रबि लामिछानेलाई ‘जूठो पर्यो’!
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने विरुद्ध प्रहरीले अदालतबाटै पक्राउ पूर्जी लिएपछि उनले सरकारको घोर आलोचना गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबूकमा लामो स्टाटस लेख्दै ‘सरकार मरेर आफूहरुलाई जूठो परेको’ भनेका छन् ।
उनले अनुसन्धानमा सघाउन आफू हत्कडी लगाउन तयार भएको त भनेका छन्, तर त्यस बिरुद्ध उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इङ्गित गर्दै केही प्रश्न उठाएका छन् । उनी आफूलाई निर्दोश देखाउने प्रयत्न गर्दै लेखेका छन्, ‘साथीहरु, शीर ठाडो राख्नुहोला । तपाइँको सभापतिले कसैलाई ठगेको छैन ।’
जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ‘ठगी तथा संगठित अपराध’को कसूरमा अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ । यस लगत्तै जिल्ला प्रहरीले केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) समेत प्रहरीका अन्य निकायलाई पत्राचार गरेको हो ।
कृष्णप्रसाद जैसी समेतको जाहेरी र प्रहरीको आफ्नै अनुसन्धान प्रतिवेदनका आधारमा लामिछानेलाई पक्राउ गर्ने अनुमति जारी भएको प्रहरीले जनाएको छ । कास्की प्रहरीले त्यहाँको अदालतबाट आजैमात्र (२ कात्तिकमा) पक्राउ गर्ने अनुमति पाएको हो ।
कास्कीका प्रहरी नायब उपरिक्षक वसन्तकुमार शर्माले प्रहरीका विभिन्न निकायलाई प्रेषित गरेको पत्रमा लामिछानेको खोजतलास गरी फेला परेका पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, कास्की पठाइदिन अनुरोध गरेका छन् ।
यस्तो छ रबिको स्टाटस
सरकार मर्यो, हामीलाई जुठो पर्यो !!
तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने? तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने ।
तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने? तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने?
यति गरेपछी भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रो सँग थाहा छ।
तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईहरुका दलका नेता /कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् ।तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईहरु बाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ।
ठिक छ,म तपाईहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता ब्यक्त गर्दछु ।
नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाडै रसातलमा पुर्याएको यो देशले चाडै देख्ने छ। शुरूवात तिमीहरुले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन्।
अहिलेलाई,सरकार मर्यो हामीलाई जुठो पर्यो। तर मलाई न्यायलय प्रती आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन।
लामिछानेलाई शुक्रबार नै पोखरा लाने तयारी
प्रहरी स्रोतका अनुसार लामिछानेलाई पक्राउ गरी शुक्रबार नै कास्की पठाउन भनेर सीआईबीको टोली खटिएको छ । पोखराको सूर्यदर्शन सहितका ७ सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्क (ग्यालेक्सी फोके टेलिभिजन)मा ६५ करोड रुपैयाँ गएको घटनामा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गर्न लागिएको प्रहरीले जनाएको छ ।
लामिछानेभन्दा अगाडी नै टेलिभिजन छाडिसकेका तत्कालिन सञ्चालक छबिलाल जोशीलाई भने ६ असोजमै प्रहरीले ‘जरुरी पक्राउ पूर्जी’ थमाएर काठमाडौँबाट नियन्त्रणमा लिएको थियो । उनी अहिले पनि हिरासतमै छन् ।
गोरखा मिडिया नेटवर्कका अध्यक्ष एवम् सहकारी ठगीका मुख्य अभियुक्त गितेन्द्रबाबु (जीबी) राई भने अहिले पनि फरार छन् । गोरखा मिडियाको उपाध्यक्ष रहेका कुमार रम्तेललाई भने प्रहरीले पहिले नै पक्राउ गरी पोखरामै थुनामा राखेको छ ।
कास्की जिल्ला अदालतले शुक्रबार लामिछानेसहित १४ जनालाई एकसाथ पक्राउ पूर्जी जारी गरेको छ । यसमा उनीसहित विशाल तामाङ, रामबहादुर खनाल, नवीन अछामी, अनन्तबाबु राई, रबिना रिमाल, दीपक लामा र दीपा न्यौपाने छन् ।
त्यस्तै, असरफ अलि सिद्दिकी, कल्पनाकुमारी श्रेष्ठ, ओमप्रकाश गुरुङ, देवेन्द्रबाबु राई, वीरबहादुर रानाभाट र विज्ञान राई विरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ ।
रबिले गिरफ्तारी दिँदै
रास्वपा सभापति लामिछानेले केही बेरमै गिरफ्तारी दिने भएका छन् । पार्टीका कार्यबाहक प्रवक्ता मनिस झाले आफ्ना सभापतिलाई पक्राउ गर्न काठमाडौंको बनस्थली स्थित पार्टी केन्द्रिय कार्यालयमा प्रहरी पुगिसकेको पुष्टि गरेका छन् ।
‘यो सत्तापक्षले कसैको राजनीतिक अवसर जोगाउन कुण्ठित कदम चालेको हो’, झाले भनेका छन्, ‘राजनीतिक प्रतिशोध साँधेको कुरामा हामी स्पष्ट छौँ ।’ तर पार्टी सभापतिलाई पक्राउ गर्न आएका प्रहरीलाई आफूहरुले कुनै पनि अवरोध र प्रतिकार नगर्ने उनले स्पष्ट पारेका छन् ।
बरु लामिछानेले केन्द्रिय कार्यालयमा उपस्थित कार्यकर्ता र पत्रकारहरुमाझ ‘आफ्ना कुरा राखेर’ सडक मार्गहुँदै पोखरा जाने उनले बताएका छन् ।