नेपालमा दूतावास खोल्न क्यानडालाई आग्रह, तर विद्यार्थीको कोटा घटाउने क्यानडाको घोषणा « Arthapath.com
३ आश्विन २०८१, बिहीबार

नेपालमा दूतावास खोल्न क्यानडालाई आग्रह, तर विद्यार्थीको कोटा घटाउने क्यानडाको घोषणा



काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणाले नेपालमा क्यानाडाको राजदूताबास स्थापनाका लागि पहल गरेकी छिन् । उनले बुधबार क्यानडाली विदेशमन्त्री मेलानी जोलीसँग ओटावामा भएको द्विपक्षीय भेटवार्ताका क्रममा यस्तो आग्रह गरेकी हुन् ।

‘विश्वका महिला विदेशमन्त्रीहरुको बैठक’मा भाग लिन परराष्ट्रमन्त्री डा. राणा त्यहाँ पुगेकी हुन् ।

दुई देशबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपाल र क्यानाडाले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदैछन् । यही अवसरमा नेपालमा दूतावास खोल्न क्यानडालाई आग्रह गरिएको हो ।

अहिले भारतस्थित दूताबासले नेपाललाई हेर्छ । तर भारतसँग क्यानडाको कूटनीतिक सम्बन्ध विग्रिएका कारण नेपालीहरुले पनि यसको बोझ उठाउनु परेको छ । नेपालबाट वर्षेनी अध्ययनका लागि क्यानाडा जाने विद्यार्थीको सङ्ख्या बढ्दै गएका कारण उनीहरुलाई सहज हुने गरी नेपालमा दूतावास खोल्न मन्त्री डा. राणाले पहल गरेकी हुन् । .

साथै, नेपाल आउने क्यानाडाली पर्यटकको सङ्ख्या पनि पछिल्लो समय बढ्दो क्रममा रहेका कारण दुईपक्षीय जनसम्पर्क एवम् यात्रालाई सरलिकरण गर्न दुई मन्त्रीबीच कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाइएको छ ।

विश्वकै गरिब अर्थात् अतिकम विकसित राष्ट्रका रुपमा सन् २००३ देखि नै क्यानडाले नेपाली उत्पादनहरुलाई आफ्नो देशमा प्रवेशका निम्ति शूल्य भन्सार सुविधा उपलब्ध गराउँदै आएको छ । तर नेपाल सन् २०२६ मा गरिबतम मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुँदै छ । त्यसपछि पनि नेपाललाई व्यापारिक र लगानीसम्बन्धी सुविधामा क्यानाडाको निरन्तर सहयोगको अपेक्षा गरेको मन्त्री डा राणाले बताइन् ।

द्विपक्षीय वार्ताका क्रममा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो ।

क्यानाडाली विदेशमन्त्री जोलीले क्यानाडेली पेन्सन फण्डका माध्यमबाट नेपालमा आवश्यक सहयोग गर्न आफ्नो देशको सरकार तयार रहेको बताइन् । उनले परराष्ट्रमन्त्री डा राणाले राखेको नेपालमा क्यानाडाली दूताबास स्थापनाको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको जनाइएको छ ।

उनले नेपालमा महिला सशक्तिकरणका क्षेत्रमा सहयोग निरन्तर रहने जनाउँदै छात्रा विश्वविद्यालय स्थापनाका साथै छात्रा शिक्षाका क्षेत्रमा क्यानाडाले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तर नेपालले आफ्नो देशमा दूतावास स्थापनाको पहल गरिरहँदा क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले अन्तरराष्ट्रिय विद्यार्थीहरुलाई दिँदै आएको ‘पर्मिट’मा अझै कटौति गर्ने घोषणा गरिदिएका छन् । यसले नेपाली विद्यार्थीहरु विश्वकै दोस्रो ठूलो मुलुकमा प्रवेश गर्न असहज हुने भएको छ ।

क्यानडाले यसअघि नै विदेशी विद्यार्थीलाई दिँदै आएको पर्मिट सन् २०२४ मै ३५ प्रतिशत कटौति गरिसकेको थियो । यसबाट वर्षभरीमा जम्मा ३ लाख ६० हजार विद्यार्थीलाई मात्रै भिसा दिने निर्णय गरेको थियो । त्यसमा अझै १० प्रतिशत कोटा कटौति गर्ने घोषणा त्यहाँका प्रधानमन्त्रीले गरेका छन् । यससँगै सन् २०२५ को इन्टेकमा ४५ प्रतिशत ‘पर्मिट’ कटौति हुने भएको छ ।

यसो गर्दा नेपाली विद्यार्थीहरुका लागि बढी असहज हुने जोखिम बढेको छ । त्योभन्दा पनि धेरैले आवेदन दिने र थोरैले भिसा पाउने जोखिम पनि बढेको छ । स्वदेशमै दूतावास भएको भए नेपाली विद्यार्थीहरुको भिसा प्रोसेसिङ लागत कम हुने विस्वास परराष्ट्र मन्त्रालयको छ ।


प्रतिक्रिया दिनुहोस्