नयाँ बजेटः यी निरिह ‘भूईँमान्छे’हरुका लागि किन कहिल्यै बोल्दैन ? « Arthapath.com
१२ जेष्ठ २०८१, शनिबार

नयाँ बजेटः यी निरिह ‘भूईँमान्छे’हरुका लागि किन कहिल्यै बोल्दैन ?



काठमाडौँ । सर्लाहीको कविलासी नगरपालिकाका हुलासराम उमेरले ६५ पुगे । टाउकोमा ढाका टोपी, सेतो सर्ट, कालो स्टकोट अनि खैरो पाइन्ट । फुलेका दाह्री, सुख्खा ओठ, चाहुरिएको मुहार । झट्ट हेर्दा उनलाई बुढ्यौलीले छोइसकेको छ ।

उनको उमेरले आराम गर भन्छ, पेटले परिश्रम । उनलाई काम गर्न परेकोमा भन्दा पनि ‘आज मेरो चुल्हो बल्दैन कि’ भन्ने चिन्ता ज्यादा हुने रहेछ । ‘पेट त भर्नै पर्यो नि । पेटले अब तैले काम गर्न सक्दैनस्, नगर भनेर नभन्ने रहेछ । काम नहुँदा पो चिन्ता लाग्छ मलाई त’, मुसुक्क मुस्कान मिसाएर उनले भने ।

उनलाई काम नगरी बिहान–साँझको छाक टार्न धौधौ छ । हुलासराम कमलादी स्थित गणेश मन्दिरको आडमा बसेर जुत्तामा पालिस लगाउने काम गर्छन् । सडकको पेटीमा बसेर काम गर्न कहाँ सजिलो छ र ? कहिले घाम, कहिले पानी त कहिले धुलोधुवाँ । त्यसमाथि व्यापार नहुँदा उनलाई ‘भोकै बस्नुपर्छ कि’ भन्ने चिन्ताले सताउँछ ।

बाबुको पालामा उनको परिवारसँग ११ बिगाह जमीन थियो । तर दाइजो प्रथाले ११ बिगाह जग्गा कतिबेला सकियो, पत्तै भएन । फुपू दिदीहरूको बिहेमा लिएको ऋण तिर्दा तिर्दै जमीन सक्कियो । अहिले सम्पत्तिको नाममा एउटा घर बाहेक केही छैन ।

बाहिर काम नगरी जीविकोपार्जन गर्ने आधार नै नभएपछि हुलासराम पैसा कमाउन बाहिर बाहिरै बस्न थाले । उनको आधाभन्दा बढी जीवन अरुको पुरानो जुत्तामा पालिस लगाएरै गुज्रियो ।

‘आर्थिक अवस्था कमजोर छ । जग्गा जमीन केही छैन । छोराको कमाइले पुग्दैन । ४ भाइ छोरा छन्’, उनी भन्छन्, ‘जुत्ता पालिस लगाएर नै छोराहरूलाई पढाएँ । गरीबी कै कारण दुईटा छोरा बिदेशिएका छन् । अब चाहीँ सुख पाउँछु कि ।’

उनले २०–२५ वर्षदेखि सुटबुटमा हिड्नेहरूको जुत्ता टल्काइरहेका छन् । उनी १४ वर्षसम्म तातोपानी नाकामा बसे । भूकम्पले सबै चिज भताभुङ्ग र लथालिङ्ग पारेपछि ९ वर्षयता काठमाडौँमै छन् । हरेक दिन उनी जुत्ता टल्काउन आउने ग्राहकको प्रतीक्षामा हुन्छन् ।

‘पहिला बागबजारमा बस्थेँ । त्यहाँ अलिअलि कमाइ हुन्थ्यो । महानगरले त्यहाँ बस्न दिएन’ उनी गुनासो गर्छन्, ‘यहाँ (कमलादीमा) ग्राहक नै आउँदैनन् । फिटिक्कै कमाइ छैन । काम गरेर खान्छु भन्दा नि सुख छैन ।’

उनी हरेकदिन अरूको जुत्ता टल्काउँछन् । तर अफसोच, आफ्नै भाग्य त्यसरी कहिल्यै चम्कन सकेको छैन ।

+++++

दोलखाकी दिलकुमारी पनि सडक किनारमा मकै पोलेर गुजारा धानिरहेकी छिन् । उमेरले ६० पार उनलाई अहिले पनि काम गर्ने जाँगर उम्दा छ । अहिलेसम्म बुढ्यौली लागेको भान उनलाई छैन ।

बिहान ३ बजे उठ्ने, सबेरै कालिमाटी पुग्ने, मकै ल्याउने र बल्ल घर–धन्दामा लाग्ने उनको दैनिकी नै छ । घरको काम र खानपिन सकिएपछि दिउँसो १२–१ बजेदेखि उनको अर्को ‘ड्युटी’ सुरू हुन्छ– मकै पोल्ने ।

उनी जमलमा बसेर वर्षौँदेखि मकै पोल्दै आइरहेकी छिन् । दैनिक २–३ सय घोगा बेच्ने गरेको उनी बताउँछिन् । उनको ‘पसल’मा मौसम अनुसार एक घोगा मकैको भाउ २५ रुपैयाँदेखि ४० रुपैयाँसम्म पर्छ ।

मकैदेखि कोइलासम्म सबैचिज किन्नुपर्ने भएकाले दोबाटो ढुकेर मकै बेच्दा पनि असाध्यै धेरै नाफा कमाउन नसकिने उनी बताउँछिन् ।

एकातिर घामको ताप अर्कोतिर आगोको राप । गर्मीमा त असाध्यै गाह्रो हुन्छ उनलाई । आफैँ पौरख गर्नुपर्छ भन्ने बुझेकी उनलाई राप र ताप सहने बानी परिसकेको छ । त्यसैले त २० वर्षदेखि सडकमा आगो बालिरहेकी छिन् ।

‘अल्छी गरेर के गर्नु ? आफ्नो हातखुट्टा चलुन्जेल त दुःख गर्ने हो । दुःख नगरी मुखमा माड लाग्दैन’, उनी भन्छिन्, ‘अब त बानी नै परिसक्यो । यतिकै बस्नुभन्दा काम गर्नुपर्छ भन्ने लाग्छ । बसेर क गर्नू ?’

ग्राहकको प्रशंसाले नै उनलाई बेला बेलामा प्रफुल्लित बनाउँछ । भन्छिन्, ‘कहिलेकाहीँ त किचकिच गर्ने मान्छे पनि आउँछन् । महँगो भयो भन्छन् । मैले पनि किनेरै ल्याएर बेच्ने हो नि । दुःख नबुझ्ने मान्छेले त्यसो भने पनि बुझ्नेले माया गर्छन् । यसैमा खुशी लाग्छ ।’

+++++

दिलकुमारीको नजिकै अर्को एउटा नाङ्ले पसल छ । त्यो पसल संखुवासभाकी गीताको हो । उनी पनि १५ वर्षदेखि कहिले काफल, कहिले खुर्पानी त कहिले स्ट्रबेरी बेचेर जीविकोपार्जन गरिरहेकी छिन् ।

गीता भन्छिन्, ‘नगरी काम पुग्दैन खान, साँझ र बिहान भन्याजस्तै छ नानी मेरो अवस्था । आफ्नो जग्गा जमीन छैन । यसरी नै गुजारा चलाउनुपरेको छ ।’

उनी पनि मौसम अनुसारका फलफूल बेचेर आफ्नै दैनिकी धानिरहेकी छिन् । उमेरले ५६ वर्ष पार गरिसक्यो । काम गर्ने ऊर्जा लगभग सकियो । तैपनि बाध्यतावस काम गर्नैपर्छ उनलाई ।

‘अल्छी त लाग्छ नि, अल्छि गरेर पेट नभरिने रहेनछ’, उनी भन्छिन्, ‘के गर्नु नानी, पेटले तँलाई गाह्रो भयो, आराम गर नभन्ने रहेछ । आज काम नगरे भोलि भोकै बस्नुपर्छ’, उनले भनिन् ।

टन्टलापुर घाममा पनि उनी ग्राहक कुरेर बसिरहेकी हुन्छिन् । व्यापार हुँदा चमक भरिने उनको अनुहार व्यापार नहुँदा मलीन हुन्छ ।

+++++

यी केवल प्रतिनिधि पात्र हुन् । शहरका गल्ली अनि चोकहरूमा यस्ता संघर्षशील मान्छेहरू धेरै भेटिन्छन् । उनीहरूलाई न समृद्धिका नाराले छुन्छ, न नारा लगाउनेहरूले नै देख्छन् । परिश्रम गरेर गुजारा गर्नेहरूलाई सरकार भए नभएको आभाष नै छैन ।

काठमाडौँका सडकमा ‘नाङ्ले पसल’ राखेर जीवन धान्नेहरुका लागि सरकार त केवल त्यसबेला देखिन्छ, जब महानगरका प्रहरीले उनीहरुको मालसामान उठाउन आउँछन् । अन्यथा उनीहरुको दिनचर्या यसरी नै बितिरहेको छ ।

सरकारले अनेकौँ रोजगार योजनाहरु ल्याएको छ । त्यसमध्ये सबैभन्दा ठूलो योजना हो, प्रधानमन्त्री रोजगार कार्यक्रम । यो आयोजनाका लागि सरकारले हालसम्म ६ अर्ब हाराहारी बजेट छुट्याइसकेको छ ।

त्यस आयोजना मातहत देशभरका झण्डै ९ लाख मान्छेले आफू बेरोजगार भएको भनेर नाम सूचीकृत गराएका छन् । तर केवल ३६ हजारले आंशिक रोजगारी पाएको तथ्यांक सरकारले सार्वजनिक गरेको छ ।

त्यसमा पनि अधिकतर राजनीतिक दलका कार्यकर्ता र उनका नातेदार भएको विवरणहरु तारन्तार आइरहेका छन् । सरकारी आँकडाले पनि कुल ६८८ स्थानीय तहमा झण्डै १० हजार आयोजना सञ्चालन गरेर ३६ हजार रोजगारी सिर्जना गरेको उल्लेख गरेको छ ।

यो आँकडाले हरेक पालिकामा औसत ३६ जनाले काम पाएको देखिन्छ । यस्ता अवसरमा सकभर स्थानीय राजनीतिक कार्यकर्ता र उनीहरुका परिवार तथा नातेदारले नै राज्यकोषको दोहनमा हिस्सा पाउने गरेको छ ।

जो व्यक्ति आफ्नो दुःख बेसाएर खान बाध्य छ, उसलाई राज्यले ल्याउने कुनै कल्याणकारी योजनाको छातामा समेट्न सकिएको छैन । बरु बढ्दो महँगी र सरकार धान्न चुलिँदो करको मारमा सबैभन्दा बढी पिल्सिने पनि त्यही कमजोर वर्ग छ ।

आगामी हप्ता प्रस्तुत हुने नयाँ बजेटले पनि यस्ता गरिब र ‘गरिखाने’ वर्गको हितलाई सम्बोधन गर्ला भन्ने दर्बिलो आशा कसैमा छैन ।

आफूलाई ‘सडकछाप’ बताउने एक युवा भन्दै थिए, ‘बजेट, राज्य भन्ने कुरा त धनीमानीका लागि हो । हामी गरिबका लागि त एउटा उखान छ नि– बर्मा गए कर्म सँगै, नेपाल गए कपाल सँगै ।’


प्रतिक्रिया दिनुहोस्