के एमाले नयाँ गठबन्धनमा विस्वस्त हुन नसकेको हो ? « Arthapath.com
२३ फाल्गुन २०८०, बुधबार

के एमाले नयाँ गठबन्धनमा विस्वस्त हुन नसकेको हो ?



काठमाडौं । नेपाली कांग्रेस र माओबादी केन्द्रको मजबुत गठजोडलाई एक वर्षमा भत्काउन सफल भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्ततः पार्टी सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागिता सुनिश्चित गरेका छन् ।

पार्टीमा १६ औं बरियता रहेका र ६ जना सचिवमध्ये ५ औं बरियताका महासेठको नेतृत्वमा सरकारमा प्रतिनिधित्व गर्ने भनेपछि कतिपयले एमालेको समर्थनलाई सन्देहले हेर्न थालेका छन् ।

एक जना बैंकर रवीन्द्र ढकालले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘सचिवले नेतृत्व गरेर सरकारमा सहभागी भएपछि देशमा फेरि केही न केही पाक्दै छ जस्तो छ । यदी त्यस्तो हो भने देशलाई अस्थिरता कहिलेसम्म ?’ उनीजस्तै नयाँ गठबन्धनमा एमालेको सहभागितालाई लिएर सन्देहास्पद अड्कलबाजी सुरु भइसकेको छ ।

सुरुआति चरणमा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा सरकारमा सहभागि हुने प्रयास गरेको थियो । पौडेलले मूलतः अर्थ मन्त्रालय माग गरेका थिए । अर्थ मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालले नछोड्ने भनेपछि गृहमन्त्रालयका निम्ति रस्साकस्सी परेको थियो ।

तर अन्तिरम समयसम्म गृह मन्त्रालय आफूले पाउनुपर्ने भन्दै राट्रिय स्वतन्त्र पार्टी लागिरह्यो । उसको सहभागिता बिना नयाँ गठबन्धन सुदृढ हुन नसक्ने देखेपछि ओलीले यस पल्ट ‘त्याग’ गरेरै भए पनि नयाँ गठजोड स्थापित गर्न खोजेको नेताहरुले बताएका छन् ।

एमालेका एक नेताले भने, ‘अहिले पार्टी अध्यक्षलाई कुनै पनि हालतमा पुरानो गठबन्धन ध्वस्त गर्नु थियो । त्यसका लागि जुनसुकै मूल्य चुकाउन आफू तयार भएको संकेत यस घटनाले देखिन्छ ।’ यो त्यागलाई प्रधानमन्त्री प्रचण्ड र उनको दलले कसरी बुझ्छन् भन्ने कुराले भविष्यका घटनाक्रमहरु निर्धारित हुने उनले बताए ।

कतिपय नेताहरुले यो गठबन्धनलाई केवल एक राजनीतिक गठजोडमात्रै नभएर सिंगो बामपन्थी पार्टी एकताको प्रस्थानविन्दुका रुपमा हेरिएकाले पनि सरकारमा सहभागिता ‘गौण’ भएको दाबी गरेका छन् । एक नेताले भने, ‘यो प्रक्रिया अघि बढ्यो भने बाम एकता गर्ने भन्ने योजना हो । त्यस कारण पनि को मन्त्री भयो र को भएन भन्ने कुरालाई धेरै विबादको विषय बनाउनु जरुरी छैन ।’

भविष्यमा पार्टी एकीकरण भएपछि पुनः मन्त्री परिषदमा भएको सहभागितालाई पनि हेरफेर गर्न सकिने ती नेताले अर्थपथलाई बताए । ‘प्रधानमन्त्री नै फेर्न त सकिन्छ, मन्त्रीहरु फेर्न केही कठीन कुरा होइन’, उनले भने, ‘आजै कसले अवसर पायो भन्ने कुराले एमाले भोलि नै अर्को बाटो हिँडिहाल्छ की भनेर सोच्नु हुँदैन ।’


प्रतिक्रिया दिनुहोस्