रवि लामिछाने बनस्थलीबाट पक्राउ, आजै पोखरा लगिने « Arthapath.com
२३ असार २०८२, सोमबार

रवि लामिछाने बनस्थलीबाट पक्राउ, आजै पोखरा लगिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री एवम् उपप्रधान मन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पार्टी कार्यालय बनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले गिरफ्तार गरेको हो ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा।लि।मा अपचलन गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रविलाई पक्राउ गर्न सीआईबीका प्रहरी उपरिक्षक (एसपी) हविन्द्र बोगटी बनस्थली पुगेका थिए । उनको साथमा ठूलो दलबल थियो । केही घण्टा अघिदेखि नै प्रहरीले रास्वपाको केन्द्रिय कार्यालयमा बाक्लो पहरा दिएको थियो । कार्यालय परिसरमा रास्वपा कार्यकर्ताको पनि बाक्लो उपस्थिति थियो ।

पार्टी नेतृत्वले प्रहरीलाई कुनै पनि अवरोध नगर्न आह्वान गरिसकेका कारण कार्यर्ताले शान्तिपूर्ण रुपमा लामिछानेलाई गिरफ्तार गर्न बाटो छाडिदिएका थिए । लामिछानेलाई स्थलमार्गबाट आजै कास्की लगिने छ । यसबारेमा पहिले नै पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले स्पष्ट पारिसकेका थिए । रास्वपाका केही नेता कार्यकर्ताहरु प्रहरीको गाडी सँगसँगै कास्की जाने तयारीमा छन् ।

पक्राउ पर्नुअघि सभापति लामिछानेले राज्यले आफूमाथि पूर्वाग्रह राखेको आरोप लगाएका थिए । उनले कार्यकर्ता र सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूले कुनै अपराध नगरेको दाबी गरे । तर अहिलेको सरकार बनाउने निर्णय भएकै दिन आफूलाई जसरी पनि पक्राउ गर्ने तय भएको उनले बताए । तथापि, अदालती प्रक्रियामा सम्मान गर्ने उनले बताएका छन् ।

‘तर राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न आग्रह गर्छु’, उनले भने । उनले राज्यको दादागिरीलाई डटेर सामाना गर्ने साहस मिलोस् भनेर कामना गरेका थिए ।

लामिछानेको उक्त संक्षिप्त सम्बोधन पश्चात उनका समर्थक एवम् कार्यकर्ताले प्रहरीलाई त अवरोध गरेनन्, तर प्रधानमनत्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका थिए ।

सूर्यदर्शन सहित विभिन्न ५ सहकारीको ६५ करोड हाराहारी रकम गोर्खा मिडिया नेटवर्क प्रालि (ग्यालेक्सी फोके टेलिभिजन) मा अपचलन गरेको उनी पक्राउ परेका हुन् ।

जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंबाट लामिछानेलाई गिरफ्तार गरेको हो ।

सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा १६ असोज २०८० पूर्वअध्यक्ष जिबी राई, उनका दाजु भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा लगायत १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो । पीडितले २२ माघ २०८० मा लामिछानेसहित १८ जनाविरुद्ध कास्की प्रहरीमा फेरि पुरक जाहेरी दिए ।


प्रतिक्रिया दिनुहोस्