डोनाल्ड ट्रम्प र शेरबहादुर देउवामा को बूढो ?
काठमाडौँ । अमेरिकामा ४७ औँ राष्ट्रपति डोनाल्ड ट्रम्प त्यहाँको इतिहासमै सबैभन्दा बृद्ध राष्ट्रपति बन्दै छन् । उनी ७८ वर्षको उमेरमा राष्ट्रपतिको सपथ लिँदै छन् । यसअघि वर्तमान राष्ट्रपति जो बिडेनले ७७ वर्षको उमेरमा सपथ लिएका थिए ।
हामी नेपालमा बूढा नेताले देश ओगटेर बर्बाद भयो भनिरहेका छौँ । तर के नेपाली नेता साँच्चै बूढा हुन् त ? यो प्रश्नको जवाफ हुन्छ, ‘होइन ।’ किनकी, इन्टरनेटमा उपलब्ध विवरणलाई मान्ने हो भने अमेरिकामा भखैरै चुनाव जितेका भावी राष्ट्रपति डोनाल्ड ट्रम्प नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाभन्दा केवल १ दिनले कान्छा छन् ।
देउवा वि.सं. २००३ जेठ ३१ मा जन्मिएका हुन् भने ट्रम्प त्यसको भोलिपल्ट । ट्रम्प आगामी ४ वर्ष अमेरिकाको नेतृत्वमा रहने छन् । तर देउवा प्रधानमन्त्री भए भने पनि उनको कार्यकाल ४ वर्ष वा त्योभन्दा लामो हुने संभावना निकै कम छ ।
देउवालाई छाड्ने हो भने प्रधानमन्त्रीको लाइनमा भएका अरु नेताहरु उमेरले निकै पछाडी छन् । बरु वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल अहिले ८० वर्षका भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली त जम्मा ७२ वर्षका भए । छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रा ओलीभन्दा २ वर्ष जेठा छन् । मोदी अहिले ७४ वर्षका भएका छन् ।
सम्भावित प्रधानमन्त्रीको लाइनमा देखिएका अरु नेताहरु पनि योभन्दा कमै उमेरका छन् । ओलीभन्दा पहिले नै डेढ दशकसम्म पार्टी हाँकेर अन्त्यमा आफैँ एमालेबाट बाहिरिएका माधवकुमार नेपाल अहिले जम्मा ७१ वर्षका भए । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ६९ वर्ष भएका छन् । प्रधानमन्त्रीको सम्भावित उमेदवारका रुपमा हेरिएका नेपाली कांग्रेसका अरु दुई नेताको उमेर पनि तुलनात्मक रुपमा कम छ ।
आरजु राणा देउवा अहिले ६२ वर्षकी भएकी छिन् । वर्तमान परराष्ट्र मन्त्रीका रुपमा उनले काम गरिरहँदा उनलाई सम्भावित भावी प्रधानमन्त्रीको दृष्टिमा हेर्न थालिएको छ । कांग्रेसका अर्का नेता शेखर कोइराला भने नरेन्द्र मोदीकै आयुका हुन् ।
पार्टी राजनीतिमा गैर–संस्थापन खेमाको नेतृत्व गरिरहेका शेखरलाई पनि सम्भावित प्रधानमन्त्रीका रुपमा यदाकदा हेर्ने गरिएको छ । उनी अहिले ७४ सालका भए ।