भारतमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दै, शनिबार सपथ लिनसक्ने « Arthapath.com
२३ जेष्ठ २०८१, बुधबार

भारतमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दै, शनिबार सपथ लिनसक्ने



काठमाडौं । आगामी केही दिनमा कुनै ठूलो फेरबदल नभए दक्षिणी छिमेकी भारतमा नरेन्द्र मोदी आफ्नो तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएका छन् । अहिलेको तयारी अनुसार उनले आगामी शनिबार सथपग्रहण गर्नसक्ने संभावना छ ।

यस पल्ट आफ्नो दलले एकल बहुमत नपाएपछि मोदी जतिसक्दो चाँडो सपथग्रहण गर्ने दाउमा छन् । त्यसैले सन् २०१४ मा चुनावी मत परिणाम आएको ७ दिन र २०१९ मा १० दिनपछि मात्रै सपथ ग्रहण गरेका थिए । तर यस पल्ट उनी बढी हतारिएका छन् ।

मंगलबार चुनावी मत परिणाम घोषणा भएसँगै बुधबार साँझ मोदीले आफ्नो गठबन्धनमा रहेका घटक दलहरुको बैठक राखेका थिए । ‘एनडीए’ गठबन्धनको उक्त बैठकमा २१ जना नेता संलग्न थिए । उक्त बैठकले गठबन्धनको तर्फबाट मोदीलाई संसदीय दलको नेता चयन गरेर जाने प्रस्ताव पारित भएको जनाइएको छ ।

उक्त बैठकमा एनडीएका सबै घटक दलले मोदीलाई आफ्नो समर्थन रहने लिखित पत्र दिएका छन् । विपक्षी गठबन्धनले आफ्नो गठबन्धन घटक दलमध्ये केहीलाई ‘तान्न सक्ने’ जोखिम देखेपछि भारतीय जनता पार्टीले यस्तो लिखित प्रतिबद्धता मागेको थियो ।

बैठकले आगामी शुक्रबार विहान ११ बजे एनडीएको संसदीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । उक्त बैठकले मोदीलाई संसदीय दलको नेता चुन्ने छ । लगत्तै राष्ट्रपति द्रौपदी मुर्मुलाई भेटेर सरकार गठन गर्न दाबी पेश गर्ने सहमति भएको छ ।

भारतीय राष्ट्रपतिले आजै (बुधबार)बाट ‘१७ औँ लोकसभा’ (त्यहाँको संसद) अन्त्य भएको अध्यादेश जारी गरेकी छिन् । त्यससँगै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि राष्ट्रपतिलाई राजिनामा बुझाएर मन्त्री परिषद पनि विघटन गरेका छन् ।

यसअघि सन् २०१४ मा २८२ र २०१९ मा ३०३ सीट जितेर भाजपाले बलियो सरकार बनाएको थियो । तर अहिले भाजपासँग २४० सीटमात्रै छ । ५४३ सदस्यीय भारतीय संसदमा बहुमत प्राप्त गरी सरकार गठन गर्न कम्तिमा २७२ सीट आवस्यक पर्छ ।

तर भाजपा नेतृत्वको एनडीए गठबन्धनले भने २९२ सीट जितेको छ । यसले आफ्नो गठबन्धनलाई जोगाउन सके भाजपासँग सरकार बनाउने पर्याप्त संख्या छ । तर बारम्बार गठबन्धन बदल्ने ‘पहिचान’ बनाएका नितिश कुमार र चन्द्रबाबु नाइडूमाथि सबैले शंका गरिरहेका छन् ।

नितिश कुमारको जनता दल (युनाइटेड) सँग १२ सीट र चन्द्रबाबु नाइडूको तेलुगु देसम पार्टीसँग १६ सीट छ । यी दुई दलले एनडीए छाडेर भारतीय नेशनल कांग्रेस नेतृत्वको ‘इण्डिया’ गठबन्धनलाई समर्थन गरिदिएको खण्डमा भने भाजपा प्रतिपक्षमा समेटिने छ ।

उता इण्डिया गठबन्धनले पनि यिनै दुई दललाई आफ्नो गठबन्धनमा ल्याउन प्रयास गरिरहेका छन् । कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले आफ्नो गठबन्धनमा सबैलाई स्वागत गर्ने बताएका छन् । उनले आफूहरुको अभियान प्रधानमन्त्रीको विरुद्ध रहेको बताएका छन् ।

एनडीए विरुद्ध होइन, केवल प्रधानमन्त्री मोदी विरुद्ध आफूहरु रहेको ‘भाष्य’ स्थापित गर्न खोजेर इण्डियाले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रयास जारी राखेको छ । उक्त गठबन्धनसँग २३४ सांसद छन् । यी दुबै गठबन्धनमा नरहेका वा स्वतन्त्र दलबाट प्रतिनिधित्व गर्ने १७ सांसदको पनि इण्डिया गठबन्धनलाई समर्थन प्राप्त हुने आङ्कलन गरिएको छ ।

त्यस बाहेक पनि उक्त गठबन्धनलाई सरकार बनाउने आँकडा पार गर्न कम्तिमा २१ सीट आवस्यक छ । उक्त ‘ग्याप’ पुरा गर्न इण्डिया गठबन्धनले प्रयास गरिरहेको छ । त्यो प्रयास सफल हुन नसके सम्पवतः आगामी शनिबारबाट यो पुरा गठबन्धन प्रतिपक्ष बेञ्चमा हुने छ ।

मोदी समर्थित भारतीय सञ्चारमाध्यमले नितिश कुमार र चन्द्रबाबु नाइडूमाथि अत्यधिक शंका जाहेर गरिरहेका छन् । साथै ती दुबै जना नेताले बुधबारको बैठकमा ‘सकेसम्म छिटो’ सरकार बनाउनु पर्ने मत राखेको खबरहरु आएका छन् ।

तर शनिबारसम्म भाजपाभित्रै र अन्य राजनीतिक दलबीच कस्तो परिस्थिति सिर्जना हुन्छ भन्ने अझै निश्चित देखिएको छैन । यसले मोदी प्रधानमन्त्री बन्ने भनिए पनि उनले सपथ ग्रहण नलिएसम्म ‘जेसुकै हुनसक्ने’ संभावना कायमै छ ।

भारतीय चुनावमा सबैभन्दा ठूलो दल बनेको भाजपाले २४०, कांग्रेस आईले ९९, समाजवादी पार्टीले ३७, त्रिणमूल कांग्रेसले २९, डीएमकेले २२, तेलगु देसमले १६ र जनता दल (युनाइटेड)ले १२ सीट जितेका छन् । उद्धव ठाक्रेको शिव सेना पार्टीले ९ र शरद पँवारको राष्ट्रबादी कांग्रेसले ८ सीट जितेका छन् ।

भारतमा कुल ४१ दलले लोकसभामा आफ्ना सांसद पठाउने भएको छ । यसमध्ये १७ दलबाट १–१ जनामात्रै सांसद चुनिएका छन् । अरु ७ दलबाट २–२ जना चुनिएका छन् । ३–३ जना र ४–४ जना सांसद पठाउने दलको संख्या ३ वटा छन् । कुल ७ जना स्वतन्त्र उमेदवारले लोकसभा चुनाव जितेका छन् ।


प्रतिक्रिया दिनुहोस्