उपसभामुख रानालाई बर्खास्त गर्न माग गर्दै कांग्रेस–एमालेद्वारा हस्ताक्षर संकलन, पुग्ला त दुईतिहाई ?
काठमाडौँ । प्रतिनिधी सभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन माग गर्दै सत्ताशिन दलका सांसदहरुले हस्ताक्षर संकलन थालेका छन् । नेकपा एमालेको नेतृत्वमा उक्त हस्ताक्षर संकलन सुरु गरिएको एमालेका एक सांसदले अर्थपथलाई जानकारी दिए ।
उपसभामुख रानाले केही व्यक्तिलाई भिसा (प्रवेशाज्ञा) दिन अमेरिकी दूतावासलाई पत्र लेखेको खबरले केही दिनअघि ठूलो चर्चा पाएको थियो । उनले २०२३ फेब्रुअरी २६ मा उपसभामुखको लेटरहेड प्रयोग गरेर काठमाडौं स्थित अमेरिकी दूतावासलाई पत्र लेखेकि थिइन् ।
उक्त पत्रमा आफूसहित ६ जनालाई भिसाका निम्ति अन्तरवार्ता दिने समय चाँडो उपलब्ध गराइदिन अनुरोध गरिएको थियो । तर यो विषय बाहिर आएपछि उपसभामुख रानाले ती व्यक्तिहरुलाई ‘आफूले नचिन्ने’ अभिव्यक्ति दिइकी थिइन् ।
नेपालबाट अमेरिकामा मानव तस्करी गर्ने जालो तयार पारिएका खबरहरुले अन्तरराष्ट्रिय स्तरमै चर्चा पाइरहेका बेला यस्तो समाचार सार्वजनिक भएसँगै उनी बिवादमा तानिएकी थिइन् । उनले प्रतिनिधित्व गर्ने राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस घटनालाई मानवतस्करीसँग जोड्न आवस्यक नभएको तर्क दिँदै आएको छ ।
यस्तो थियो रानाले अमेरिकी दूतावासलाई लेखेको पत्र :
रास्वपाले सत्ता संघर्षमा आफ्नो दलको नियुक्ति सुनिश्चित गर्न यस प्रकारको रणनीति अघि सारिएको आरोप लगाएको छ । उपसभामुख संवैधानिक परिषदको सदस्य हुने भएकाले पनि उक्त पदमा सत्ता गठबन्धनको ‘नजर परेको’ रास्वपाको तर्क छ ।
तर संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग प्रतिनिधि सभामा कुनै शीर्षस्थ भूमिका छैन । उसैको समर्थनमा सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि यस विवादको निरुपणका निम्ति उपसभामुखले राजिनामा दिनुपर्ने धारणा अघि सार्दै आएको थियो ।
पछिल्लो समय नक्कली भुटानी शरणार्थी बनाएर नेपालबाट अमेरिकामा मानव तस्करी भइरहेका खबरले धेरैलाई झस्काएको थियो । त्यसअघि देखि नै ल्याटिन अमेरिकी मुलुकहरुको बाटो भएर अमेरिकामा मानव तस्करी भएका समाचारहरु आइरहेका थिए । यस्ता घटनाको सिलसिला चलिरहेकै बेलामा उपसभामुखको पत्र बाहिरिएपछि विबाद सुरु भएको थियो ।
अब उनलाई पदबाट हटाउन सांसदहरुले हस्ताक्षर अभियान चलाएका हुन् । एक चौथाई सांसदले हस्ताक्षर सहित उपसभामुखलाई पदबाट हटाउने प्रस्ताव सभामुखसमक्ष राखेमा उनले प्रतिनिधी सभामा उक्त प्रस्तावमाथि छलफल गराउनु पर्ने हुन्छ ।
यस्तो छ (उप)सभामुख हटाउने संवैधानिक व्यवस्था :
उक्त प्रस्ताव तत्काल कायम रहेको प्रतिनिधि सभा सदस्यको दुईतिहाई बहुमतबाट पारित हुनुपर्छ । प्रधानमन्त्री केपी ओलीले दुई तिहाईभन्दा बढी (२७५ मध्ये १८८) भोट सहित संसदमा विस्वासको मत प्राप्त गरेको डेढ महिनामात्रै भएको छ । यस आधारमा पनि सत्ता गठबन्धनसँग अहिले दुईतिहाई मतको सुनिश्चितता छ ।
एकातिर सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछाने मुछिएको र अर्कातिर उनको पार्टीका तर्फबाट प्रतिनिधि सभाको उपसभामुख बनेकी रानामाथि मानव तस्करीको आरोप लागेका कारण अहिले नेपाली राजनीतिमा सबैभन्दा नयाँ दल अहिले अप्ठेरोमा परेको छ ।