ओलीले मोदीसँग न्यूयोर्कमा भेटेको भोलिपल्टै अर्थमन्त्री किन लागे चीनतिर ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यादै ठूलो प्रयासपछि भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘भेट्न पाएको’ भोलिपल्टै उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन उड्ने भएका छन् ।
पछिल्लो समय संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारको भविष्यमाथि प्रश्न उब्जिरहेका बेला प्रधानमन्त्री ओलीले मोदीसँग भेटेसँगै नयाँ राजनीतिक ध्रुविकरणको संभावना तत्कालका लागि ‘टर्नसक्ने’ आँकलन गरिएको थियो ।
तर ओली अमेरिकाबाट नफर्किँदै उपप्रधानमन्त्री पौडेल चीन गइकन फर्किसक्ने भएका छन् । यसले भूराजनीतिको गठजोडमा वर्तमान सरकारको भविष्यमाथि प्रश्न उब्जाउँछ कि उब्जाउँदैन भन्ने स्पष्ट चित्र बाहिर आएको छैन । यद्यपि, यसलाई अर्थ मन्त्रालयले ‘पूर्वनिर्धारित कार्यक्रम’ भनेको छ ।
नेपालमा गत महिनादेखि नै वर्तमान गठबन्धन सरकार ‘ढल्नसक्ने’ अड्कलबाजीहरु ब्याप्त भएपछि सेयर बजारमा भारी गिरावट देखिएको छ । गत शुक्रबार स्वयम् अर्थमन्त्री पौडेल नेपाल स्टक एक्चेञ्जको कार्यालयमा पुगेर लगानीकर्ताको हौसला बढाउने प्रयास गर्दा समेत त्यसले सार्थकता पाउन सकेन ।
आइतबार जबरजस्ति साढे ११ अंक बढेको नेप्से सोमबार पुनः ओरलो लाग्यो । सोमबारको ब्यापारमा ५९ अंक झरेपछि परिसूचक २५३० अंकभन्दा पनि तल ओर्लिएको छ ।
अर्थमन्त्री पौडेल आज राती चीन प्रस्थान गर्ने भएका हुन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल त्यसतर्फ जान लागेका हुन् ।
उनले चीन सरकार र ‘ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टर’ले बेइजिङमा आयोजना गर्ने ‘ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरम’लाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्कनेछन् ।
५ दिने उक्त भ्रमणमा केकस्ता राजनीतिक कार्यक्रमहरु तय भएको छ भनेर मन्त्रालयले स्पष्ट पारेको छैन ।