावटसहितको मञ्च निर्माण, डिजिटल स्क्रिन, ¥यालीमा प्रदेशभरिका विभिन्न जातजाति, भाषा, संस्कृति झल्कने झाँक्री, पहिरन तथा मौलिकताको प्रदर्शनीसहित उपत्यकाका विभिन्न नाकाबाट जुलुस निकाल्ने तयारी भइरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । असोज ९ गते भने प्रज्ञा भवनमा बन्द सत्रको कार्यक्रम सुरु हुनेछ । हालसम्म १०२८ जना प्रतिनिधि छनौट भैसकेको छ । त्यस दिनसम्म केही थप पनि हुनेछ । सर्वसम्मत रूपमा नेतृत्व चयनको प्रयास हुनेछ । सर्वसम्मतबाट नेतृत्व चयन हुन नसकेको खण्डमा भने असोज १० गते पार्टी कार्यालय च्यासलको हलमा निर्वाचन प्रक्रिया अघि बढ्ने छ । र, मतदान प्रक्रियाका लागि भोटिङ मेसिनको पनि व्यवस्था भइसकेको छ । तर, हामी सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयासमा छौँ । बन्द सत्रमा हाम्रो साङ्गठनिक प्रतिवेदन, भावी कार्य योजना लगायतका विषयमा छलफल पनि हुनेछ । आर्थिक लेखा परीक्षणको विवरण प्रस्तुत हुनेछ, त्यसलाई पारित गर्नेछौँ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशन तयारीको व्यवस्थापकीय सम्पूर्ण कार्य सम्पन्न भएका छन् ।    

प्रतिनिधि चयन सबै भूगोल, जनसङ्गठन सबैतिरबाट सम्पन्न भइसकेको  हो ?

करिब सबैबाट नै प्रतिनिधि चयन सकिएको छ । हामी अधिवेशनको अन्तिम चरणमा छौँ । बागमती प्रदेशका सबैपालिका, भूगोल, जनसङ्गठन लगायतबाट प्रतिनिधि टुङ्गिएको छ । 

यहाँ अघि साङ्गठनिक प्रतिवेदनहरूको कुरा गर्नुभयो, प्रथम अधिवेशन भएको हुनाले बागमती प्रदेश आफैमा ठुलो प्रदेश पनि हो । निर्वाचनमा समयमा पार्टीको उपस्थिति पनि साँघुरिएको अवस्था छ । यसलाई अगाडि बढाउन  साङ्गठनिक प्रतिवेदनमा के छ ?

हामीले साङ्गठनिक प्रतिवेदन ७ भागमा विभाजन गरेका छौँ । पहिलो भागमा बागमती प्रदेशको भौगोलिक संरचनाको बारेमा उल्लेख गर्नेछौँ । दोस्रो भागमा पहिलो अधिवेशन भएकाले बागमती प्रदेशमा पार्टी निर्माणको बारेमा प्रस्तुत हुनेछ । तेस्रो भागमा भने राष्ट्रिय राजनीति परिस्थिति र शक्ति सन्तुलनको बारेमा प्रस्तुत गर्नेछौँ । चौथोमा भने मिसन ग्रास रुटको अभियानबाट हामीले के प्राप्त गर्‍यौँ, उपलब्धि केके भए जस्ता विषयमा प्रस्तुत हुनेछ । यस्तै, पाँचौँ भागमा हामीले निर्वाचन समीक्षा गर्नेछौँ । र, छैटौँ भागमा हामीले समग्र बागमती प्रदेशको समृद्धि र सम्भावनाका प्रस्तावहरू प्रस्तुत हुनेछ । त्यसपछि हामीले भावी कार्य योजना प्रस्तुत हुनेछ । यसरी नै हाम्रो सांगठनिक राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ । 

अनि अर्को कुरा, बागमती प्रदेशमा पार्टी कमजोर भएको भन्दा पनि यस प्रदेशको समानुपातिक मतलाई हेर्ने हो भने ६ लाख ५ हजार मत हाम्रो पार्टीको छ । नेपाली काँग्रेसको ५ लाख हाराहारीमै छ । हामी काङ्ग्रेसभन्दा १ लाख मतले अगाडि छौँ । माओवादीभन्दा ३÷४ लाख मतले अगाडि छौँ । त्यसैले अहिले पनि हामी पहिलो पार्टी हौँ । हामीले २०७४ सालको निर्वाचनसँग तुलना गर्दा ६८ हजार मत नेकपा एसले लगेको छ, नेकपा विभाजनमा गयो, २०७४ मा हामीले ल्याएको मत अहिले केही घटेको भन्ने छ, तर, नेकपा एमालेको जुन  पपुलारीटी (लोकप्रियता) छ, त्यो अहिले पनि कम छैन । निर्वाचनमा विभिन्न गठबन्धनहरूले परिणाम केही असर गर्‍यो । त्यसपछि सहरिया युवापंक्ति पनि नाराबाजीमा कुदेको देखियो । तर, पछिल्लो समय कुनै पनि पार्टी बिनै, कुनै योजना तथा घोषण पत्र बिना, सडक उत्रेर  भाषण गरेरै मत लिने परिस्थिति बनेको छ, अब त्यस्ता गतिविधिलाई हामीले रोक्नुपर्छ भन्ने लाग्छ ।

यस प्रदेशमा नयाँ उदाई रहेको पार्टीहरू (घण्टी, लौरो) बढी मौलाएको जस्तो देखिन्छ, यसलाई पार्टी कस्तो रूपमा लिएको छ ?

यसमा फेरि पनि हामीले गर्ने भनेको वैचारिक साङ्गठनिक काम हो । नयाँ र पुरानो भन्ने खालका कुराहरू छन् । पार्टी नयाँ र पुरानो होइन, विचारको कुरा हो, विचारले नै पार्टी चल्ने हो । एउटा अवस्था र समयमा मानिसलाई त्यो खालको भ्रम पर्न सक्छ , केही भएन भन्ने हुनसक्छ । मानौँ यहाँबाट विदेश पुग्ने बित्तिकै, ठुला ठुला बिल्डिङ, अन्डरग्राउन्ड रेल वे, हवाई स्टेसन लगायतका सुविधाहरू देख्छन्, त्यसपछि नेपालमा कल्पना गर्छन् । तर, उनीहरूलाई त्यो बन्न कति वर्ष लाग्यो थाहा छैन, कसरी बन्यो भन्ने जानकारी छैन । पुग्ने बित्तिकै यहाँ यस्तो, नेपाल त्यस्तो भन्ने जस्ता तर्क आउँछन् ।

हामी कहाँ कस्तो रह्यो भने राजनीति गर्ने सबै भ्रष्ट हुन् भन्ने सोच र प्रवृत्ति बनाई रेहका छन्, यस्तो गलत सोचलाई हामीले परास्त गर्नुपर्छ । राजनीति गर्नेहरू सबै भ्रष्ट हुँदैनन्, देश हाँक्ने हुन्, हामीले त्यो ढङ्गले सोच्नुपर्छ । बिस्तारै आएको यी नयाँ पार्टी भनिनेहरू बर्खामा आएका भेलहरू जस्तै हुन् । जब उनीहरू सङ्गठन निर्माण गर्न थाल्छन्, त्यसमा विचारको कुरा आउँछन्, त्यहाँ असतुष्टिहरु आउँछन्, हिजो सङ्गठन नहुँदा जस्तो त हुँदैन । विचारमा छलफल गर्न थालेपछि पक्ष विपक्षहरू हुन्छन्, असन्तुष्टि बढ्छन्, टिकट पाउने नपाउने भन्ने लडाइ, झगडा हुन्छ । त्यसपछि विवाद सुरु हुन्छ, । त्यसैले उनीहरूलाई सहज छैन । एक्लै हिँडेजस्तो पार्टीमा हिँड्न हुँदैन। त्यस्ता भ्रम बिस्तारै चिरिन्छन् । 

नयाँ शक्तिका रूपमा उदाएका पार्टीहरूमा युवाहरूको आकर्षण अलि बढी देखिन्छ, नेकपा एमालेले पनि मुख्य रूपमा त्यस्ता युवालाई आकर्षित गर्ने गरी कार्यक्रम नीतिका बारेमा किन नसोचेको हो ?

हामीले देखेको नयाँ पार्टीमा बुढा हुन पाएकै छैनन् । नयाँ नयाँले त बनाएका हुन् । तर, हामी त पाको नेतृत्व र युवा नेतृत्वको बिचमा अन्तर घुलन गर्नुपर्छ भन्ने हो । एमालेको केन्द्रीय कमिटीको लिस्ट हेर्ने हो भने ४० वर्ष मुनिका प्रसस्त युवाहरु देख्न सकिन्छ । झन् पछिल्लो समय त सबै तहहरूमा अनिवार्य रूपमा ४० वर्ष मुनिका युवाहरूलाई लिएर आउन निर्देशन नै गरेको छ । यता प्रदेश कमिटीमा पनि १० प्रतिशत युवाहरूको नेतृत्व हुनुपर्छ भनेर निर्देशन छ । जबरजस्ती कमिटीमा लिएर नेतृत्व दिने र आफ्नै सक्षमता, क्षमता हासिल गरेर आउनेमा धेरै फरक हुन्छ ।  हामीले त युवाहरूकै नेतृत्व क्षमता विकास गराउँदै उनीहरूलाई नेतृत्वमा ल्याउँछौँ । 

बागमती प्रदेशमा नेकपा माओवादीले पनि राम्रै सिट सङ्ख्या पनि छ, अहिले उनीहरू सरकारमा पनि छन् । तर, प्रमुख प्रतिपक्षी दलको हिसाबले एमालेले माओवादीलाई र काँग्रेसलाई लिने ? यो अधिवेशनको आकलन के हो ?

हामीले शक्ति ध्रुवीकरण हुनुपर्छ भन्ने हो, मूल कुरा त । साना पार्टीहरू आउने त्यसपछि गठबन्धन चलिरहने जस्ता गतिविधिले एउटा अस्थिरता निम्त्याउँछ । त्यसैले नै शक्ति ध्रुवीकरण गर्नुपर्छ भन्ने हो । योभन्दा अगाडि भएको माओवादी र एमाले एकता भनेको शक्ति ध्रुवीकरण गर्ने प्रयासरत थियो, तर विभिन्न तत्त्वहरूले खेले र दिएनन् । यो अनिवार्य छ, अव बिस्तारै शक्ति ध्रुवीकरणकै बाटोमा जान्छ । मैले त यसभन्दा अघि भने पेस गरेको छु । आगामी निर्वाचनमा नेकपा एस भन्ने पार्टी नै रहँदैन । यसपालि पनि राष्ट्रिय पार्टी बन्न त सकेन । अरूसँग मिलेको भएर नै केही सिट जित्यो । यता, माओवादी पार्टीले पनि अर्काको वैशाखी नटेक्ने हो भने उसको पनि हालत त्यही नै हो । उसको स्थिति पनि खस्किँदो नै छ । २०६४ को निर्वाचनमा प्रत्यक्ष तर्फ ५० प्रतिशत अर्थात् १२० सिट जितेको हो, २४० मा । त्यसपछिका निर्वाचन २०७०, २०७४ कति जित्यो । त्यही पनि एमालेसँग मिलेर ३३ सिट जिताएर ५५ पुर्‍याएको हो । अहिले काँग्रेस लगायत पाँच पार्टी मिल्दा पनि अहिले जम्मा ३२ सिट कायम छ, समानुपातिक सहित । त्यसैले माओवादी खस्किने नै हो । बागमतीको सन्दर्भमा माओवादीको सङ्गठन अलिअलि मजबुत नै छ, काङ्ग्रेससँग एकताले पनि उनीहरूको सिट बढ्न गएको देखिन्छ । यस्ता कुराहरूलाई हामीले गहिरोसँग अध्ययन गरेर पार्टी विस्तारमा लागेका छौँ । हिजोको दिनमा हामीबाट छुटेर जाने साथीहरूलाई पनि सँगै हुन आव्हान गरेका छौँ, पछिल्लो समय माओवादी पार्टीकै नेता कार्यकर्ता एमालेमा आकर्षित छन्, आउने क्रम पनि छ त्यसलाई हाम्रो पार्टी थप बलियो हुन्छ ।  अर्को कुरा ध्रुवीकरणको विषयमा पनि अगाडि बढ्छ भन्ने लाग्छ । 

अब नेतृत्व चयनको सन्दर्भ: यो प्रथम अधिवेशनमा भएका हुनाले ऐतिहासिक नै छ, यहाँ पनि बहालवाला अध्यक्ष हुनुहुन्छ, पार्टीकै तिन केन्द्रीय सदस्य प्रतिनिधि आउनु भएको छ । तर, सर्वसम्मतिबाटै नेतृत्व चयन चाहिँ कसरी हुन्छ ?

म अध्यक्ष भएको हैसियतले यो अधिवेशनलाई अत्यन्त सौहार्दपूर्ण वातावरणमा सबै पदाधिकारीहरूको नेतृत्व टुङ्गाउने प्रयास मबाट हुन्छ । अन्तिम घडीसम्म मैले त्यो प्रयास गर्छु, । यदि त्यस्तो हुन सकेन भने हामी मतदानको प्रक्रियाबाट टुङ्ग्याउँछौँ । यो हामीले प्रयोग गरिरहेकै विधि हो । त्यसमा पनि हामीलाई कुनै अप्ठ्यारो लाग्दैन । 

अधिकतम सहमतिको प्रयास गर्छु भन्नुभयो, त्यो आफ्नो नामका कि त्याग गर्न परे पनि तयार ?

सहमति भनेको ममति होइन नि । त्यो सहमति नै हो । सबै मिलाएर जानुपर्छ । त्याग भनेको आफ्नो व्यक्तिको सम्पत्ति मात्रै हुन्छ, यो त मेरो होइन । यो पद पार्टीको पद हो, मेरो होइन । 


प्रतिक्रिया दिनुहोस्