सरकार बदलिएर विष्णु पौडेल अर्थ मन्त्री बन्ने संभावना कति छ ? « Arthapath.com
२७ फाल्गुन २०८०, आईतवार

सरकार बदलिएर विष्णु पौडेल अर्थ मन्त्री बन्ने संभावना कति छ ?



काठमाडौं । आगामी बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विस्वासको मत लिने भनेका छन् । तर त्यतिञ्जेलसम्म राजनीतिक समीकरण कस्तो हुन्छ भन्ने बारेमा कुनै टुंगो लागेको छैन । नेकपा एमालेप्रति प्रधानमन्त्री सुरुदेखि नै निश्चिन्त रहन सकेका छैनन् ।

यस्तो बेला छिट्टै नै सरकार बदलिन सक्ने र निजी क्षेत्रले रुचाएका विष्णु पौडेल नयाँ अर्थमन्त्रीको रुपमा आउनसक्ने संभावना अझै कायमै रहेको जानकारहरु बताउँछन् । प्रधानमन्त्री प्रचण्ड व्यवहारिक रुपमै ‘अस्थिर’ र सधैं सबैलाई ‘शंका’ गर्ने भएकाले पनि यस्तो संभावनाबारे यस पटक बढी नै अड्कलबाजी भइरहेका छन् ।

यसको छनक प्राथमिक रुपमा शेयर बजारमा पनि देखिएको छ । नयाँ गठबन्धन जुटेसँगै अघिकांश लगानीकर्ताले पौडेललाई अर्थमन्त्रीको रुपमा प्रक्षेपित गरेपछि सेयर बजार एकै दिन ११८ अंक बढेको थियो । तर भोलिपल्टै वर्षमान पुन अर्थमन्त्री बन्ने पक्का भएपछि सेयर बजार ७१ अंक घटेको थियो ।

नयाँ अर्थ मन्त्री नियुक्त भएको बुधबार नेप्से १० अंक बढ्यो । तर विहीबार विहानै संसदमा प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनप्रति बलियो आधार प्रस्तुत गर्न नसकेको र एमालेले अहिलेको सरकारमा कमजोर मन्त्रालयहरुमात्र लिएका कारण चाँडै गठबन्धन भत्किनसक्ने आशंका बढ्यो । यस्ता खबर छरिएपछि नेप्से विहीबार १२ अंक बढेको थियो ।

यो साताको पहिलो दिन नेप्से ३० अंकसम्म बढेर २२ अंकको बृद्धिमा रोकिएको छ । यसलाई वर्तमान समीकरणको अन्त्य चाँडै हुनसक्ने संभावनाका रुपमा पनि हेरिएको छ ।

प्रधानमन्त्रीको कमजोर प्रतिक्रिया

‘संसदमा भएका कुनै पनि दलसँग अविस्वास, आशंका र घृण होइन, हामी फेरि पनि सँगै राष्ट्रिय मुद्दाहरुमा मिलेरै अगाडी बढ्नु छ ।’ उनले नेपाली कांग्रेसको नेताहरुलाई दोहोराएर धन्यवाद भनेका थिए । उनले गठबन्धन परिवर्तनगर्नु आफ्नालागि निकै जोखिमपूर्ण रहेको स्वीकार संसदको रोस्टमबाटै गरेका छन् । ‘यो जोखिम कति परिणाममुखि हुन्छ भन्ने पनि विस्वासको मत लिने बेलासम्म प्रारम्भिक रुपमा प्रमाणित भइसक्ने छ’ उनले भने ।

उनले सोही दिन बसेको पुनर्गठीत पहिलो मन्त्री परिषद बैठकमा आफूले ‘क्याबिनेट बैठकमा मैले गति लिन सकेन, जनतालाई परिणाम दिन सकेन, जनतालाई आशा जगाउन सकेन भने यस (गठबन्धन)को औचित्य सिद्ध हुँदैन इतिहासमा भन्ने कुरा मैले माननीय उपप्रधान मन्त्रीहरु र माननीय मन्त्री ज्यूहरुलाई गम्भीर रुपले भनिसकेको छु ।’

प्रधानमन्त्रीले यसरी नयाँ राजनीतिक समीकरणपछि आफ्नो पहिलो सम्बोधनमै नयाँ गठबन्धनप्रतिको दृढ विस्वास अघि सार्न सकेनन् । उनले रक्षात्मक भएर कांग्रेसलाई चाँडै नै पुनः सरकारमा साझेदारी गर्नसक्ने सन्देश दिन खोजे ।

पञ्छिँदै ओली

सबैभन्दा ठूलो सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि प्रधानमन्त्री प्रचण्डलाई छेउमा राखेर आफूले सत्ताको स्वामित्व लिएका थिए । तर यस पल्ट उनी राजनीतिक घटनाक्रमसँग दुरी बनाएर बसेका छन् ।

नवनियुक्त मन्त्रीहरुको सपथमा पनि उनी सहभागि भएनन् । संसदमा हुँकार भर्ने ओली नयाँ २१ फागुनमा सत्ता समीकरण बदलिएपनि अहिलेसम्म मौन देखिएका छन् । गत विहीबार उनले संसदलाई मन्तव्य राख्नुको साटो प्रधानमन्त्री बोल्न थालेको करीब ८ मिनेट पछिमात्रै उनी संसद भवन प्रवेश गरेका थिए ।

प्रधानमन्त्रीको भाषणमा उनी उत्साहित पनि थिएनन् । प्रधानमन्त्रीको सम्बोधन सकिएपछि केपी ओलीले डेबल त ठोके । तर उनको ठोकाइमा ‘दम’ थिएन । ‘हात हल्लियोस्, तर टेबुल नबजोस्’ भनेजसरी ‘लाज राख्न’मात्रै उनले हत्केलालाई दुःख दिएजस्तो देखिन्थ्यो ।

ओलीले सबैभन्दा ‘तन्नम’ ठानिएका र अरुले छाडेका मन्त्रालयहरुमा मात्रै आफ्ना मन्त्री पठाएका छन् । यसपल्ट अध्यक्ष ओलीले ‘२–४ दिन मोज गर केटा हो’ भन्ने खालको व्यवहार देखाएको एमालेका एक नेता बताउँछन् । ‘भित्रैभित्रै केही न केही त पाकिरहेको छ । तर यसको स्पष्ट चित्र बाहिर आइसकेको छैन’, ती नेताले भने ।

पार्टी पङ्क्तीका शीर्षस्थ नेताहरु मन्त्री परिषदमा सहभागि नहुनुले पनि एमालेले विद्यमान गठबन्धन तोड्नमात्रै यस प्रकारको समीकरण तयार गरेको हुनसक्ने अड्कलबाजी भइरहेका छन् । ‘ओलीले अब कि त आफ्नो बलियो उपस्थिति सुनिश्चित गर्नुपर्छ, होइन भने यो गठबन्धनमा बसेर उनलाई कुनै लाभ छैन’, ती नेता भन्छन् ।

कांग्रेसलाई सवक ?

कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ समीकरण बनेपछि भनेका थिए, ‘केपी ओलीले पटक पटक भेट्न बोलाउँदा प्रचण्डलाई शंका होला भनेर मैले भेटिन । तर उसले राजनीतिक बेइमानी गर्यो ।’ आफ्नो ‘वचन’लाई सर्वेसर्वा ठान्ने क्षेत्रीय धर्मका पालक देउवालाई प्रचण्डसँगको ‘मोह भङ्ग’ गराउने अस्त्रको रुपमा मात्रै ओलीले नयाँ समीकरण तयार पारेका हुन् की भन्ने आशंका पनि गरिएको छ ।

‘यो गठबन्धनमा देउवाको दृढ विस्वास तोड्न ओलीले प्रचण्डलाई प्रयोग गरेको हुनसक्छ’ एमालेका एक नेताले भने । उनको तर्कको जग चाहीँ कांग्रेसकै महासमति बैठकको निर्णय हो । कांग्रेसले नयाँ निर्वाचन आउनु चार वर्षअघि नै चुनावअघि गठबन्धन नगर्ने निर्णय गरिसकेको छ ।

यसमा ओलीले अफ्नो जीत देखेको हुनसक्ने ती नेताको बुझाइ छ । ‘कांग्रेसले नच्याप्ने बित्तिकै माओबादीसँग एमालेमा मिल्ने एकमात्र विकल्प बाँकी रहन्छ’, उनी भन्छन् । यस्तो अवस्थामा आफैं प्रधानमन्त्री बन्ने दाउमा ओली देखिएको उनको बुझाइ छ ।

अहिले कांग्रेससँगै मिलेर सरकार चलाउन सके चुनावको बेलामा या त माओबादी अत्यन्त कमजोर भइसक्ने हुनाले गठबन्धनको जरुरत नै नपर्ने, गठबन्धन गरे पनि माओबादीलाई ज्यादै कम सीटमा समेट्न सकिने रणनीतिमा ओली देखिएको नेताहरुले बताए ।

फेरि पनि संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नै आफ्नो प्रतिस्पर्धी रहने विस्वास ओलीको छ । त्यसै कारण कांग्रेसलाई सत्तामै राखेर कमजोर पार्न सकिने दाउमा उनी छन् । त्यस्तो बेला नयाँ उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टीले गठबन्धन गर्ने संभावना कमजोर छ । त्यो पनि माओबादीसँगको उसको गठबन्धनको संभावना यसै फितलो हुने अनुमान ओलीको छ ।

यसरी नयाँ परिवेशमा ‘मिसन ८४’को जग बलियो बनाउने खाका ओलीले तयार पारेको हुनसक्ने ती नेताले अर्थपथलाई बताए । तर कतिपयले पार्टी एकीकरणसँग जोडेर हेरिरहेको भए पनि उनले त्यस्तो संभावना कमजोर रहेको बताएका छन् । ‘प्रचण्डसँग पार्टी एकीकरण गर्दा कति समस्या हुने रहेछ भन्ने उनले देखिसकेका छन् । अझ यो समीकरणमा त माधव नेपाल पनि आएका छन्’, ती नेताले भने, ‘उनीहरुलाई फेरि मिसाएर पुरानै दुःख झेल्न ओली तयार छैनन् । बरु उनीहरुलाई प्रयोग गरेर आफ्नो एकाधिकार स्थापित गर्न उनले पक्कै बल गर्ने छन् ।’

उनले फेरि भने, ‘तपाइँ यत्ति बुझ्नुस् की अहिलेको ओलीको प्रयास भनेको देउवालाई ‘प्रचण्डले कुनै पनि बेला धोका दिन सक्छन्’ भनेर सवक सिकाउनु हो ।’ थप घटनाक्रमहरु कसरी अघि बढ्छ भन्ने बारेमा अझै प्रतीक्षा गर्नुपर्ने उनले बताए ।

विष्णु पौडेल अर्थमन्त्री बन्छन् त ?

हाम्रो यस मूल प्रश्नमा ती नेताले भने, ‘त्यो असम्भव छैन ।’ अहिले पनि पौडेल अर्थ मन्त्रालयमै फर्किन चाहेको, तर प्रधानमन्त्रीले त्यसो गर्न नचाहेको विवरणहरु बाहिर आएका छन् । तीन पटक अर्थमन्त्रालय सम्हालिसकेका पौडेलल शेयर लगानीकर्तादेखि स्वदेशी र विदेशी उद्योगपतिसम्म अनुकुल एवम् समन्वयकारी भूमिकामा देखिएका छन् ।

त्यस बाहेक केन्द्रिय बैंकको नेतृत्वसँग तादात्म्य हुने अर्थमन्त्रीलाई बजारले पत्याउने शिलशिला नयाँ होइन । विगतमा अधिकांश गभर्नर नेपाली कांग्रेसको सरकारले नियुक्त गरेका थिए । त्यस ताका डा. रामशरण महत अर्थमन्त्री बनेपछि सेयर बजार उकालो लाग्थ्यो ।

वर्तमान गभर्नर महाप्रसाद अधिकारी एमाले निकट रहेको आम बुझाइ छ । यसले पनि एमालेभित्रको शक्तिशाली एवम् समन्वयकारी व्यक्ति भएकाले पौडेललाई निजी क्षेत्रले ‘नयाँ भरतमोहन’को नजरले हेरिरहेको छ । यस्तो अवस्थामा सत्ता समीकरणमा आउने कुनै पनि परिवर्तनले पौडेललाई पुनः अर्थमन्त्रालय पुर्याउन सक्छ ।

यदी अहिलेकै समीकरण कायम हुने हो भने पनि प्रचण्डले पौडेललाई अर्थ मन्त्रालयको नेतृत्व दिन राजी हुनुपर्ने ती नेता बताउँछन् । ‘प्रधानमन्त्रीका केही निश्चित स्वार्थ छन् । आफ्ना कार्यकर्तालाई पैसा बाँड्नेदेखि केही आयोजनामा स्रोत सुनिश्चितता दिने,’ ती नेताले भने, ‘यी स्वार्थ अहिले नै पुरा गरेर छिट्टै प्रचण्डले अर्थ मन्त्रीमा पौडेललाई स्वीकार्नुपर्ने हुन्छ ।’

त्यसो नभए सरकार बदलिएर पनि उनी कुनै पनि बेला अर्थमन्त्रालयको नेतृत्वमा पुग्न सक्ने उनी बताउँछन् । ‘चाहे केपी ओली वा शेरबहादुर देउवा जो प्रधानमन्त्री भए पनि पौडेललाई त्यो भूमिका दिन समस्या नहुने अवस्था छ’, उनले भने ।


प्रतिक्रिया दिनुहोस्